कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विकी, काकी र जर्नेल

अभि सुवेदी

काठमाडौ — मलाई यो संसार एकै रातमा पोको परेर विकीलिकसँग तर्सेलाजस्तो लागेको थिएन । यत्रो विविधता भएको, यति धेरै शक्तिशालीहरूले हाँकेको, यति धेरै दुःखी र अन्यायमा परेकाहरूको यो विश्व, भयानक सङ्कट झेलिरहेकी पृथ्वीमाताको यो विस्तार उत्तरयुरोपका साइबर चलाउने केही लुरे केटाकेटीहरूका 'लिक्' वा पोलखोलाइबाट झस्केको छ ।

मलाई लाग्यो यो भूमण्डलका कर्महरू जोडिएका रहेछन् । शक्तिशालीले यो जगत् तर्साएर राखेका रहेछन् । यस जगत्तलमा धेरै जालझेल हुँदा रहेछन् । जुलियन असान्जलाई पुलिसले लन्डनको अदालततिर लगिरहेको छवि हेरेपछि मैले मनमनै सोचेँ अब शक्ति बस्ने ठाउँहरू, संसार हाँक्ने मानिसहरू सबै एकै हुन थालेछन् । यो संसारको स्नायुप्रणाली आश्चर्यलाग्दो भइसकेछ । त्यसो त जत्रो ठाउँ हो त्यत्रै पोलहरू खुल्ने न हुन् ।
यसो भन्दा मेरी एकजना काकीको श्रद्धाले सम्झना गर्छु । उनले बोलेपछि गाउँमा केही न केही हलचल हुन्थ्यो । उनी गाउँभरि यात्रा गर्थिन् । एउटा 'ऊनीको झोला' भिरेर निस्किन्थिन् । उनी त्यसभित्र त्यो साधारण, अकिञ्चन गाउँका कथा र बेथाहरू राखेर हिँड्थिन् । मलाई लाग्छ मैले देखेको त्यो पहिलो सूचनाको बाहक झोला थियो । उनी लेखेर राख्तिनथिन् तर उनको स्मृतिमा सबै कुरा हुन्थे अनि मलाई लाथ्यो सबै कुरा त्यही झोलाभित्र हुन्छन् । उनका छोरा, मेरा दाजु र काकीको विचार मिल्दैनथ्यो । मेरा दाज्ाु उर्फ काँल्दाजु माक्र्सवादी थिए । उनी गाउँमा सोझै माक्र्सवादका कुरा गर्थे । काकीको टन्न भकारीबाट उनले थाहा नपाई अन्न झिकेर ती गरिबगुरुवालाई दिन्थे । उनका विचारमा वैचारिकताले सबै कुरा निर्णय गर्छ । बास बस्न आउनेलाई काँल्दाजु पहिला तिम्रो सिद्धान्त के हो भनेर सोध्थे । जे विचार भए पनि केही थिएन तर दाजुका विचारमा यस जगत्मा मानिसको मुटु सिद्धान्त हो जुन शाश्वत् रूपले ढुक्ढुकाएर हिँड्छ । त्यसमा पनि दार्शनिकले भनेजस्तो एकलवादी वा 'मोनाडिस्ट' सिद्धान्त हुन्छ सिद्धान्तको स्वरूप । त्यो माक्र्सवाद मात्रै हो र त्यो दाजुले बुझेजस्तो मात्र हुनुपर्छ तर काकीको मूल स्पन्दन सिद्धान्त होइन, सूचना थियो । उनले झोलाबाट झिकेर कुनै कुरा गाउँमा पोल खोलिदिइन् भने असान्ज र साथीले जस्तो 'लिक्' गरिदिइन् भने गाउँ हल्लिन्थ्यो । सबै मानिस एकापसमा मुखामुख गर्थे । कोही आपसमा भिड्थे, कोही रुन्थे, कोही रिसले आगो भएर हिँड्थे । गाउँमा ससाना चक्रबात उठ्थे । मानिसका पोल खुल्थे । मैले बुझेसम्म त्यो सानो, सुन्दर गाउँको भित्रतिर केही असहज लहरहरू चल्थे । काकी एक निरपेक्ष र निर्वैयक्तिक शक्तिजस्तै अम्लाले मुखको एक छेउ छोपेर शान्त र स्थितप्रज्ञजस्तो सबै कोलाहल हेर्दै, सबै पीडाका चित्कार सुन्दै, सबै क्रोधका स्वरूपको ख्याल गर्दै गाउँभरि हिँड्थिन् । काँल्दाजुका सिद्धान्तले पनि त्यो बेला काम गर्दैनथ्यो । बरु त्यसभित्र अविश्वासका चिरा पर्थे । आज विकिलिकले ल्याएको सिद्धान्त र सूचनाको विरोधाभास, संरचना बनाउने र त्यसभित्रको कमजोरी उजागर गर्ने चरित्रबीचको द्वन्द्व, कोलाहल र भनाभन देखेर मैले बालककालमा देखेको त्यो सानो सिद्धान्त र सूचनाबीचको अनमेल सम्झेँ अनि लाग्यो सायद आज जे भइरहेछ विश्वमा त्यो एक मानव समाजमा आरम्भदेखि नै चलिआएको सिद्धान्त र सूचनाको अन्तरविरोधको दृष्टिगोचर रूप हो ।
मलाई गत नोभेम्बरमा चन्डिगढको एउटा लोकवार्ता सम्मेलनका बेला 'टाइम्स अपm इन्डिया' की एक पि्रयङ्का अग्रवाल भन्ने बाचाल पत्रकारले सोधिन् 'अब यो विकिलिकले हल्लाएको विश्वमा फोक्लोरको के अर्थ हुन्छ ?' उनले सोधिन् 'साहित्य मानव भावनाको अभिव्यक्ति गर्ने संरचना हो भने विकिलिकको यो अवस्थामा त्यसको के हालत हुन्छ ?' मसँग इटहरीका कवि सुमन पोखरेल थिए । मैले लामै कुरा गरेँ ती पत्रकारसँग । तिनले त्यो कुरा कहाँ छापिन् मलाई थाहा भएन तर सुमनले भने 'यो कुरा अब हामीले पनि साहित्यको छलफलमा ल्याउनुपर्छ ।' मलाई भने विकिलिक र साहित्यको सम्बन्धको मूल स्पन्दन हाम्रा चरित्रमा निर्भर गर्छ भन्ने
लाग्छ । सूचना र सिद्धान्तको सम्बन्ध हुन्छ तर त्यो कसरी प्रकट हुन्छ भन्ने कुरा महत्त्वपृ्र्ण हो । त्यसैले म आफूले बालककालदेखि बुझिआएको सूचना र सिद्धान्तको सम्बन्धबाटै हेर्छु यो कुरा । मलाई लाग्छ साहित्य विकिलिकको युगमा सिर्जनात्मक अभिव्यक्तिको झन् बलियो आधार भएर अघि बढ्छ तर कसैले दाजुले जस्तो एकल चिन्तन मात्र सत्य हो भनेर हिँडिबस्यो भने साँचो कुरा थाहा पाउनेछैन ।
आज साइबरनेटिकका सिद्धान्त र साहित्यको कुरा गर्दा म रंगमञ्चबाट हेर्छु । नाटक हेरेर गएको दर्शक अज्ञात हो । त्यो कहाँ जान्छ हामी भन्न सक्तैनौं । त्यो अपरिचित आम मानिस हुन्छ एकाएक । त्यो भीडमा एकअर्कालाई नचिन्ने मानिस आएका हुन्छन् । तिनको फेरि कहिल्यै भेट नहुन सक्छ तर तिनलाई एक ठाउँमा ल्याउने गुरुकुलजस्तै कुनै थलो, नेता वा विचार हुन्छ । ती फेरि आउछन् तर तिनको पहिले नै बनाएको चरित्र हुँदैन । एउटा भूमिगत नेताले सम्बोधन गरेका मानिस अनि आतंककारीहरूको आपसमा भेट नहुन सक्छ । ती विविध छन्, बहुल छन् तर तिनका नेताले बोलेकामा ती एक साझा कुरा सुन्छन् । हामीले साहित्यमा साइबरको युगमा एउटा काम गरेका छौँ । हामीले अतिपाठ वा 'हाइपरटेक्स्ट' का रचना गरेका छौँ । त्यो भनेको साइबरमा भेटिने पाठहरू, उडिरहने, सबैतिर पुग्ने पाठहरू, सूचनाहरू एक ठाउँमा ल्याएर राख्नु र त्यसबाट एक अतिपाठको रचना गर्नु हो । मानिस पाठहरू जोडेर ठगठाग पनि गर्छन् ।
तर साहित्यलाई विकिलिकजस्ता साइबर चक्रबातले केही गर्दैन । साहित्यमा हामीले पहिलेदेखि नै साइबरले खोलेजस्ता पोलहरूको विविधता देखाइआएका छौँ । मिखाइल बाख्तिनले पाठ भनेको नै बहुलपाठ हो भनेकै थिए । लक्ष्मीप्रसाद देवकोटाले 'शाकुन्तल' महाकाव्यमा काल्पनिकीको उडानमा अनेकौं सम्भावना खोलेकै थिए । जेम्स ज्वायसको 'फिनेगनस् वेकस्' लाई समीक्षकले एक अतिपाठ सपना भनेकै हुन् । विकिलिकको गति अपराध, छलछाम र गोपनीयता भङ्ग गरेको अवस्थासँग जोडिएको छ । संसार अलिकता केही लुकाएर, केही पछि भनौँला भनेर चलेको हुन्छ । सबै कुरा खोलिए भने मानिसको जीवन कष्टकर पनि हुन सक्छ । कोही मानिस पनि आफूले जे बोलिहिँड्छ त्यो मात्रै होइन । उसको नखोलेको निजत्व हुन्छ । साहित्यकार त्यही दुईवटा चरित्रको कथा लेख्छ । कलाकारले एउटा रूप र अर्कोबीचको खालीमा गोपनीयता राखिदिन्छ । त्यसलाई खोल्ने दर्शक हो । साहित्यमा अनुद्घाटित कुरा हुन्छन् । त्यसलाई पढेर अर्थ खोज्ने मानिस पाठक हो तर साइबरले खोलेको सत्य वा विकिलिक सोझो हुन्छ । सूचनैसूचना हुन्छन् त्यहाँ । त्यो भयानक हुन सक्छ । लामै लेखको विषय हो यो ।
यो लेख लेख्न बस्ता मेरा मनमा केही ठाडा कुरा थिए तर मलाई मेरो सम्झना र ज्ञानको सन्धि गर्ने चाहनाले यतातिर पुर्‍यायो । बुझेकै छु । अहिले काठमाडौंको विकिलिक एकजना विवेक शाह भन्ने राजदरबारका भूतपृ्र्व जर्नेलको किताब भएको छ । त्यसमा तिनले सन् २००१ जुन एकका दिन राजा वीरेन्द्रको वंश संहारको संस्मरण र आफूलाई लागेको कथा लेखेका रहेछन् । त्यो हत्यामा कसैले उक्साहट गरेर दीपेन्द्रले उनको परिवार सिध्याइदिएको कुरा उनले लेखेका छन् । राजनीतिका धेरै कुरा जोडेका छन् । चर्चा हुँदै छन् तिनका । नेपालमा पोल खोल्नु वा इतिहास लेख्नु पनि सिद्धान्तको कुरा भएको छ । त्यत्रो ठूलो हत्याको घटनाले वर्णनहरू जन्माउँछ । भारतमा भए कति अतिरन्जक वर्णन लेखिइसक्थे । यी सम्बन्धित जर्नेल के भन्छन् त्यो पढ्नु एउटा उत्सुकताकै कुरा हो । व्याख्या, खण्डन र समर्थन हुनेछन् । तर विकिलिकको यो युगमा मेरी काकीको आदिम झोलाबाट अझै केही निस्कनेछन् र तिनले मानिसको सिर्जनालाई केही नोक्सान गर्न सक्नेछैनन् भन्ने मलाई अहिले पनि लागिरहन्छ ।

प्रकाशित : पुस १७, २०६७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?