१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गहना बनाउन पोख्त बन्दै महिला

प्रदीप मेन्याङ्बो

धरान — सामान्यतया सुनचाँदीका गहना बनाउने कालिगढ पुरुष हुन्छन्। तर अचेल महिला पनि यस्तो काममा पोख्त हुन थालेका छन्।

उनीहरूले सीप सिकेर आफूलाई आत्मनिर्भर बनाउन थालेका छन्।
सहरी क्षेत्रमा खोलिएका सुनचाँदी पसलमा पनि गहना बनाउने काम स्थानीय पुरुष वा भारतीय नागरिक कालिगढका रूपमा छन्।
सुनचाँदीको गहना बनाउने कालिगढ पेसामा धरान ११ पशुपतिमार्गकी बस्ने ३५ वषर्ीया विष्णु गहतराजलगायत चार जना महिलाले अपनाएर 'फरक' काम गरेकामा गर्व लागेको बताए। दलित समुदायमा पनि पुरुषले मात्र गर्ने काम भएकाले महिलाहरूले हत्तपत्त उक्त पेसा अपनाउन सकिरहेका थिएनन्। विष्णु गहतराजले भनिन्, 'नेपाली समाजमा गहनाको डिजाइन र तयारी पुरुष कालिगढले गर्छन् अनि महिलाले बढी लगाउँछन्। मैले सोचें महिलाले लगाउने गहना महिलाले बनाउँदा झन् राम्रो होला भनेर यो पेसामा लागेको हो।' उनले सुनको गहना बनाउन थालेको आठ वर्ष भयो।
उनका अनुसार कालिगढको तालिम सिकेर सुरुका दिनमा सुनको टुक्रा गाँसेर सिक्री बनाउन निकै गाह्रो भयो। सिक्री बनाउन तयार गरिएका सुनका साना-साना टुक्रा टिप्न आँखा तगडा हुनुपर्छ। उनले भनिन्, 'सानो एक टुक्रामात्र हराएमा पनि आफंैले बेहोर्नुपर्ने भएकाले सुरुमा कालिगढ पेसा अपनाउन गाह्रो भयो।'
उनीसँगै ३२ वषर्ीया अम्बिका बराइली र २३ वषर्ीया मीरा बराइली पनि सुनको सिक्री र नौगेडी, जन्तर र मंगलसुत्र बनाउने काम गर्छन्। उनीहरूलाई धरानस्थित बराह ज्वेलरी इन्डस्टि्रजले कालिगढ पेसा अपनाउने अवसर दिएको हो। सुनको जन्तर बनाइरहेकी बराइलीले भनिन्, 'सुनचाँदीका गहना बनाएपछि अरू महिलाले लगाएको देख्दा खुसी लाग्छ।' उनीहरू सबैले न्यूनतम मासिक ८ हजार रुपैयाँ कमाउने गर्छन्। उनका पति पनि सुनका गरगहना बनाउने कालिगढ हुन्।
दुई वर्षदेखि कालिगढका रूपमा कार्यरत मीरा बराइलीले भनिन्, 'तालिम गरेर गहना बनाउने काम सुरु गर्दा यस्तो काम त पुरुष कालिगढले गर्ने हो भने। यसो भन्दा कालिगढ पेसा बेकारमा अपनाइएछ भन्ने लाग्यो। तर पछि बानी बस्दै गयो।' उनले पुरुषले गर्ने काम गरेर 'फरक' काम गरेछु भन्ने लागेको बताइन्। उनका पति पदम बराइली पनि बराह ज्वेलरी इन्डस्टि्रजमा सवारी चालक भएकाले एउटै कम्पनीमा काम गर्दा सहज भएको छ।
एकै ठाउँ बसेर पति र पत्नीसँगै कालिगढ पेसा अपनाउने भएकाले उनीहरूको कमाइले घर व्यवहारमात्र नधानेर छोराछोरीलाई राम्रो बोर्डिङमा पढाउन पुगेका उनीहरूले बताए। श्रीमान्को कमाइले घर व्यवहार र छोराछोरीलाई पढाउन पुग्छ भने श्रीमतीको कमाइ बचत गर्ने गरेको बताए।

प्रकाशित : मंसिर २०, २०७१ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?