कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ शक्ति चाहिन्छ कि चाहिँदैन ?

अबको विकल्प केवल नयाँ भएर पुग्दैन, त्यसले आउँदो निर्वाचनमा कम्तीमा सामान्य बहुमत ल्याउनैपर्छ ।
रवीन्द्र मिश्र

भारतमा आम आदमी पार्टीको पुनरोदयले नेपालमा नयाँ शक्तिको बहसलाई फेरि एकपटक चर्चामा ल्याइदिएको छ ।

नयाँ शक्ति चाहिन्छ कि चाहिँदैन ?
क्षणिक रहने यस्ता चर्चा आउँछन् र जान्छन् । तर नयाँ शक्तिबारेको छलफल केही वर्षयता केही समूहहरूमाझ बेलाबखत भएपनि एक वर्ष यताचाहिँ त्यसबारे गम्भीर गृहकार्य भैरहेको देखिन्छ । प्रयास गरेका सबै काम सफल हुनुपर्छ भन्ने छैन र विफलतालाई सहजतापूर्वक स्वीकार्नुमा जिन्दगीको सौन्दर्य निहित हुन्छ । तर, विफल भइएला भन्ने डरले गर्नैपर्ने प्रयास नगर्नुचाहिँ हरूवा मानसिकताको परिचायक हो ।
होइन भने एउटा कुरा झन् झन् स्पष्ट हुँदै गएको छ : यो देशको उत्साहजनक परिवर्तन हाम्रै जीवनकालमा हेर्ने हो भने देशभित्र र देशबाहिर रहेका सक्षम, इमानदार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरूले अब एकजुट भएर राजनीतिक रूपमै हस्तक्षेप गर्न अत्यावश्यक भैसकेको छ । जहाँ दशकौंसम्म विकृत नेतृत्वहरू विकासका कुरा गर्छन्, जहाँ दशकौंसम्म अपारदर्शी जीवन र पार्टी चलाउनेहरू पारदर्शिताका भाषण छाँट्छन्, जहाँ नेताहरू प्रतिकूलतालाई सधैं आफ्नो विफलताको कारक ठान्छन् र जहाँ विवेकीहरू विश्लेषण गररे बस्छन्, तर अर्थपूर्ण हस्तक्षेप गर्न डराउँछन्, त्यहाँ सम्पन्नताको भरपुर सम्भावना भएर पनि नेपालजस्ता देशहरू गरिबीको जाँतोमा पिल्सिएर बस्छन् ।
यो परिस्थितिलाई अधिकांश नेता तथा कैयौं बुद्धिजीवीहरू देशको ऐतिहासिक, सांस्कृतिक, भूराजनीतिक परिस्थितिका आधारमा व्याख्या गरिनुपर्छ भन्ने तर्क गर्छन् । कतिपयले मलाई बारम्बार प्रश्न गरेका छन्, युरोपमा स्थिरता, विकास र समृद्धिका लागि कति सय वर्ष लाग्यो ? हतार गरेर हुन्छ ? तिनलाई प्रतिप्रश्न गर्न सकिन्छ, हाम्रा छिमेकी र छिमेकीका छिमेकीको विकास एकै पुस्ता अर्थात केही दशकभित्रै कसरी सम्भव भयो, विकासको मामिलामा हतार नगरी हुन्छ ? दस लाख मानिसको ज्यान जानेगरी भएको सन् १९८४ को भोकमरी, अनि त्यो सँगसँगै चलेको विखण्डनकारी युद्धले विछिप्त इथियोपियालाई अहिले एउटा अफ्रिकी बाघको रूपमा हेरिन्छ र उसले सन् २०२५ सम्ममा मध्यम आयको मुलुक बन्ने महत्त्वाकांक्षी लक्ष्य लिएर तीव्र आर्थिक प्रगति गरिरहेछ । के त्यहाँको स्थिति अनुकूल थियो ? सन् १९९० को मध्यतिर झन्डै १० लाख मानिसको ज्यान जानेगरी गृहयुद्धले ध्वस्त बनाएको अर्को भूपरिवेष्टित अफ्रिकी राष्ट्र रुवान्डा अहिले कसरी उल्लेख्य आर्थिक प्रगतिको बाटोमा दौडिएको छ ? के त्यहाँको स्थिति अनुकूल थियो ? त्यस्तो प्रश्न गर्दा कतिपयले भन्नेछन्, ती अधिकांश नरम तानाशाही व्यवस्थाका कारण सम्भव भएको हो । के तपाईंले पनि देशमा तानाशाह खोजेको हो ? उत्तर स्पष्ट छ : होइन । यो देशमा अब कोही पनि सर्वसाधारण, बुद्धिजीवी या राजनीतिकर्मीले तानाशाहको झनिो सपनासम्म पनि नदेखे हुन्छ । देश यति ब्यापक रूपमा राजनीतीकरण भैसक्यो कि अब गृहयुद्ध जस्तो चरम परिस्थितिमा बाहेक अन्य स्थितिमा यो देशमा तानाशाहको उदय र स्थायित्व कल्पनै नगरे हुन्छ ।
तर बुझ्नुपर्ने कुरा के हो भने विकास र स्थिरताका लागि तानाशाह आवश्यक छैन । विकास र स्थिरताका लागि दुई/तीन सय वर्षको अस्थिरता र उथलपुथल पनि आवश्यक छैन । विकासका लागि पद्धति, पारदर्शिता र समृद्धिको एजेन्डा बोकेका सक्षम, इमानदार, दूरदृष्टिपूर्ण र नेतृत्व क्षमता भएका नेपालीहरू एकजुट भएर तिनले राजनीतिक रूपमा हस्तक्षेप गरे पुग्छ । वर्तमान राजनीतिक शक्तिहरूलाई सुदृढ गरेर हाम्रै जीवनकालमा परिस्थिति बदल्न खोज्नु समय, ऊर्जा, ज्ञान र विवेक सबैको विनासमात्र हुनेछ ।
हो, आजका अधिकांश नेताहरूले अहिले नयाँ शक्ति चाहने जमातले बोकेको जस्तै आदर्श बोकेरै राजनीति सुरु गरेका थिए । तिनले प्रतिकूल परिस्थितिमा पनि धेरै दु:ख बेहोरेर अनौठो साहस देखाए । तर तिनले आफ्नो आदर्श संस्थागत गर्नका लागि सबभन्दा महत्त्वपूर्ण पक्ष पद्धति र पारदर्शिता हो भन्ने कहिल्यै बुझेनन् र दशकौंसम्म तिनले त्यो महत्त्वपूर्ण पाटोलाई अंगीकार गर्न सकेनन् । उनीहरूलाई वास्तविक लोकतन्त्र देशका लागिमात्र चाहियो, आफू र आफ्नो पार्टीको लागि भने देखावटी लोकतन्त्र भए पुग्यो । त्यसै गर्दा उनीहरूको भविष्य सुनिश्चित हुन्थ्यो ।
सबै पार्टीमा पद्धति र पारदर्शिताको महत्त्व बुझ्नेहरू नभएका होइनन्, तर तिनको संख्या अत्यन्त न्युन छ र ती अधिकांश आफ्नो राजनीतिक भविष्य सुनिश्चित राख्न पुराना नेताको लाचार छायामात्र बनेका छन् । तिनले आउँदा धेरै वर्षका लागि चाहेर पनि पार्टीहरूको राजनीतिक संस्कार बदल्ने क्षमता राख्दैनन् । पार्टीभित्रको राजनीतिक भर्याङ चढन र मन्त्री बन्नमात्र राजनीति गरेको हो भने ठिकै छ, नत्र पार्टी राष्ट्र निर्माणको साधनमात्र हो, साध्य होइन भन्ने बुझ्न जरुरी छ । त्यसबाट गन्तव्यमा पुग्न सकिँदैन भन्ने लाग्छ भने अब सुरुदेखि नै पद्धति र पारदर्शिताको जगमा बन्ने नयाँ शक्तिको निर्माणमा सामेल हुन जरुरी छ । नत्र राजनीतिज्ञको रूपान्तरण होला, समग्र देशको रूपान्तरणचाहिँ असम्भव हुनेछ । उच्च र स्वच्छ छवि भएका केही राजनीतिज्ञहरू नयाँ शक्तिको अभियानमा सकारात्मक देखिनु खुसीको विषय हो ।
नयाँ राजनीतिक शक्तिको बहसकै क्रममा कतिपयले अहिलेका दलहरू विफल भइनसकेको टिप्पणी गर्ने गरेका छन् । नयाँ शक्ति चाहिएला या नचाहिएला भन्ने बहस आफ्नै ठाउँमा छ र त्यो भद्र रहोस् भन्ने कामना गरौं । तर विश्व राजनीतिको यो कालखण्डमा आएर देशलाई निम्न आय भएको राष्ट्रबाट मध्यम आय भएको राष्ट्रमा दशकौंसम्म पनि उठाउन नसक्नुलाई हरेक देशका भिन्न भिन्न विशिष्ट ऐतिहासिक, सांस्कृतिक र भूराजनीतिक परिस्थिति हुन्छन् भन्ने तर्क गर्दै आफ्नो कमजोरीमा खोल हाल्न खोज्नु गलत हुनेछ । त्यसैले कतिपयलाई नमिठो लाग्ला, तर हाम्रा राजनीतिक दलहरू दशकौंदेखि विफल नै भएका हुन् ।
यति भन्दै गर्दा एउटा तथ्य उल्लेख गर्नैपर्छ, राजनीतिक दलहरूभन्दा बढी विफल पञ्चायतकालका राजा वीरेन्द्र हुन् जसले बेलायत र अमेरिकामा पढेर स्वविवेकले नेपाललाई न सहभागितामूलक समावेशी लोकतन्त्र, न तीव्र विकासको दिशामा डोर्याउन सके । उनले २०२८ सालदेखि ०४६ सालसम्म झन्डै १८ वर्ष एकछत्र शासन गरे । त्यो अहिलेको जस्तो अस्थिरता, राजनीतिक चेतना, आक्रोश, उग्रता र प्रतिरोधको समय थिएन । शासकहरूले ठूलो अवरोधबिनै विकासका अनगिन्ती काम गर्न सक्थे । तर उनले त्यो दृढता र नेतृत्व क्षमता कहिल्यै देखाउन सकेनन् । २००७ सालपछिको नेपालमा सबभन्दा स्थिर झन्डै दुई दशक लामो त्यो कालखण्डमा प्रजातन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र आर्थिक समृद्धिको क्षेत्रमा देशले ठूलो फडको मार्न सक्थ्यो । दुर्भाग्यवश त्यो भएन । नेता असल हुनुपर्छ, तर असल हुँदैमा सबै नेता हुनसक्दैनन् । राजा वीरेन्द्र असल तर विफल नेता थिए । उनलाई राजा भए पनि नेता भन्न मिल्छ, किनभने राज्यको सम्पूर्ण शक्तिको स्रोत उनै थिए । त्यसैले हामीकहाँ नेतृत्व विफलताको लामो शृङखला छ । त्यो विफलताको औचित्य दर्शाउन दुई ध्रुवमा बाँडिएर कि त अहिलेको नेतृत्वको बचाउ र राजतन्त्रको तीव्र आलोचना वा अहिलेको नेतृत्वको तीव्र आलोचना र राजतन्त्रको बचाउ गर्नुपर्दैन । दुबै दोषी छन् । अनि हामी अलिअलि पढेलेखेका, देखेसुनेका वर्गको पनि कम दोष छैन ।
हामी अधिकांशले हाम्रा भाइ बहिनी, छोरा छोरी सबैलाई सफल पेसाकर्मी बनाउन चाह्यौं । राम्ररी पढाउन, विदेश पठाउन, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राम्रो जागिर खुवाउन या व्यापार गराउन चाह्यौं । यो देशमा सबै भ्रष्ट छन्, एकजना मात्र आदर्श भएर केही हुँदैन भनेर तिनको दिमागमा भरिदियौं र तिनलाई नजानिंँदो रूपमा भ्रष्ट हुन प्रेरित गर्यौं । यो देशमा केही हुँदैन, उतै बस् भनेर उनीहरूलाई सकभर विदेशतिरै राख्न चाह्यौं । सधैं राजनीतिको चर्चा र विश्लेषण गर्यौं तर राजनीति फोहोरी खेल हो, त्यसमा हातै हाल्न हुन्न भनेर उनीहरूलाई हुर्कायौं, बढायौं । हाम्रा अभिभावकहरूले पनि हामीलाई त्यसै गरे । आफ्नै खुट्टामा उभिने क्षमता र स्वाभिमान नभएका व्यक्तिहरूले समाज र देशलाई आफ्नो खुट्टामा उभ्याउन असम्भव हुन्थ्यो, तर हामीले आफूले होइन, सधैं अरुले नै त्यो स्थिति बदलिदेओस् भन्ने चाह्यौं । व्यक्तिगत र पार्टीगत दुबै जीवनमा पद्धति र पारदर्शिता अवलम्बन नगर्ने बहुसंख्यक भ्रष्ट र असक्षमहरूको हातमा बागडोर सुम्पिएर हामी राजनीतिमा स्वसुधारको अपेक्षा गरेर बसेका छौं ।
त्यसो गर्नु हाम्रो भूल हो जुन सुधार्न अब विकल्पको बाटो खोज्नु अपरिहार्य छ । यद्यपी अबको विकल्प केवल नयाँ भएर पुग्दैन, त्यसले आउँदो निर्वाचनमा कम्तीमा सामान्य बहुमत ल्याउनैपर्छ । नत्र दुई, तीन, चार, पाँच नम्बरका शक्तिहरू यो देशमा जति भए पनि छन्, देशको नेतृत्वमै पुग्ने विश्वास नहुने हो भने नयाँ शक्तिका लागि समय, ऊर्जा, ज्ञान, विवेक, स्रोत साधन र जीवन अर्पण गरिरहनुपर्दैन ।
ठीक छ, अझै पनि कसैलाई वर्तमान राजनीतिक दलहरूमै सुधार गरेर परिवर्तन सम्भव छ भन्ने लाग्छ भने उनीहरूलाई प्रतीक्षा गरेर बस्ने छुट छ । त्यो अधिकारलाई सबैले सम्मान गर्नुपर्छ । तर जसलाई त्यो विश्वास छैन, उनीहरू एकताबद्ध हुनुपर्ने बेला आइसकेको छ । तर त्यो ऐक्यबद्धता जनाउनेहरूले संविधान समयमा नबनिरहेको धमिलो पानीमा माछा मार्ने मानसिकता राख्नु भूल हुनेछ । संविधान बनेन भने त्यो राष्ट्र र सम्भाब्य नयाँ शक्तिका लागि घातक हुनेछ । कुनै विषयमा विमति भए पनि नयाँ शक्ति अब बन्ने संविधानको दायराभित्रै बसेर काम गर्न तयार हुनुपर्छ, किनभने देशलाई सधैं संवैधानिक संघर्षको बन्धक बनाउनु हुँदैन । देश सधैं सिद्धान्त र दस्तावेजको लडाइँमा अल्झिएर बस्न सक्दैन । कतिपयले भन्लान्, संविधान बनिसकेपछि त पुरानै शक्तिहरूले काम गर्न सकिहाल्छन् नि ! त्यसो होइन । दशकौंसम्म चेतनाको नक्सा बदल्न नजान्नेहरूले राज्यको नक्सा बदल्दैमा देश बन्दैन । त्यसैले देश बनाउने हो भने नयाँ शक्ति त चाहिन्छ, चाहिन्छ । नयाँ शक्तिको घोषणा गर्न ढिलो भैसक्यो भन्नेहरू पनि नभएका होइनन् । तर सामाजिक सञ्जालको प्रतिक्रिया हेरेर कोही बहकिन खोज्यो भने नयाँ शक्ति विगतमा घोषणा गरिएका कैयौं राजनीतिक दलहरूझैँ अस्तित्वमा त आउनेछ, तर त्यसले नम्बर एक भएर देशको नेतृत्व भने गर्नसक्ने छैन । त्यसैले गम्भीर गृहकार्यको आवश्यकता छ ।
नयाँ शक्तिको आधार, दर्शन, संगठनात्मक स्वरूप, पृथकता, चुनौती, रणनीति र राष्ट्र निर्माणको योजनाबारे गृहकार्य हुँदै गर्दा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले त्यस्तो शक्ति चाहिन्छ कि चाहिँदैन भन्नेबारे स्पष्ट हुन नितान्त जरुरी देखिन्छ । एउटा कुराचाहिँ प्रस्ट भए हुन्छ : नयाँ शक्तिको सोचसँग जोडिएको चुनौतीको पहाडले धेरैलाई अत्याउन सक्छ, तर चुनौती सामना नगरी संसारमा शान्ति, स्थिरता र विकास कहाँ नै सम्भव भएको छ र ? अरुले हाम्रोभन्दा धेरै गम्भीर चुनौती एकै पुस्तामा सामना गरेका छन् भने नेपालीले मात्र सामना गर्न नसक्ने भन्ने प्रश्नै उठदैन । त्यसका लागि तयार हुने कि नहुने ?

प्रकाशित : फाल्गुन ५, २०७१ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?