नेपाल, पात्र र भारत

अभि सुवेदी

दक्षिण एसियामा कस्ता नेपाली व्यक्ति र पात्र परिचित छन् भन्ने धेरै छलफल नभएको विषय रहेछ ।

नेपाल, पात्र र भारत
विषय निकै ठूलो भएकोले म एउटा सानो लेखमा धेरै भन्न सक्ने धृष्टता गर्न चाहन्न । आफ्ना एकाध अनुभवहरू र विचारहरू राख्न यो विषय लेखेको छु । भारतमा साधारण रूपमा नेपालका केही पात्रहरूबारे चर्चा गरिन्छ । ती पात्रहरू राजनीतिमा धेरै छन् । साहित्यमा थोरैमात्र परिचित छन् । मेरा अनुभवहरू साहित्यसँग जोडिएका छन् । त्यसमा पनि सेमिनारमा प्रस्तुत हुने पत्रहरू र अरु अनुभवमा आधारित छन् ।
आग्रामा फेबु्रअरी दोस्रो हप्तामा भएका साहित्यिक कार्यपत्रहरूको प्रस्तुतिलाई लिएर कुरा आरम्भ गर्छु । नेपालबाट युवा विद्वानहरू केशव सिग्देल र मेघराज अधिकारीले सीमान्त जीवन र हिंसामाथि कार्यपत्र लेखे । तिनीहरूले सेमिनारको विषयमाथि निकै जटिल छलफलहरू राखे । केशवले भारतीय र नेपाली साहित्यिक पाठ र संस्मरणको आधारमा इतिहासमा सीमान्त हिंसाका चरित्र र परिणामका कुरा राखे । मेघराजले नगर र निर्मित संस्कृतिभित्रका रचनात्मक चरित्रका चर्चा गर्दै निर्माण र प्रयोगका नेपाली र भारतीय उदाहरण राखे । त्यसै सिलसिलामा मैले पनि कार्यपत्र प्रस्तुत गरेँ । मेरो मूल खोजी यस भेगमा खासगरी भारतमा आफ्नो व्यक्तित्व बनाएर प्रस्तुत भएका नेपाली पात्रहरूको विषयमा थियो । प्राध्यापक र विद्वान आलोक भल्लाले मलाई त्यहाँ भनेअनुसार अहिले खुलेको दिल्लीमा रहेको सार्क विश्वविद्यालयको अवधारणासँग पनि यो विषय जोडिएको छ । उनी अहिले दक्षिण एसियाली अध्ययनको सिलसिलामा एकअर्कालाई प्रभावित पार्ने पात्र र विषयको खोजीमा भएकोले मैले प्रस्तुत गरेको विषय उनलाई चाख लाग्यो । मैले यस विषयमा काम गर्नुपर्ने तिनको राय थियो । आलोक भल्लासँगै अर्का भारतीय विद्वान आशिष नन्दी, उनकी श्रीमती र महात्मा गान्धीका नाति राजमोहन गान्धीले पनि भाग लिएको त्यो सम्मेलनमा यो विषय उठ्नु महत्त्वपूर्ण थियो ।
मैले विश्वेश्वरप्रसाद कोइरालाको आप्रवासनको अवस्थामा लेखिएको साहित्य र जर्मन दार्शनिक र विद्वान एरिख अर्बाखले दोस्रो विश्वयुद्धताका टर्कीको इस्तनबुल विश्वविद्यालयमा पढाउँदा लेखेको विश्वप्रसिद्ध समालोचनात्मक कृति माइमेसिस : पश्चिमी साहित्यमा यथार्थको प्रतिपादन भन्ने कृतिको तुलनात्मक अध्ययन गरेँ । यस सिलसिलामा मैले एउटा अलिक जटिल विषयमाथि छलफल गरें । मेरो तर्क थियो, आप्रवासन वा निर्वासनमा लेखिने साहित्यका दुईवटा चरित्र हुन्छन् । एक प्रकारको साहित्य देशबाहिरै बस्नुपर्ने बाध्यताको अवस्थामा लेखिन्छ । त्यो बाहिर लाग्नुपर्ने बाध्यता भएको प्रवासीको साहित्य हो । त्यो डायस्पोरा-साहित्य होइन । देश बाहिर जानुपरेको अवस्थाको चोट हुन्छ, त्यसमा । कित देश विखण्डन भएको बेला लेखिन्छ, त्यस्तो साहित्य, कि आफै प्रवास लाग्नुपरेका अनुभवले लेखिन्छ । भारत र पाकिस्तान दुई राज्य विभाजन भएको बेला धेरै मानिसका, आशिष नन्दीको किताबको शीर्षकमा भनेजस्तो सहरका भ्रमित यात्रा भए । त्यस्तो अवस्थामा लेखिएको सदात मन्टोको कथा साहित्यले पनि आफ्नो भूभागबाट बाहिरिनुपरेको अवस्थाको चित्रण गर्छन् ।
अर्को प्रकारको आप्रवासनको साहित्य पनि हुन्छ । त्यो देशभित्रै आरामले स्थायी भावनामा बसेको अवस्थामा लेखिँदैन । त्यसमा देश वा भूमि गुमाउनुपरेको सोझो पीडा पनि लेखिँदैन । त्यो शान्त, चुपचाप र गम्भीर साहित्य हुन्छ । त्यस्तो अवस्थाको लेखकले भने आप्रवासन भोग्नुपरेको कुरा विलौना नगरी, आक्रोश नपोखी अर्को ढङ्गले लेख्छ । त्यस्तो साहित्यमा लेख्नेले भोगेको अवस्थाको कुरा सोझै आउँदैन । अर्बाखले जर्मन छोड्नुपरेको पीडा उनको माइमेसिसमा लेखेनन् । तिनले पश्चिमी युरोपको साहित्यका प्रसिद्ध कृतिमा यथार्थको चित्रण कसरी भएको छ भनेर लेखे ।
उता जर्मनीबाट आफ्ना मानिस ग्यास च्याम्बरमा हालेर मारिएका, विस्थापित भएका समाचार उनलाई आइरहे होला । जति-जति पीडा भयो, त्यति-त्यति अर्बाख विगतका लेखकका उपलब्धि र सिर्जनशील समालोचनाभित्र पसे । उनले गियाम्बा टिस्टा भिकोले सत्रौं-अठारौं शताब्दीमा भनेको कुराले काम गरे । भिको भन्छन्, पहिलेको अवस्थामा कल्पना गर्ने शक्ति उत्ताल र उनको भाषामा बार्बारिक थियो । त्यसमा कल्पनाको सामथ्र्य बलियो हुन्छ । पछिका साहित्यमा त्यो कमजोर वा टाढा हुँदै गएको देखिन्छ ।
यस्तो साहित्यिक लेखन अर्बाखको एउटा अर्को अवतार थियो । बँाचेका रहेछन् भने कुनै दिन साथीभाइ र विद्यार्थीले मेरो कृति पढ्लान् भन्ने उनको आशा थियो । उनको निम्ति पढ्ने सामग्री थिएन । त्यसैले उनले सबै समीक्षा आफ्नै ज्ञान र कल्पनाले लेखे । पहिलेका लेखक र मिथकहरूबाट शक्ति लिन सकिन्छ र अहिलेलाई हेर्न सकिन्छ भन्ने कुरा विश्वेश्वरप्रसाद कोइरालाले पनि माने । त्यस्तै कुरा उनले पनि मानेका लिओन् ट्राटस्कीले पनि भने । तिनले लेखकहरूलाई नयाँ जोशमा पहिलेका लेखनको पठनपाठन र प्रेरणा लिने कर्म चटक्कै छाड्न नहुने बताए, किनकि त्यसो गर्दा लेखनमा दम सकिन्छ । भुइँफुट्टा हुने डर हुन्छ ।
विश्वेश्वरप्रसाद कोइरालाको लेखनमा युद्ध एउटा विषय भएको छ । उनले धेरै कृतिहरू आफ्नै देशभित्र भए पनि लामो कारागारमा लेख्ने र कल्पना गर्ने अवस्थामा तयार गरेको अनि पिता कृष्णप्रसादका पालादेखि नै भारत निर्वासनमा हुर्किनुपरेको संस्मरणमा लेखेको हुनाले मैले उनका लेखनमा आप्रवासन अवस्थाको चित्रण अर्बाखको भन्दा अलिक वाचाल तर शान्त र स्थितप्रज्ञ अवस्थाको हो भनेर लेखेंँ । तर अर्बाखले युद्धको विभीषिकालाई अपरोक्ष ढङ्गको अर्को रूपमा राखे । विश्वेश्वरप्रसाद कोइरालाले युद्धको विषय आफ्ना उपन्यास, डायरी र संस्मरणमा राखे । उनले मेरो साहित्य र राजनीति अलग हो भनेको कुरा मैले नमानेर लामा लेख लेखेको कारण त्यही हो । लामो हुने भएकोले यहाँ लेख्न सम्भव भएन । मैले पहिलो त्यस्तो व्यक्ति विश्वेश्वरप्रसाद कोइरालाको विषयमा राखेका तर्क राजमोहन गान्धीलाई र विद्वान आलोक भल्लालाई मनपरेछन् । उनीहरूले मलाई आफ्ना तर्क सुनाए । मलाई लाग्यो, भारतमा नेपालका कस्ता राजनीतिक र साहित्यिक पात्र परिचित छन् भन्ने कुरा महत्त्वपूर्ण रहेछ ।
विश्वेश्वरप्रसाद कोइरालाको पहिलो आफ्नै हातले लेखेको आत्मसंस्मरणबाट बुझ्दा उनी भारतमा परिचित पहिलो र बलियो नेपाली पात्र थिए । कोइराला भारतीय मुक्ति सङ्ग्रामदेखि नै लडेका मानिस थिए । उनको महात्मा गान्धी र अरु भारतीय नेताहरूसँग राम्रो सम्बन्ध थियो । त्यसैले राणाहरूले जेल यातना दिएको बेला महात्मा गान्धीले उनको मुक्तिको निम्ति सोझै यहाँका शासकलाई दबाब दिए । विश्वेश्वरप्रसादको व्यक्ति रचना वा पर्सोना विस्तृत चरित्रको थियो । अहिले सार्क विश्वविद्यालयमा दक्षिण एसिया अध्ययनको सामग्रीको निम्ति नेपालका पात्रको खोजी हुने विषयलाई लिएर कुरा हुँदा आशिष नन्दी र आलोक भल्लालाई यताका पात्रहरूको विषयमा निकै कुरा थाहा छ भन्ने देखियो । राजमोहन गान्धीले विश्वेश्वरप्रसाद कोइरालाकै विषयमा बढी कुरा गरे । नेपालका अरु राजनेतामा प्रचण्डको नाम उनीहरू र अरुले पनि उच्चारण गर्छन् । तर अहिलेको अवस्थाले उनीहरू अन्योलमा छन् । नेपाली राजनेताका विशेष व्यक्ति विम्ब उनीहरूसँग छैनन् । यताबाट त्यस्ता विम्ब बनिने क्रम अहिले टक्कै रोकिएको देखियो ।
साहित्यमा भने विश्वेश्वरप्रसाद कोइरालाको नाम नै चर्चामा रहे पनि उनका कृतिका एकाध खराब अनुवादबाहेक उनीहरूसँग अरु खासै केही छैनन् । मेरो प्रस्तुतिमा थाहा पाएपछि कोइरालाको आत्मसंस्मरणको अङ्ग्रेजी अनुवाद पठाइदिनु भनेका छन्, भल्लाले । नेपाली साहित्यका अनुवादले भारतमा खासै पात्रहरू परिचित बनाएका छैनन् । नेपालबाट गएका कविहरूलाई उनीहरू मनपराउँछन् । तीनजना निकै युवक कविहरू पुगेका रहेछन् । निर्मल थापा कथाकार, कवि र प्रकाशक हुन् । धीरज राई, अर्जुन ढुङ्गाना र दीपकसम्चु राई युवक कवि रहेछन् । मैले राई युवकहरूका कविता अङ्ग्रेजीमा अनुवाद गरिदिएँ । भुपेन ब्याकुल, गीता कार्की र सन्ध्या पहाडीले कविता पढे । गीता, सन्ध्या र सुमन पोखरेलका कविता पनि अनुवाद गरेको थिएँ । मैले पाठ गरें । सुमन पोखरेललाई अघिल्लो दिन सार्क लिटरेरी एवार्ड प्राप्त भएको थियो । साहित्यकारहरू अहिले आयोजकहरूसँग सोझै सम्पर्क स्थापित गरेर जानथालेका रहेछन् । खुसी लाग्यो ।
सन् २०१२ मा शारदा शर्मा र मलाई भारतीय अकादमीको जयपुर सम्मेलनको निम्तो आयो । कार्यपत्र प्रस्तुति गरेपछि भारतका विद्वान र छुच्चा समीक्षक हरिश त्रिवेदीले मलाई ठाडा प्रश्नले हाने । मैले फर्काएँ । रमाइलो भयो । तर मैले एउटा कुरा थाहा पाएँ । त्यहाँ आएका उनीहरू नेपाली साहित्यकारमा लक्ष्मीप्रसाद देवकोटा र इन्द्र राईका नाममात्र चिन्दारहेछन् । अङ्ग्रेजीका प्राध्यापक ती हरिश त्रिवेदीले इन्द्र राईमाथि लेखेका थेसिस निर्देशन गरेका रहेछन् ।
विश्वेश्वरप्रसाद कोइरालाले युद्धका दुई अलग कालका चित्रण गरेका छन् । मोदिआइनमा नारीहरू डिलमाथि चढेर महाभारत युद्धको भयावह आरम्भ हेर्छन् । हिटलर र यहुदीमा युद्धको बीसौं शताब्दीको विभीषिकाको चित्र छ । अर्बाखले युरोपको साहित्यमा विगतदेखिको यथार्थ हेरे । विश्वेश्वरप्रसाद कोइरालाले यी कृतिमा दक्षिण एसियाली मिथकदेखि अहिलेसम्मको युद्धका अतिरञ्जित काव्यिक यथार्थको चित्रण गरे । दक्षिण एसियालाई नेपाली पात्र चाहिन्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७१ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?