विस्थापितको समस्या : एउटै पालमुनि १८ जनाको परिवार

आनन्द गौतम

खेवाङ -ताप्लेजुङ — खेवाङ ५ का गंगबहादुर दर्जीको घरमा प्रत्येक साँझ सिस्नुको खोले पाक्छ । त्यही खोले बटुकोमा सुरुप्प पिएर रात कटाउने उनको परिवारले भात खान अँध्यारो कटाएर उज्यालो पर्खन थालेको डेढ महिना बित्यो ।


पालको छाप्रोमा सुतिरहेकी सात वषर्ीया तारा दर्जीले भनिन्, 'तीन चार दिनदेखि त बेलुका पनि खोलेसँगै मकैको च्याँख्ला खान थालेका छौं ।' दिउँसो चार बजे दुई जना बहिनीलाई सुताएर ओछ्यानमा पल्टिरहेकी उनले जुरुक्क उठ्तै थपिन््, 'आज त्यो पनि सकियो र बुबा आमा माथ्लोघर साहुकोमा मकै लिन जानुभएको छ ।'
भर्खर पाँच दशक पार गरेका गंगबहादुरका दुई श्रीमतीका गरी २१ जना छोराछोरी छन् । बर्सेनि सन्तान थप्ने उनका तीन छोरी विवाह गरेर कुटुम्बको घर गइसके । ज्वाइँ परदेशमा भएकाले माइली र साइलीले नानी हेर्ने साथी एउटी/एउटी बहिनी लगेका छन् ।
जेठो छोरो अघिल्लो वर्ष परदेश गएका छन् । बाँकी १५ छोराछोरी दुई आमा र एक बाबुको साथमा छन् । कपडा सिलाउने पुख्र्यौली पेसालाई निरन्तरता दिँदै लालाबालाको पालनपोषण गर्दै आएका गंगबहादुलाई अहिलेसम्म छोराछोरी पाल्न कठिन महसुस भएको थिएन ।
असोज १ गतेको भूकम्पले सिलाउने दुइटा मेसिन बिगारिदिएपछि समस्या महसुस भएकोे छ । भन्छन्, 'खान त तेस्तै हो, राति सुतेका बेला बुवा जाडो भो भनेर कराउँछन्, नानीहरूतिर ओढ्ने सारिदियो, आफैंलाई चिसोले रात कटाउन कठिन हुन्छ ।'तीन महिनाअघि गएको भूकम्पले उनको दुईतले घर भत्कँदा एउटी छोरी पुरेको थियो । पुरिएकी छोरीलाई स्थानीय बासिन्दा र खेवाङ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सात घन्टापछि उद्धार गरेका थिए ।
गाउँमा उपचार सम्भव नभएपछि र सदरमुकाम फुङलिङ पुग्न दुई दिन लाग्ने भएपछि बालिकासहित यहाँका तीन जना घाइतेलाई हेलिकप्टरबाट उपचारार्थ काठमाडौं लगिएको थियो ।
'धन्न जाने खर्चचाहिँ सरकारले दियो नत्र त मेरी छोरीको ज्यानै जान्थ्यो होला,' आङ ढाक्ने कपडासमेत नपाएर चिसो हिउँद कटाइरहेका छोराछोरीका बीचमा बसेका गंगबहादुरले सरकारप्रति कृतज्ञता देखाए । मेसिन नबिगारिदिएको भए गंगबहादुरलाई बेलुका मात्रै घरमा भेटिन्थ्यो, भेट्नै परे गाउँमा जानुपथ्र्यो ।
प्रत्येक दिन गाउँका इष्टको घरमा कपडा सिलाउन जाने गंगबहादुरले तेस्तै सिलसिलामा जेठीमाथि कान्छी श्रीमती जोडेका थिए । 'केही वर्ष झगडा गरेर छुट्टएि पनि पाँच वर्षयता श्रीमती त  मिलाएरै राखेको थिएँ तर पेसा नै हराएपछि पो साह्रो पर्‍यो,' उनले भने । 
भूकम्पले कान्छी पट्टीकी सात वषर्ीया छोरीलाई पुरेको थियो । मेसिन जोड्ने अन्य उपाय नभएपछि असोजपछि घरमै बसेका छन् । इष्टकोबाट उठाउने धान मकै लगायतका बाली असोजदेखि नै उठाएर खाइसकेको बताउने गंगबहादुरकी जेठी श्रीमती छलिमायाले भनिन्, 'धेरै अन्न पुरियो घर हेर्न आउने पाहुनापासा गर्दा अन्नतः केहीले नपुग्दो रहेछ, पछि तिर्ने गरी साहुकोबाट पैंचो मकै मागेर लगिराखेका छौं ।'
सरकारबाट पाँच हजार नगद, रेडक्रसबाट पाल र गुरु चेन्नइबाट एक बोरा चामल लगायत सामान्य राहत पाएका उनले हरेक ठाउँमा मेसिनका लागि अनुरोध गरेका छन् तर अहिले सम्म कसैले सहयोग गरेको छैन । धेरै परिवार र छोराछोरी भएकाले यो टोलमा पहिलो पीडा गंगबहादुरको देखिन्छ । छिमकीले दिएका फाटेका कपडा लगाएर हिँडडुल गरिरहेका केटाकेटीहरूले पढ्ने अवसर पनि पाएका छैनन् । गंगबहादुर केटाकेटीले पढ्दै गरेको दाबी गर्छन् तर उनीहरूको स्कुल गइ औपचारिकता मात्रै हुुने गरेको छ । डाँडो परेको यो टोलका एक दर्जन बढी घरमा भूकम्पले पूर्ण क्षति पुर्‍याएको छ । सबै घरका सदस्यहरू भत्किएको घरमा दिउँसोको खाना पकाएर खान्छन् र रात परेपछि पालको सहारामा पुग्छन् ।
पालमै बसिरहेका गायत्री पौडेलले भने, 'सुरक्षित ठाउँमा पाल टाँगेर बस्ने ठाउँसम्म छैन । घरछेउ आँगनमै पाल टाँगेका छौं । फेरि भूकम्प आयो भने त्यही घरको ढुंगाले पनि लाग्ने खतरा छ ।' तीन महिना बितिसक्ता पनि खेवाङ र सुरुमखिमका भूकम्प पीडित पालको सहारामै बिताइरहेका छन् । चिसोमा न्यानो पार्ने कपडा उनीहरूको आङमा छैन भने के सहयोग गरूँ भनेर सरकारी प्रतिनिधि पनि फेरि पुगेेका छैनन् । गाउँ विकास समितिका अनुसार भूकम्पले एक सय ५५ घरमा पूर्ण क्षति पुर्‍याएको छ ।

प्रकाशित : पुस १७, २०६८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?