२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राप्रपा नेपाल विभाजित

काठमाडौ — समानुपातिक सभासद मनोनयनमा विवाद बढेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सोमबार विभाजित भएको छ ।

पार्टीमा सैद्धान्तिक विचलन भएको, अध्यक्ष कमल थापाले मनोमानी ढंगले कार्य गर्दै आएको दाबी गर्दै ४० प्रतिशत केन्द्रीय सदस्यले बेग्लै पार्टीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनीहरूले नयाँ पार्टीको नाम 'नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी' प्रस्ताव गरेका छन् । शाहीकालीन सञ्चारमन्त्री टंक ढकालले अगुवाइ गर्दै पेस गरेको २० जनाको सूचीमा सहमहामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्यहरू श्याम तिमिल्सिना, बालकृष्ण न्यौपाने, रमेश श्रेष्ठ, घनेन्द्र सुब्बा, रुपासिंह थापा, इन्द्र चित्रकार, गणेश शेरचनलगायत छन् ।
मंसिर ४ को संविधानसभा चुनावमा समानुपातिकमा २४ सिट ल्याई राप्रपा, नेपाल चौथो शक्ति बनेको थियो । सभासद मनोनयन केन्द्रीय समितिलाई थाहै नदिई गरेको, अध्यक्ष थापाले कीर्ते दस्तावेज पेस गरेको, नातागोता र मोलमलाई गरी सभासद चयन गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको थियो । त्यसबाहेक पार्टीभित्र सैद्धान्तिक विचलनसमेत भएको दाबी असन्तुष्ट पक्षको छ । 'हामीले चुनावमा भोट माग्न जाँदा संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र अखण्डतालाई मुख्य एजेन्डा बनाएका हौं,' पार्टी अलग हुनुको कारण राख्दै केन्द्रीय सदस्य बालकृष्ण न्यौपानेले कान्तिपुरसँग भने, 'तर, अध्यक्ष थापाले पार्टीले जितेपछि ती एजेन्डामा सम्झौता गर्न सक्ने भन्नतिर लाग्नुभयो । यो लाखौं जनताप्रति अपमान हो ।'
त्यसबाहेक सभासद चयन गर्दा पार्टी पद्धतिलाई पूरै वाइपास गरी एकलौटी ढंगले निर्णय गरेकाले पार्टी अलग हुन बाध्य भएको उनले बताए । 'पार्टीलाई यो अवस्थामा ल्याउन योगदान पुर्‍याएकालाई छाडेर छोरी, बुहारी, व्यापारी, आर्थिक चलखेलवाला व्यक्तिलाई टिप्न खोज्दा नै समस्या भएको हो,' न्यौपानेले भने । असन्तुष्ट केन्द्रीय सदस्यहरूले नयाँ पार्टी दर्ता गरी आधा सभासद आफूहरूले मनोनयन पाउनुपर्ने दाबी गरे पनि त्यो सम्भव नभएको आयोग स्रोतले जनाएको छ । नयाँ दलबारे आयोगले केही दिनमै आवश्यक निर्णय गर्ने स्रोतले बतायो । सभासद चयनकै विषयमा असन्तुष्ट पक्षले यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैमा कानुनी चुनौती दिँदै संस्थापनविरुद्ध निवेदन दिएको थियो । सर्वोच्चले यससम्बन्धी मुद्दामा केन्द्रीय कार्यसमितिको निर्णयसहितका कागजातसहित पेस गर्न आदेश दिइसकेको छ ।
अध्यक्ष थापाले ३ खालको केन्द्रीय समिति बनाई अपारदर्शी ढंगले काम गर्दै आएको अर्का एक केन्द्रीय सदस्यले आरोप लगाए । 'कतै ४५, कतै ७७ र एक सय ६० जनाको केन्द्रीय समिति खल्तीमा बनाई काम गर्दै आएको पनि पायौं । त्यसको छानबिन पनि अब हुन्छ,' उनले भने । थापा निकट केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने निर्वाचन प्रक्रिया सक्नुअघि नै यस्तो विवाद झिक्नु अस्वाभाविक र त्रुटिपूर्ण हुने बताए । असन्तुष्ट पक्षले भनेअनुसार पार्टीमा सैद्धान्तिक विचलन नआएको उनले बताए । 'पार्टीले चुनावी घोषणापत्रको लाइन छाडेको छैन,' उनले भने । आयोगमा पेस भएको निवेदनमा उल्लेखित नामहरू केन्द्रीय समितिमै नभएको दाबी पनि उनले गरे ।

प्रकाशित : पुस १६, २०७० १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?