कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एक भुक्तभोगीको वक्पत्र

याङ जिशेङ

सन् १९५९ को चीन । देशको मध्यक्षेत्रमा पर्ने एउटा बस्ती । गाउँबाट टाढा रहेको आवासीय विद्यालयमा अध्ययनरत एकजना १८ वषर्ीय छात्र- याङ जिशेङ ।

एकदिन याङको एकजना साथी उसलाई डाक्न आउँछ र सुनाउँछ ः 'तिम्रा बा खानेकुरा नपाएर भोकभोकै मर्न लागेको देखेर तिमीलाई बोलाउन आएको ।' साथीको सन्देश सुन्ने बित्तिकै याङ हस्याङ-फस्याङ गर्दै गाउँ फक्र्यो र दुब्लो टाक्सिएको शरीर त्याग गर्न लागेका बाबुको अनुहारसम्म हेर्न पायो । बाबुको निधनले उसलाई स्वभावतः निकै दुःखी तुल्यायो । ऊ गहिरो विशदमा पर्‍यो पनि । तर त्यसअघि नै कम्युनिष्ट युथ लिगको सदस्यता लिइसकेको याङले बाबुको ज्यान गएको घटनामा कम्युनिष्ट सरकारको पनि दोष हुनसक्छ भन्ने कुरा सोच्न चाहेन । ऊ कम्युनिष्ट आदर्शप्रति समर्पित युवक थियो । 'महान कम्युनिष्ट समाजको आगमनको घटनाको दाँजोमा मेरो परिवारमाथि आइपरेको सानो दुःखको के अर्थ थियो र ?' याङले लेखेको भेटिन्छ ।
भ्fmन्डै बीस वर्षसम्म याङले 'ग्रेट लिप फरवार्ड' -महान अग्रगामी कदम) बारे सरकारी स्तरबाट वितरित विवरणलाई नै पत्याइरह्यो । माओको आर्थिक नीतिसम्बन्धी 'प्रयोग'ले चीनमा गराएको तहस-नहसबारे याङले तर्क, प्रश्न केही गरेन । र त्यो आर्थिक दुरवस्था प्राकृतिक प्रकोपको परिणाम थियो भन्ने सरकारी कथनप्रति विश्वास जनाइराख्यो । यहाँसम्म कि पछि ठूलो भएर 'सिन्ह्वा' समाचार समितिको वरिष्ठ संवाददाताको जिम्मेवारी सम्हालिसकेपछि पनि- त्यसबखत समाचार कसरी बनाइन्थ्यो, बंग्याइन्थ्यो भन्ने यथार्थ बुझिसकेपछि पनि- याङले सरकारी भनाइप्रतिको विश्वास डगमगाउन दिएन । पछि कालान्तरमा अर्थात् सन् १९८० को दशकमा जब चीनले 'खुला हुने नीति' अँगाल्न थाल्यो, तबमात्र याङले सुरु-सुरुमा आफूलाई भनिएको कुराहरूबारे शङ्का व्यक्त गर्दै प्रश्नहरू गर्न थाल्यो । सन् १९८९ मा बेइजिङका प्रदर्शनकारीहरूलाई सुरक्षाफौजले मारेको घटनापछि भने याङलाई वास्तविकताबारे चेतना हुन थाल्यो । अहिले लेखक याङ भन्छन् 'युवा विद्यार्थीहरूको रगत पोखिएको दृश्य सार्वजनिक भएपछि मैले पहिले दशकौंसम्म पत्याइआएका कुराहरू झूटा रहेछन् भन्ने छर्लङ्ग भयो ।' समयको एक अन्तरालपछि उनी पहिले आफैंले समर्थन गरेको नीति र पद्धतिलाई धराशायी गराउन कटिबद्ध भएर लागेका छन् ।
त्यसैक्रममा प्रकाशित भएको पुस्तक हो, याङ जिशेङको 'टम्बस्टोन' अर्थात् चिहान-ढुङ्गो । ६२९ पृष्ठको यस पुस्तकमा आङ सिरिङ्ग गर्ने विवरण, वर्णन पाइन्छ । ती तीन वर्षमा -१९५८-६२) मा भएका हृदयविदारक घटनाहरूको लगत समेटिएको छ, यस पुस्तकमा । सरकारी लिखतहरूमा भने त्यस अवधिलाई 'आर्थिक कठिनाइका तीन वर्ष' भनेर असामान्य अवस्थालाई ढाकछोप गर्ने गरिएको छ । करिब दुई वर्षअघि त्यस अवधिबारे पmयाङ्क डिकोटरले लेखेको पुस्तकले पनि वस्तुस्थितिमा प्रकाश पारेको हो, तर कुनै चिनियाँ लेखकले नै अनिकाल र अव्यवस्थाबारे विस्तृत विश्लेषणयुक्त पुस्तक छपाएको यो पहिलो घटना हो । भुक्तभोगीको वक्पत्र हो यो । यो पुस्तक पहिले, सन् २००८ मा हङकङमा चिनियाँ भाषामा प्रकाशित भएको थियो । अंग्रेजीमा भर्खर-भर्खर निस्केको हो । चिनियाँ संस्करण करिब १२ सय पृष्ठको थियो, अंग्रेजी संस्करणमा यसलाई संक्षिप्त गरिएको छ । पुस्तक छोटो हुँदा झन् घतलाग्दो हुनपुगेको छ ।
'ग्रेट लिप फरवार्ड' माओवादी मूर्खताको पराकाष्ठा थियो । अध्यक्ष माओले सन् १९५७ मा के भनेका थिए भने अबको १५ वर्षमा चीनको औद्योगिक उत्पादनले बेलायतलाई उछिन्नेछ । उनको त्यस भनाइलाई साकार तुल्याउन चिनियाँ जनता खेतीपातीको काम छाडेर कलकारखाना, उद्योगको विकासतिर दगुर्न बाध्य भए । आँगन, घुर्‍यानमा भाँडाकुँडा गालेर स्टील निकाल्ने ज्यासलहरू खुल्न थाले । यता किसानले खेतबारी छाडेर हिँडेपछि उब्जनी घट्न गयो, तर कम्युनिष्ट पार्टीले खोलेका कम्युन -गाउँ संगठन) का नेताहरूले कृषि उत्पादन घट्नुको साटो बढ्न गएको तथ्याङ्क तयार पार्न थाले । 'महान' कम्युनिष्ट दर्शनको प्रभावले खेतीपातीमा सहकाल आएको भ्रम फैलाए । यथार्थ आफ्नो ठाउँमा थियो- राज्यले कम्युन नेताहरूका जाहेरीमा विश्वास गरेर उत्पादन बढेको माने तापनि ग्रामीण इलाकामा रहे-बसेका किसानसित खाने अन्नको मौज्दात सीमित थियो, छँदै थिएन भने पनि हुन्छ । खाद्यवस्तुको कमी भएपछि किसानले सिकायत गर्ने नै भए, गरे । तर तिनले राहत पाएनन्, उल्टो आहत हुनुपर्‍यो । कम्युनिष्ट सरकारले तिनलाई प्रतिक्रान्तिकारी -प्रतिगमनकारी) भनेर उल्टो कठोर सजाय तोक्दै गयो । अर्कोतर्फ कम्युनिष्ट कार्यकर्ताहरू भोजभतेरमा व्यस्त रहन्थे, सोझा, निमुखा गाउँलेहरू भने खान नपाएर भकाभक मर्दै थिए । 'चिहान-ढुङ्गो'का लेखकको हिसाब-किताबमा तीनवर्षे अनिकालमा करिब ३ करोड ६० लाख मानिसको ज्यान गयो ।
याङले सिन्ह्वाको सेवाबाट निवृत्त भएपछि आफ्ना पुराना सम्पर्क-सूत्रहरूको माध्यम प्रयोग गरेर उस बखतका गोप्य कागजपत्रमा पहुँच पुर्‍याए । त्यो पहँुचको निम्ति उनले आफू त्यस अवधि -१९५८-६२) को खाद्य नीतिबारे अनुसन्धान गर्दै रहेको जानकारी दिने गर्नथाले । कतिपय सरकारी अभिलेख सुरक्षित राख्ने जिम्मा पाएकाहरूले याङको उद्देश्य -किताब लेख्ने) बुझेका पनि हुन्, तर जानाजान आँखा चिम्लिदिए । याङले पुस्तकको नाम 'टम्बस्टोन' -चिहान-ढुङ्गो) राखेको आफ्ना पिताप्रति आदरभाव जनाउनुको साथै त्यसक्रममा ज्यान गुमाएका अन्य दसौं लाख मानिसको सम्झनाको लागि हो । लेखक ठट्यौलो शैलीमा भन्छन्- कतै यस पुस्तकले मैलाई चिहान-ढुङ्गोमा पुर्‍याउने पो हो कि ? किनभने यो पुस्तक चीनमा प्रतिबन्धित छ । तैपनि याङ भने राजधानी बेइजिङमा बसेर एक सुधारवादी पत्रिकाको सम्पादन गरिरहेका छन् ।
कम्युनिष्ट चीनको प्रणाली आफ्नो ठाउँमा कायम छ र इतिहासबारे आफ्नो ढङ्गले गरिएका व्याख्याहरूलाई कडिकडाउसाथ संरक्षण गर्ने नीति पनि यथावत् छ । यस्तो पृष्ठभूमिमा निस्केको छ- याङको पुस्तक । अनि यस पुस्तकमा छ, रक्तरञ्जित घटनाहरूको त्यो अध्ययन, जसमा नियन्त्रण र सन्तुलन नभएको शासनसत्ता हाँक्नेहरूले सैद्धान्तिक पक्षप्रतिको कमजोर निष्ठाको प्रदर्शन गर्ने धुनमा के कस्ता ज्यादती गर्न पुग्छन्, त्यसको विवरण समावेश भएको छ । चीनका स्कुले पाठ्यपुस्तकमा चर्चित अवधिको चर्चा नै गरिएको हुँदैन ।
याङको पुस्तकका पाठकले सन् १९५८-६२ को अवधिमा चीनको ग्रामीण क्षेत्रमा देखिएका लासका थुप्रा, खानेकुराको अभावमा मान्छेले मान्छेकै मासु खाएका घटना, हिंसाजन्य गतिविधि सबैको आँकलन गर्ने मौका पाउँछन् । माओको योजना, आकांक्षामा दगुर्दाका परिणति छर्लङ्ग देखिन्छन्, कुनै बेला जम्माजम्मी एकजनाको निर्णयले कुन हदसम्मको घातक स्थिति निम्त्याउँदो रहेछ, त्यसको प्रमाण चर्चित घटनाले देखाउँछ । याङको पुस्तकले 'एक पार्टी व्यवस्था'का पक्षधरलाई यथेष्ट खबरदारी गरेको छ । याङ लेख्छन्- हो, अचेल चीनका नीतिहरू पहिलेको दाँजोमा कम कठोर छन् । तैपनि नागरिकमाथि निगरानी बेगरको क्रूर व्यवहारको खतरा आजको चीनमा पनि ज्युँकात्युँ छ । हिजोआजको कम्युनिष्ट पार्टीले अनिकाल त गराइहाल्दैन, तथापि पद सोपान -हायरआर्की) को प्रचलन जस्ताको तस्तै छ ः हरेक सरकारी ओहदाधारीले आफूले आफूमाथिको व्यक्तिलाई मालिक र आफूमुनिको व्यक्तिलाई कमारो ठानेर व्यवहार गर्छ । यसक्रममा उदाहरण हुनसक्ने नीति हो- एक परिवार एक सन्तान । यसमा तोकिएको लक्ष्य पूरा  गरिनैपर्छ- मानवीय संवेदना अथवा अन्य जोखिमसित सरकारलाई मतलब छैन । विडम्बना हो, एकातिर लक्ष्य पूरा गर्न जेजस्तो कठोरता पनि अपनाइने गरिन्छ भने अर्कोतिर पर्यावरण बिग्रने कार्य, फैलिँदो भ्रष्टाचार र खाद्य सुरक्षामा बढ्दो जोखिमजस्ता कुरामा भने भैरहेका लापरवाहीकै ढाकछोप गर्ने गरिन्छ ।
यस प्रकारको विधि, नीति र पद्धति कतिञ्जेल टिक्न सक्ला त ? सूचना वितरणमा भएको एकाधिकारले एकताका सरकारलाई कुन कुरा सत्य हो, त्यसको टुङ्गो गर्ने एकाधिकारसमेत प्राप्त थियो । अब अचेल इन्टरनेटको माध्यम छ, सूचनाको बाढी नै आएको छ । याङको पुस्तकलाई यसै परिप्रेक्ष्यमा हेरिनुपर्छ । किनभने यसले सन् ५० र ६० दशकका घटनाक्रमलाई फराकिलो दायरामा हेर्न मद्दत गर्छ । हालैको समयमा अखबारहरूले पनि 'ग्रेट लिप फरवार्ड' भनिँदै आएको प्रसङ्गलाई केलाइएका आलेखहरू छाप्न थालेका छन् । इन्टरनेटको माइक्रो ब्लगमा पनि आलोचनात्मक पाठ्यसामग्री भेटिन्छन्, तथापि ती अभिव्यक्ति याङको पुस्तकमा भएका विवरण-विश्लेषणको दाँजोमा आउन सक्दैनन् । इतिहासका कुराहरू विवेचनामा आउनु राम्रो हो । यसबाट सरकारी भनाइ बिनासर्त पत्याइरहनुपर्ने बाध्यताबाट नागरिकले फुर्सद पाउँछन् ।
केही साताअघि चीनमा देखिएका जापान-विरोधी प्रदर्शनहरूको क्रममा चीनकै नागरिकहरूको एउटा समुदायले सरकारी प्रचार -प्रोपोगन्डा) को दशकौं पुरानो परिपाटीप्रति असन्तुष्टि प्रकट गर्‍यो । आलोकाँचोपना र मूर्खता झल्किने विरोध कार्यको के अर्थ हुन्छ र भन्ने आवाज सुनिन थालेको छ । यसबाट कदाचित् कम्युनिष्ट पार्टीले विगतलाई नियन्त्रणमा राख्न नसकेको निष्कर्ष निकाल्ने हो भने अब भविष्यलाई यसले नियन्त्रण गर्न सक्ला भनेर के आधारमा पत्याउने ?
-'द इकोनोमिस्ट,' २७ अक्टोबर २०१२ बाट) रूपान्तरः ध्रुवहरि अधिकारी

प्रकाशित : मंसिर ६, २०६९ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?