कहाँ बिलाए विष्ट ?

एलपी देवकोटा

प्रख्यात समाजशास्त्री डोरबहादुर विष्टको अवस्था अज्ञात भएको १९ वर्ष बित्यो । उनी कहाँ हराए, आजसम्म देशका कुनै निकाय वा उनलाई चिन्ने कुनै व्यक्तिलाई थाहा छैन ।

कहाँ बिलाए विष्ट ?
नेपाली समाजशास्त्र र मानवशास्त्रका सूत्रधार विष्टका 'पिपल अफ नेपाल' तथा 'फ्याटालिजम एन्ड डेभलपमेन्ट' पुस्तकहरूले नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान गरेका छन् । विष्टका पुस्तकहरूमा जातीय विभेद, भाग्यवाद, यथास्थितिवाद र ठालुवादले नेपाली समाजलाई निरन्तर विकास र उन्नतिको मार्गतर्फ रोकिरहेको भनी विश्लेषण गरिएको छ ।
विश्वविद्यालयमा पढाएर, पुस्तकहरू लेखेर, अनि देश-विदेशका विश्वविद्यालयहरूमा प्रवचन गरेर नाम र दाम दुबै थोक राम्रैसँग कमाएर काठमाडौंमा आरामको जिन्दगी बिताइरहेका डोरबहादुर विष्ट विकट कर्णाली अञ्चलको एउटा अभावग्रस्त गाउँमा किन पुगे ? यस विषयमा थुप्रै चर्चा र परिचर्चाहरू हुने गर्छन् । तर जुनसुकै कारणले आएका भए पनि डोरबहादुरले कर्णालीमा विकासको सम्भावना र आशा जगाएका थिए । कर्णाली क्षेत्रको विपन्नतालाई चिर्न राष्ट्रको ध्यानाकर्षण गर्न उनको प्रयास सराहनीय थियो ।
मानवशास्त्री विष्टका सोच, सिद्धान्त र अभियानले मानिसको जीवनशैली परिवर्तन गरिदिएर समतामूलक समाजको निमार्ण गर्न शोषण र उत्पीडनमा परेका मानिस र उनीहरूको समाजबीच चेतनाको उज्यालो पुर्‍याउन आवश्यक थियो । त्यस्तो समाज र त्यस्ता मानिसहरूको बस्ती मुलुकका अन्य क्षेत्रको तुलनामा कर्णाली र यस वरपरका जिल्लाहरूमा रहेका थिए । ती बस्तीहरू विष्टका सोच, सिद्धान्त र उपायहरूको राम्रो प्रयोग स्थल बन्न सक्थे । उनी पहिलोपल्ट २०४७ सालको अन्त्यतिर कर्णालीको सदरमुकाम जुम्ला आएका थिए । त्यसपछि उनी २०४८ सालदेखि स्थायी रूपमा नै कर्णाली प्रदेशलाई आफ्नो कर्मथलो बनाउन जुम्लाको पूर्वी क्षेत्र चौधबिसाको डिल्लीचौरमा बस्न थाले ।
जुम्लीको छोरो नहुनु र हुम्लीको भेडो नहुनु भन्ने उखानभित्र लुकेका कर्णालीवासीका कारुणिक र हृदयविदारक जनजीवनका वास्तविकतालाई बुझै विष्टले साँच्ची नै कर्णालीमा विकासको मूल फुटाउने प्रयासको सुरुवात गरे । त्यसका लागि उनले कर्णाली इन्स्टिच्युट नामक संस्था खडा गरेर चौधबिसालाई आफ्नो सामाजिक अध्ययन र व्यावहारिक अनुसन्धानका साथै समाजसेवाको थलो बनाउने निर्णय लिएका थिए । २०४८ सालको असोजमा कर्णाली इन्स्टिच्युटको दुईतले भवन निर्माण भयो । डोरबहादुरले सोही भवनमा बस्दै चौधबिसामा व्याप्त गरिबी, शोषण, अशिक्षा, रोग, भोक र त्यहाँको पछौटेपन विरुद्ध स्थानीय जनतालाई सशक्तीकरण गर्दै मिलेर लड्ने निधो गरे ।
कर्णाली इन्स्टिच्युट सुरु भइसकेपछि चौधबिसाका जनताले आफ्नो बितेको जीवनमा नदेखेका स्वदेशी तथा विदेशी पर्यटकहरू देख्ने मौका पाउन थाले । अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिहरूको चौधबिसामा आवागमन बढ्न थाल्यो । काठमाडौंबाट विदेशी कूटनीतिक नियोगका प्रमुखहरू सरकारी तथा गैरसरकारी विकासे संस्थाका प्रतिनिधिहरू पनि डोरबहादुर विष्टको निम्तोमा चौधबिसामा पुग्न थाले । डोरबहादुरकै हारगुहारमा कैयन् विकासे संस्थाहरूले आफ्ना कार्यक्रमहरू चौधबिसा र यस वरपरका गाविसहरूमा पुर्‍याए ।
कर्णाली इन्स्टिच्युटको स्थापनापछि तिर्खु गाउँमा एउटा विद्यालय बन्यो । त्यही गाउँमा तीन किलोवाट क्षमताको विद्युतगृह स्थापना भई विद्युत सेवा सुरु गरियो । त्यसपछि लामरीमा दस किलोवाट र जमुना गाउँमा चौध किलोवाटको साना जलविद्युत आयोजना सम्पन्न भए । डिल्ली चौरको ऋणमोक्ष माध्यमिक विद्यालयको नयाँ भवन बन्यो । छात्रावासको निर्माण गरियो ।
गाउँमा शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम, खेलकुद, भाषा, साहित्य र संस्कृतिसँग सम्बन्धित कुराहरूको विषयमा कार्यक्रमहरू हुनथाले । जुन कर्णाली अञ्चलका कुनै पनि ठाउँमा त्यस्ता कार्यक्रमहरू यसअघि भएका थिएनन् । त्यतिमात्रै नभई कर्णालीवासीलाई आर्थिक रूपमा सबल बनाउन जडिबुटी प्रशोधनशालाको स्थापना गरियो भने पढ्न-लेख्न नजान्ने बूढापाकाहरूका लागि प्रौढ शिक्षाको सुरुवात भयो । अमेरिकी, क्यानेडियन र युरोपीयनहरूको सहयोग सुरु भयो, जापानीहरूले स्कुल भवन र विद्युतगृहहरू बनाइदिए । यस्तो कार्यको सुरुवातले कर्णालीका मानिसहरूमा विकास, उन्नति र प्रगतिप्रतिको आशा जाग्न थाल्यो, स्थानीय जनताको सहभागिता पनि उल्लेख्य हुनथाल्यो ।
कर्णालीवासीमा शिक्षा र चेतनाको अभिवृद्धि गरी एउटा समुन्नत समाजको निर्माण गर्ने डोरबहादुरको अभियान तबमात्र सफल बन्न सक्थ्यो, जब कर्णालीवासीलाई सदियौंदेखिको यथास्थितिवादको जञ्जिरबाट मुक्त गर्न सकिन्थ्यो । त्यसका लागि एउटै ढर्रामा रहेको जीवनशैली, रहनसहन र मानसिकतामा परिवर्तन आवश्यक थियो । उनले आफ्नो पुस्तक भाग्यवाद र विकासमा बाहुनवादले भाग्यवादी दर्शनको प्रतिपादन गरेर त्यसलाई नेपाली समाजमा लादेका हुनाले नै नेपाली समाज पछाडि परेको हो भन्ने सिद्धान्तलाई अघि बढाउने प्रयास गरिरहेका थिए । उनको यस्तो प्रयास केही मानिसहरूका लागि जहरजस्तै बनिरहेको थियो । डोरबहादुर उनीहरूका आंँखामा शत्रु । उनले बेला-बेलामा आफ्ना अनुभूतिहरू जो पत्रपत्रिकामा प्रकाशित भइरहेका थिए । त्यस्ता अनुभूतिका लेखहरूमा कर्णाली अञ्चलमा आफूलाई काम गर्न अप्ठ्यारो भइरहेको उल्लेख गर्दै आइरहेका थिए । त्यहाँका केही मानिसहरूलाई उनको कामप्रति चित्त बुझेको थिएन ।
चौधबिसामा उनको बसाइ उनका सिद्धान्त, व्यवहारमा उतार्ने पाइलट प्रोजेक्ट थियो । जो सफल हुँदै गइरहेको थियो । जात अनुसारको काम गर्नुपर्छ भन्ने रुढिवादी मान्यतालाई उनले विस्थापित पारिदिएका थिए । दैनिक जीवनयापनका क्रममा आवश्यक पर्ने कुराहरूको सहज पूर्तिका लागि उनले विभिन्न खाले सीप सिकाइदिएका थिए । मजदुरहरूको श्रम अनुसारको उचित ज्याला तोकिदिएका थिए । यसले गर्दा जनताको श्रमशोषण गरिखाने सामन्तहरूलाई पनि उनले सत्य र न्यायको बाटो हिँड्न सिकाएका थिए ।
 त्यसैले उनले छोटो अवधिमै सबैको मन जित्न सफल भएका थिए र सबैले उनलाई बुवा भनेर सम्बोधन गर्ने वातावरण बनेको थियो । बालकदेखि वृद्ध उमेरका सबैले डोरबहादुर विष्टलाई बुवा भनेर आदरका साथ सम्बोधन गर्थे । जुम्लाका जेहेनदार विद्यार्थीहरूलाई उनले काठमाडांैका राम्रा स्कुल र कलेजमा छात्रवृत्ति मिलाएर पढाउन सुरु गरेका थिए । उनले स्थापना गरिदिएको कर्णाली इन्स्टिच्युट चौधबिसामा उनले भौतिक निमार्णका काममात्र गरेनन्, स्थानीय जनतालाई विभिन्न खाले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अन्याय र अत्याचारबाट मुक्त गर्ने प्रयास गरेका थिए । जनतालाई सामन्ती शोषणको घेराबाट मुक्त गरी स्वाभिमानी र आत्मविश्वासी बनाउनु उनको प्रमुख उद्देश्य थियो ।
डोरबहादुर विष्टले २०५२ साल पुस २५ गते जुम्लाको चौधबिसा छोडेका थिए । कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहरालाई इन्स्टिच्युटको जिम्मा लगाई छिट्टै फर्किने बताउँदै उनी पुस २७ गतेका दिन नेपाल वायुसेवा निगमको जहाजबाट जुम्लाबाट नेपालगन्ज गएका थिए । उनी नेपालगन्जबाट आफ्नो घर काठमाडौं नगई बसमा चढी पश्चिम नेपालको बर्दिया हुँदै कैलालीको चिसापानीतर्फ गएको अनुमान गरिएको छ । विष्टलाई कैलालीको चिसापानी जाने बसमा चढाएको बताउने नेपालगन्जका दिनेश श्रेष्ठले विष्ट चिसापानीसम्म पुगेको यकिन भए पनि त्यसपछि कता गए भन्नसक्ने अवस्थामा छैनन् । विष्टको स्थिति अज्ञात भएको अहिले १९ वर्ष पुगिसकेको छ ।
 २०५४ चैत १२ गते उनकी धर्मपत्नीको निधन हुँदासमेत डोरबहादुर विष्टको कहीं कतैबाट सन्देश आएन । उनी हराएकोमा जति पीर उनका परिवारका सदस्यहरूलाई परेको छ, त्योभन्दा कम पीरमा जुम्लाका मानिसहरू छैनन् । त्यहाँको विकास रोकिएको छ । रोजगारी अवरुद्ध भएको छ र शिक्षा, स्वास्थ्य र चेतनाका प्रयास रोकिएका छन् । समग्रमा कर्णालीका जनता विष्टको अनुपस्थितिमा विखलबन्दमा परेका छन् । कर्णालीका जनताका लागि विश्वविद्यालयका रूपमा स्थापना भएको इन्स्टिच्युटको भविष्य पनि अनिश्चित भएको छ । आखिर आफ्नो निजी जीवनलाई रहस्यमय ढंगले लुकाउँदै चौधबिसाका कैयन आशामुखी परिवारलाई अन्योलमा पारेर कहाँ गए होलान्, डोरबहादुर ? सामाजिक र आर्थिक उन्नतिको अपेक्षा गर्दै समग्र कर्णाली क्षेत्र अझै डोरबहादुर विष्टलाई पर्खिरहेको छ ।

प्रकाशित : कार्तिक २२, २०७१ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?