कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सदरमुकाममै पानी अभाव

काशीराम डाँगी

रोल्पा — सदरमुकाम लिबाङमा खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा दैनिक हजारौं लिटर पानी खेर गइरहेको छ ।

खुला पाइप जडान, ठाउँ-ठाउँमा पाइप काटिनु र उचित हेरचाहबिना पूरै पानी उपभोक्ताको धारासम्म पुग्न पाउँदैन । जसका कारण पानीको सदुपयोगमा समेत प्रश्न उब्जिएको छ । वातावरणीय परिवर्तनका कारण वर्षेनी पानीको मात्रा कम हुँदै गएको र कतिपय स्थानमा पानीका मुहान सुक्दै गएकाले गतिलो गरी पानीको व्यवस्थापन गर्न नसकेमा आगामी केही वर्षमै लिबाङमा पानीको समस्या बढ्ने सम्भावना पनि उत्तिकै छ । यसबाट उब्जने नकारात्मक प्रभावप्रति कतिपय उपभोक्ता चिन्तित छन् ।
लिबाङ बजार खानेपनी उपभोक्ता समितिका अनुसार बजारभित्र रहेका करिब ५ सय उपभोक्ताले आफ्नो घर घरमा पानी आएको देख्न चाहन्छन् तर कति बेला धारो बन्द गर्ने भन्ने बारेमा कुनै चासो नै छैन । समितिका अध्यक्ष मानबहादुर खत्री भन्छन्, 'पानी आएसम्म वास्ता छैन, पानी नआए उपभोक्ता आफैले पाइप काटेर पानी तान्छन् ।' उनका अनुसार दिनदिनै बढ्दै गएका उपभोक्ता संख्यालाई पानीको व्यवस्था मिलाउन नयाँ तरिकाले सोच्न नसके केही वर्षभित्र पानीको अभाव बढ्दै जानेछ ।
लिबाङ बजार खानेपनी उपभोक्ता समितिका अनुसार सदरमुकाम लिबाङमा दैनिक २ सय १० घनमिटर -दुई लाख दस हजार लिटर) पानी खपत हुँदै आएको छ । सदरमुकाममा ल्याउने पानीका साना ठूला गरी ९ वटा ट्याङ्की छन् । ती ट्याङ्कीहरूमा दैनिक रूपमा करिब २ लाख ३० हजार लिटर पानी जम्मा हुँदै आएको छ तर ट्याङ्कीबाट उपभोक्ताका धारासम्म लैजानुअघि नै काटिएका, प्वाल पारिएका र अस्तव्यस्त पारिएका पाइपबाट पानी चुहिएर सकिन्छ । समितिका अध्यक्ष खत्री भन्छन्, 'धारा बन्द गर्ने, आफ्नो पाइपको ख्याल आफै गर्ने तथा पानी चुहिएको थाहा पाउने बित्तिकै कार्यालयमा जानकारी दिने प्रणाली सुरुवात गरे पनि खासै प्रभावकारी हुन सकेको छैन । यसका लागि सबै उपभोक्ता सचेत हुन अझै केही समय लाग्ने देखिन्छ ।'

प्रकाशित : पुस १७, २०७० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?