मधेसीका सूचीमा 'आफन्त र पैसावाल’

काठमाडौ — राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले पठाए श्रीमतीको नाम

गच्छदारले प्याब्सन र एन प्याब्सनका अध्यक्षलाई बनाएद्य

सबैजसो मधेसी दलले आफन्त र व्यापारी नछुट्ने गरी समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाएका छन् । मधेसमा पहिलो दल बनेको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टी पदाधिकारीभन्दा बाहिरका व्यापारिक पृष्ठभूमिका र पैसावाललाई सभासद सिफारिस गरेको छ ।
भीएस निकेतन स्कुलका संस्थापक पि्रन्सिपल तथा प्याब्सनका अध्यक्ष डा.बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी पि्रन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा परेका छन् ।यस्तै व्यापारीहरू डा.सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् । पार्टी केन्द्रीय समितिले समानुपातिकका १० सभासद छान्ने अधिकार अध्यक्ष गच्छदारलाई दिएको थियो । फोरम लोकतान्त्रिकले समानुपातिक सूचीमा रहेका उपाध्यक्ष मोहम्मद नसिर सिद्दिकी, महासचिव जितेन्द्रनारायण देव र सचिव चन्द्रेश्वर खत्वेलाई समेटेन । कोषाध्यक्ष आशा चतुर्वेदीलाई भने उसले समेटेको छ ।
यस्तै सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि श्रीमती शैलदेवी र व्यापारी विमल केडियालाई सभासद बनाएका छन् । सद्भावना अध्यक्ष महतो भने सर्लाही ४ मा तराई मधेस सद्भावना पार्टी -तमसपा) अध्यक्ष महेन्द्र यादवबाट पराजित भएका थिए । पार्टीले अध्यक्षलाई नै नाम छान्ने अधिकार दिएको थियो । सद्भावनाले अघिल्लो पटक पनि समानुपातिक सभासद रहेका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित उपाध्यक्ष नरसिंह चौधरीलाई सभासद बनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) ले पनि पैसावाल र व्यापारिक पृष्ठभूमिकालाई सभासद बनाएको छ । अघिल्लो पटक पनि मन्त्रिपरिषद्को सिफारिसमा सभासद बनेका अकबाल अहमद शाहसहित अस्पताल व्यवसायी डा.विजय सिंह, पैसावाल राजकुमारी गडेरियालाई तमलोपाले सभासद बनाएको हो ।
शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) लेसमेत दुई व्यापारीसहितलाई सभासद बनाएको छ । पार्टीकी सल्लाहकार तथा व्यापारी निर्जला राउत र अर्का दिनेशप्रसाद साह र धर्मेन्द्र साहलाई समानुपातिक सभासद बनाएको हो । व्यक्तिगत फाइदा उठाएर सभासदमा सिफारिस गरेको भन्दै महासचिव रामेश्वर साहले अध्यक्षको भण्डाफोर गर्ने बताएका छन् । 'अध्यक्षले पार्टीको हितविपरीत पैसा लिएर सभासद बनाएका छन्,' उनले कान्तिपुरसित भने, 'अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्छ ।'
संघीय सद्भावना अध्यक्ष अनिल झाले पनि महतोको सिको गर्दै एक सिटमा श्रीमती डा.डिम्पलकुमारी झालाई सभासदका लागि सिफारिस गरेका छन् । झा भने रौतहट १ बाट पराजित भएका थिए । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि पाएको एक सिटमा श्रीमती सरिता यादवको नाम पठाएका छन् । 'अध्यक्षले श्रीमतीलाई नै पठाउँछन् भन्ने पहिले नै थाहा थियो,' पार्टी वरिष्ठ नेता राजलाल यादवले भने । फोरम नेपालले भने सोमबार नाम बुझाएन ।

प्रकाशित : पुस १६, २०७० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?