२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अन्त्येष्टिक्रियाको वैदिक स्वरूप

धर्मको ज्ञान अर्थोपार्जन र सुखभोगमा मात्र आसक्त नभएका धर्ममोक्षमा पनि ध्यान दिने आस्तिक जनलाई दिइने कुरा हो, धर्ममा परम प्रमाण श्रुति (वेद) हो

धर्मज्ञानका पात्र र धर्ममा प्रमाण
भन्ने कुरा मनुस्मृतिमा बताइएको छ (२।३) । धर्मको लक्षण जैमिनि मुनिले धर्ममीमांसा सूत्रका प्रारम्भमै 'चोदनालक्षणोऽर्थो धर्मः' (वेदले गर्नु भनेको कर्म धर्म हो) भन्ने गर्नुभएको छ । भागवतमा पनि 'वेदप्रणिहितो धर्मो ह्यधर्मस् तदवपर्ययः । वेदो नारायणः साक्षात् स्वयम्भूरिति शुश्रुम' (६।१।४०) -वेदले गर्नु भनेको कुरा धर्म हो, नगर्नु भनेको कुरा अधर्म हो, वेद साक्षात् नारायण नै हो भन्ने कुरा हामीले सुनेका छौँ) भनिएको छ ।

वैदिक धर्मका प्रामाणिक ग्रन्थ
वेद भने पनि उपनयन (व्रतबन्ध) भएपछि पढिने आफ्ना शाखाका वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र, धर्मसूत्र इत्यादि ग्रन्थ धर्ममा मुख्य प्रमाण हुन् । ती ग्रन्थका अनुकूल र अविरोधी भएमा मात्र अरु वचन प्रमाण हुन्छन् । ब्राह्मणका वेदशाखासूत्र निश्चित हुन्छन् । ब्राह्मणले आफ्ना वेदशाखासूत्र अनुसार नै धार्मिक कर्म गर्नुपर्छ । त्यसमा बाधा नपार्ने अरु थप धर्मकर्म पुराणअनुसार गरे पनि हुन्छ, नगरे पनि हुन्छ । आफ्ना शाखासित मेल नखाने कर्म त गर्न हुँदैन । यो मूल वैदिक धर्मकर्म मार्ग हो । नेपालमा यो मार्ग राम्ररी बुझेका पण्डित दुर्लभ छन् ।

शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखा
नेपालका अत्यधिक ब्राह्मणको शाखा शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखा हो । शतपथब्राह्मण, कात्यायनश्रौतसूत्र र पारस्करगृह्यसूत्र यसै शाखाका हुन् । कात्यायन श्राद्धकल्पसूत्र पारस्करगृह्यसूत्रकै अविच्छेद्य परिशिष्ट हो । यस शाखाका अनुयायीले यिनै ग्रन्थअनुसार अन्त्येष्टिक्रिया गर्नुपर्छ । आस्तिक जनलाई सुविधा पुगोस् भनी स्वाद्ध्यायशालाले प्रस्तुत गरेको र रत्नपुस्तक भण्डारले प्रकाशित गरेको (-२०६५) अन्त्यकर्म पद्धतिका भूमिकामा (पृ.७९­­-९१) ती ग्रन्थका सम्बद्ध प्रकरणहरू र गर्नुपर्ने अन्त्येष्टिक्रियाका विषयहरू देखाइएका छन् ।

पारस्करगृह्यसूत्रको अन्त्येष्टि विषयको विधान
गृह्यसूत्र वेदका अविच्छेद्य अङ्ग र वेदतुल्य ग्रन्थ हुन् । त्यसैले धर्ममा आफ्ना शाखाको गृह्यसूत्र अन्य शाखाका वेदभन्दा पनि बलिया प्रमाण मानिन्छन् । अतः अब यहाँ पारस्करगृह्यसूत्र अनुसार बाबुआमाको अन्त्येष्टिक्रिया कति दिनसम्म गर्नुपर्छ भन्ने विचार गरौँ । पारस्करको 'गुरौ प्रेतेऽपोऽभ्यवेयात्, दशरात्रं चोपरमेत्' (२।११।७) भन्ने वचनमा गुरु (विधिपूर्वक वेद पढाउने गुरु, पिता, माता र पति) बितेमा दस दिन स्नानादि गर्ने र वेदको अध्ययन नगर्ने विधान छ । त्यसैले श्रौत अग्नि नलिएका पितामाताको दस दिनसम्म अञ्जलीदानादि गर्नुपर्छ । श्रौत अग्नि लिएका पितामाताको भने तीन दिन मात्र अञ्जलीदानादि हुन्छ । दुवैथरी पितामाताको 'एकादश्यामयुग्मान् ब्राह्मणान् भोजयित्वा..' (३।१०।४८) भन्ने विधानअनुसार एघारौँ दिनमा एकोद्दिष्ट श्राद्ध गर्नुपर्छ र अन्त्येष्टिक्रिया पूर्ण हुन्छ । कर्म चलेर बितेका यस शाखाका द्विजातिको ११ दिन नभई अन्त्येष्टिक्रिया पूर्ण हुँदैन । शास्त्रमा श्रद्धा नभएकाहरूले लौकिक रूपमा जे गरे पनि त्यो तिनको इच्छामा भरपर्ने कुरा भयो । शास्त्रका दृष्टिमा भने शास्त्र छाडेर मनलाग्दी गर्नेको किरिया गर्न पनि पर्दैन, जुठो बार्न पनि पर्दैन । यो कुरा स्कन्दपुराणका आवन्त्यखण्डमा स्पष्ट रूपमा भनिएको छ, 'ये शास्त्रविधिमुत्सृज्य वर्तन्ते कामचारतः । कृमियोनिं प्रपद्यन्ते तेषां पिण्डो न च क्रिया' (३।४३।२१) अर्थात् 'जो शास्त्रको विधान छाडेर आफ्ना इच्छाअनुसार गर्छन्, तिनीहरू किराका जुनीमा पुग्छन्, तिनको पिण्डपानी पनि गर्न पर्दैन र अरु आशौच बार्ने इत्यादि औध्र्वदेहिक कुनै क्रिया पनि गर्न पर्दैन ।'

वर्ष दिनसम्मको कर्म
कर्म चलेर बितेका उक्त प्रकारका द्विजातिका लागि एक वर्षसम्म प्रतिदिन अन्नयुक्त जलकुम्भको दान पनि 'अहरहरन्नमस्मै ब्राह्मणायोदकुम्भं च दद्यात्' (३।१०।५४) भन्ने पारस्करका विधानअनुसार गर्नुपर्छ । यो कर्म ३६५ खोचा बगाएर सिद्ध्याउनु अशास्त्रीय हो । वर्षदिनसम्म सेता वस्त्र लगाउनुपर्ने चलन सात्त्विक भाव विकसित गर्न चलाइएको हो । ब्राह्मणले सदैव सेता वस्त्र लगाउनुपर्ने शास्त्रीय निर्देश छँदैछ । रङको वैज्ञानिक अध्ययन गर्नेले यसको रहस्य केही बुझ्न सक्छन् ।

सपिण्डीकरण
पार्वणश्राद्ध गर्ने उत्तराधिकारीले पुरुषको सपिण्डीकरण गर्नुपर्छ । यो कर्म मुख्यतया वर्षदिन पुगेपछि गर्ने विधान 'ततः संवत्सरे पूर्णे, त्रिपक्षे, द्वादशाहे वा यदहर्वा वृद्धिरापद्येत' इत्यादि श्राद्धसूत्रवचनले गरेको छ । विशेष अवस्थामा पैँतालिसौँ दिनमा वा बाह्रौँ दिनमा वा वृद्धिश्राद्ध गर्नैपर्ने आवश्यकता जहिले आइपर्छ, तहिले गर्न सकिन्छ । पारस्करको 'पिण्डकरणे प्रथमः पितृणां प्रेतः स्यात् पुत्त्रवांश् चेत्' (३।१०।५०) भन्ने विधानको विचार नगरीकन अरुका पछि लागेर बाह्रौँ दिनमा सपिण्डीकरण गर्नेे चलन स्वशाखाको अनुकूल हैन । तेह्रौँ दिनमा शुद्धशान्ति गर्ने कुरा स्वशाखामा नभएकाले छोड्न सकिने कुरा हो ।

निर्णयसिन्धु र धर्मसिन्धु धर्मशास्त्र हैनन्
अन्त्येष्टि सम्बन्धी कुराका शास्त्रोक्त निष्कर्षहरू हाम्रा उक्त अन्त्यकर्म पद्धतिका नेपाली भूमिकामा (पृ.१-१२७) छन् । शास्त्रमा श्रद्धा भएकाहरूले ती कुरा पढेर चिन्तन-मनन गर्नुपर्छ । शास्त्रको मेलोमेसो नपाएका व्यक्तिले शास्त्रोक्त कुरा नबुझी निर्णयसिन्धुमा यसो भनेको छ भनी गरेको कुरा मान्न हुँदैन । निर्णयसिन्धु र धर्मसिन्धु शास्त्र हैनन्, व्यक्ति विशेषका समझअनुसार गरिएका व्याख्यामात्र हुन् ।

धर्मको निर्णय कसले गर्ने ?
धार्मिक आध्यात्मिक विषयमा निर्णय दिनु हुलको काम हैन । मनुस्मृतिमा 'वेदज्ञ ब्राह्मण एक जनाले पनि वेदोक्त धर्म यो हो भनेर जो निर्णय दिन्छ, त्यो नै परम धर्म हो, वेद नजान्नेहरूको त हजारौँका हुलले भनेको कुरा पनि धर्म हैन' भनिएको छ- 'एकोऽपि वेदविद् धर्मं यं व्यवस्येद् द्विजोत्तमः । स विज्ञेयः परो धर्मो नाऽज्ञानामुदितोऽयुतैः (१२।११३) । त्यसैले महाभारतमा (१२।१९३।३२) पनि धर्मकर्म गर्दा हुलको अपेक्षा नगर्नु, शास्त्रका विधिका आधारमा एक्लै धर्मकर्म गर्नु भनिएको हो । तसर्थ धर्मकर्मका सम्बन्धमा हस्ताक्षर आन्दोलन चलाउनु, लाख जनाको हस्ताक्षर बुझाएर संसदलाई धर्मकर्मका नियम बनाउन लगाउने विचार गर्नु अत्यन्त अनुचित कुरा हो ।

शासकले धर्मका क्षेत्रमा हात हाल्ने हैन
याज्ञवल्क्यस्मृतिमा राजाले ब्राह्मणलाई 'शास्त्रोक्त आफ्नो धर्म गर्नुहोस्' भन्ने हो भनिएको छ (१।१८५) । शास्त्रीय व्यवस्था यस्तै भएकाले जयस्थिति मल्लले पनि अरु जातिका लागि आफूले स्थिति बाँधे पनि ब्राह्मणलाई त 'श्रुतिस्मृतिले ब्राह्मणले यसो गर्नु भनेको काम ब्राह्मणले गर्नु, यसो नगर्नु भनेको काम नगर्नु' भनी व्यवस्था गरेको इतिहास छ । अहिले पनि शासकको अधिकार क्षेत्र राष्ट्रको भौतिक पक्षको व्यवस्थापन मात्र हो । धार्मिक क्षेत्रमा शासकले हात हाल्ने हैन ।

सनातनीका निम्ति अमान्य मत
आर्यसमाजी दयानन्द सरस्वतीको सत्यार्थप्रकाशका स्वमन्तव्यामन्तव्यप्रकाश भन्ने प्रकरणमा दोस्रो सङ्ख्यामा ब्राह्मणग्रन्थलाई वेद नमान्ने कुरा छ, सत्ताइसौँ सङ्ख्यामा 'दाह के पश्चात् मृतक के लिए कुछ भी न करना चाहिए' भनिएको छ, सोह्रौँ सङ्ख्यामा 'वर्णाश्रम गुणकमोर्ं की योग्यता से मानता हुँ' भनिएको छ । यी कुरा जैमिनिप्रणीत धर्ममीमांसासूत्रको र बादरायणप्रणीत ब्रह्ममीमांसासूत्रको तथा अरु वेद- वेदाङ्ग- स्मृति-पुराणेतिहासका पनि प्रतिकूल कुरा हुन् । त्यसैले जन्मना जाति मान्ने वैदिक-सनातन- वर्णाश्रमधर्मानुयायीहरू दयानन्दका र तिनका अनुयायीका भनाइ वेदादिशास्त्रसम्मत हुन् भन्ने मान्दैनन् । अतः तिनले भनेको अन्त्येष्टिक्रिया पनि सनातनीलाई मान्य हुँदैन । अहिलेका गेरुवाधारी कथित धर्मगुरुले भनेर पनि हुँदैन, आफ्ना वेदशाखासूत्रको व्यवस्था नै मान्य हुन्छ । कोही अन्त्येष्टिक्रिया २-४ सय वर्षअघि बनेको गरुडपुराणका आधारमा चलेको हो भन्ने भ्रममा छन्, कोही १३ वर्षबाट १३ महिना हुँदै १३ दिनमा छोट्याइएको भन्ने भ्रममा छन् । यो भ्रम हाम्रो शिक्षाको दुरवस्थाले गर्दा भएको हो ।

धर्मसम्बद्ध भ्रम हटाउने वैदिक शिक्षा
वैदिक सनातन वर्णाश्रमधर्मानुयायी ब्राह्मणको उपनयन गरेको नै वेदमन्त्रसंहिता, ब्राह्मणग्रन्थ, श्रौतसूत्र, गृह्यसूत्र र अरु वेदाङ्गस्मृतिहरू पढ्न पढाउनका लागि हो । यो वैदिक शिक्षा पद्धतिको परम्परा बचाउनसकेको भए आआफ्ना मूल ग्रन्थहरूबाट नै ब्राह्मणादिले अन्त्येष्टिक्रिया कति दिन गर्नुपर्छ भन्ने कुरा बुझ्थे । भ्रम फैलने थिएन । यस्तै भ्रम हटाई मूल वैदिक परम्पराको प्रामाणिक ज्ञान दिन स्वाद्ध्यायशालाले वैदिक धर्म मूल रूपमा (२०६२), वैदिक हिन्दु धर्मसंस्कृति (२०६५), अन्त्यकर्मपद्धति (२०६५), ब्रह्मयज्ञपद्धति (२०५९), विस्तृत हिन्दीभूमिका र अनुवाद भएको मूलगरुणपुराण (प्रेतकल्पात्मक) इत्यादि ग्रन्थ प्रकाशित गरे-गराएको हो । वेदादिशास्त्रमा श्रद्धा भएका व्यक्तिले ती ग्रन्थ पढे सबै कुरा स्पष्ट बुझिन्छ ।

प्रकाशित : मंसिर ६, २०७१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?