कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मूल बिउ जोगाउँदै कृषकहरू

प्रकाश अधिकारी

दैलेख — 'जब पर्‍यो राति तब बुढी ताती' भनेझैं बाली लगाउने समय मुखैमा आएपछि मात्र कृषकहरुमा बिउको खोजी हुन्थ्यो ।


बीउका लागि छरछिमेक चहार्दै उनीहरुको दिन बित्थ्यो । गाउँ/टोलमा थोरैले मात्र राम्रो उत्पादनलाई छानेर बीउका लागि सुरक्षित भण्डारन गर्ने गरेको पाईन्थ्यो । तिनीहरुबाटै अधिकांश कृषकले महंगो मूल्य तिरेर होस् अर्थात त्यो बराबरको श्रम गरेर बीउ लैजान्थे । राम्रोखाले बीउको समस्याले आजित यहाँका कृषकहरु अब जर्गेनामा लागिपरेका छन् ।
दैलेखका ५ गाविसहरु विन्ध्याबासिनी, मालिका, गमौडी, छिउँडीपुसाकोट र पादुकाका कृषकहरु बीउ/बिजनमा आत्मनिर्भर बन्न थालेका हुन् । ती गाउँहरुमा उत्पादन हुने सबैखाले कृषिजन्य वस्तुको शुद्ध बीउ तयार गरी कृषकहरुले सुरक्षित भण्डारनका लागि बीउ बैंकमा राख्ने गरेका छन् ।
'बीउका लागि भनेर हामी कहाँ छुट्टै भण्डारन गर्ने चलन थिएन्, मालिकाका पे्रमबहादुर शाहीले भने, 'त्यसैले गर्दा कहिलेकाँही बीउसमेत बाँकी नभई खाएरै सकिन्थ्यो ।'
उनले आफ्नो गाउँमा बीउको समस्या सदाका लागि अन्त भएको बताए । गमौडीका इन्द्रबहादुर थापाले असुरक्षित भण्डारणका कारण भएको बीउलाई रोगकीराले सखाप पार्ने समस्या हटेको दाबी गरे । 'बीउ बैंकमा भने यस्तो समस्या पाईएन । चाहेको बेला जुनसुकै बीउ पाईँदोरहेछ' उनले भने ।
झन्डै एक वर्ष यता कृषकहरुले मूल बीउको पहिचान गरी सुरक्षित भवनमा राख्ने गरेको छन् । जसलाई बीउ बैंक भन्ने गरिएको छ । ती बैंकहरुमा तरकारी, सागसब्जीदेखि सबै प्रकारका खाद्यान्न र नगदे बालीका बिउहरु राखिएको हुन्छ । मूल बिउबाट दोब्बर उत्पादकत्व बढ्ने कृषकहरुको विश्वास छ ।
किसानहरुले राम्रो उत्पादनको पहिचान गरी बीउ बैंकमा लैजाने गर्दछन् । त्यहाँ बढी भएको बीउलाई बैंक व्यवस्थापनले अन्य गाविसका कृषकहरुलाई बिक्री गर्ने प्रबन्ध मिलाएको हुन्छ । यसले गर्दा पुरानो जातको बीउ संरक्षणमा टेवा पुगेको कृषकहरुको भनाई छ । आयातितलाई स्थानीय बीउलाई प्राथमिकता दिने गरेको बीउ बैंक व्यवस्थापन समितिले बताएका छन् ।
दीर्घकालिन खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउन र उत्पादकत्व बढाउने उद्देश्यले अक्र्सफामको सहयोगमा जोखिम उन्मुख समुदायका लागि खाद्य सुरक्षा परियोजनाले ५ गाविसमा 'बीउ बैंक प्रणाली'को सुरुवात गरेको हो । 'बीउ बैंकले गर्दा किसानहरुमा बीउबेर्ना प्राप्तिमा सहजता आएको छ' परियोजनाको साझेदार संस्था सुडेक नेपालका कार्यकारी निर्देशक चित्र दाहालले भने, 'रोगकीराको त्रास पनि हट्यो ।'

प्रकाशित : पुस १७, २०६८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?