फोहोर नउठाए आन्दोलन गर्ने चेतावनी

काठमाडौ — टेकुस्थित ट्रान्सफर स्टेसनमा एक महिनादेखि थुपि्रएको फोहोरमैला महानगरपालिकाले नउठाएको भन्दै स्थानीयवासीले आन्दोलनको

चेतावनी दिएका छन् । वर्षायाममा फोहोर नउठ्दा महामारी फैलने डर बढेको उनीहरूको भनाइ छ । टेकुका स्थानीय राजु महर्जनले एक हप्ताभित्र फोहोर व्यवस्थापन नगरे फोहोर ल्याउन नदिने दाबी गरे । 'पूरै वातावरण दुर्गन्धित भएर घरमा बसिनसक्ने अवस्था छ,' उनले भने, 'मानिस बिरामी हुन थालिसके । महानगरपालिकाले नसुनेपछि अब आन्दोलन गर्नुको विकल्प रहेन ।'
महानगरपालिकाको फोहोर बोक्ने गाडी बिग्रेकाले फोहोर थुप्रेको हो । वातावरण विभागका एक कर्मचारीका अनुुसार गाडी मर्मत गर्न अझै एक साता लाग्छ । 'सबैले इन्धनको नक्कली बिल बनाएर पैसा कुम्ल्याउनमात्र जानेका छन् । कार्यकारी अधिकृतलाईसमेत गाडी मर्मत गर्नेतिर मतलव छैन,' ती अधिकारीले भने । महानगरका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले 'यसबारे छलफल' गर्ने प्रतिक्रिया दिए । सहरका विभिन्न भागबाट दैनिक ५ सय मेटि्रक टन फोहोर ट्रान्सफर स्टेसनमा जम्मा हुन्छ । फोहोर बोक्ने ३० कन्टेनरमध्ये २२ वटा मात्र सञ्चालनमा छन् ।
महानगरले मेकानिकल शाखालाई गाडी मर्मत लगायतका लागि वाषिर्क आठ करोड बजेट विनियोजन गर्छ ।  तर, उसले गाडीको मर्मत गर्दैन । करिब नौ वर्षअघि भारत सरकारले दिएका ७ वटा गाडीमध्ये तीनवटा मात्र सञ्चालनमा छन् । जापानले दिएका १७ कन्टेनरमध्ये ११ वटा बिग्रेका छन् । दुई वर्षअघि चीनले दिएका ६ मध्ये एउटा गाडीमात्र सञ्चालनमा छ ।


-    फोहोर नउठाए टेकुमा ल्याउन दिन्नौं - टेकुवासी
-    स्थानीयवासीसँग छलफल गर्छौं - महानगर

प्रकाशित : श्रावण ५, २०७१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?