कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिकामा अनियमितता : 'विकास कार्यमा राजनीति बन्द गर'

श्यामसुन्दर शशि

जनकपुर — नगरपालिकास्थित राजनीतिक दलहरूको चरम गुटबन्दी तथा गतिरोधका कारण जनकपुरको पूर्वाधार निर्माणमा सहयोग गर्ने सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको एसियन डेभलोपमेन्ट बैंक फिर्ता जान लागेको हल्लाले स्थानीय बासिन्दालाई चिन्तित बनाएको छ ।


जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्यामप्रसाद साहले शनिबार विज्ञप्ति प्रकाशित गरी नगरपालिकास्थित राजनीतिक दल तथा कर्मचारीतन्त्रको फोहोरी चलखेलका कारण एडिबीको परियोजना फिर्ता जान लागेको हल्लाले आफूहरूलाई चिन्तित बनाएको उल्लेख छ ।
विज्ञप्तिमा एडिबीको परियोजनालाई कार्यरूप दिन यहाँका उद्योगी व्यावसायी, शिक्षक, कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा नागरिक समाजलाई सहयोग गर्न अपिलसमेत गरिएको छ ।  अध्यक्ष साहले विकास निर्माण कार्यलाई राजनीतिक मुक्त राख्न अपिल पनि गरेका छन् ।
जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्रले पनि विकास निर्माण कार्यमा देखिएको गतिरोधप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, 'राजनीतिक संयन्त्रका प्रतिनिधिहरू परियोजनाभन्दा पनि कार्यकारी प्रमुखलाई प्राथमिकता दिनु दुःखद् हो ।'
भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको मझौला सहर एकीकृत सहर वातावरणीय सुधार आयोजनाका आयोजना निदेशक बुद्धिसागर थापाले पुस ४ गते पत्र लेखी नगर पालिकाले आवश्यक प्रक्रिया पूरा नगरेको कारण उक्त आयोजनामाथि रोक लगाउन सकिने आशंका व्यक्त गर्दै जनकपुर नगरपालिकालाई पत्र लेखेको छ ।
पत्रमा परियोजना कार्यान्वयनको लागि डिजाइन सुपरभिजन, परामर्शदाता र गैर सरकारी संस्थाको सेवा खरिदसम्बन्धी कार्यका लागि परियोजना कार्यान्वयन इकाई गठनसम्बन्धी सूचना ३१ डिसेम्बरसम्म प्रकाशन गरिसक्ने व्यवस्था भएकाले उक्त व्यवस्थाअनुसार काम हुन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ ।
नगरपालिकाअन्तर्गत परियोजना कार्यान्वयनका लागि परियोजना व्यवस्थापक, आयोजना उपव्यवस्थापक, सल्लाहकार, इन्जिनियर, लेखापाल, सामाजिक विकास अधिकृत सहितका अन्य कर्मचारीको व्यवस्था गर्नुपर्ने सर्त राखिएको थियो तर उक्त प्रयोजनका लागि तत्कालीन कार्यकारी प्रमुख राजकिशोर साहले गरेको पदपूर्ति सम्बन्धी विज्ञापन राजनीतिक हस्तक्षेपको कारण रद्द गरिएको थियो । हाल नगरपालिकाका लेखा अधिकृत जयचन्द्र मिश्रलाई बर्खास्त गरी अख्तियारको कारबाहीमा छ ।
स्थानीय विकास मन्त्रालयले नगरपालिकाको कार्यकारी अधिकृत समेत तोकेको जिल्ला विकास समिति धनुषाका स्थानीय विकास अधिकारी सूर्यकान्त झालाई फिर्ता बोलाई जिल्ला प्राविधिक कार्यालयका डिभिजनल इन्जिनियर राजकिशोर साहलाई पुनः कार्यकारी अधिकृत तोकेको छ ।

प्रकाशित : पुस १७, २०६८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?