कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रसिकको रसिलो प्रस्तुति

काठमाडौ — गीत सुन्दै रमाइलो । उनको गायन र हार्मोनियमको तालमेलले दर्शकमा झनै ऊर्जा थपिएको थियो ।

रसिकको रसिलो प्रस्तुति
रातो भाले क्वाएँ क्वाएँ
सुत्केरीलाई खुवाएँ...
उमेरले ६० नाघिसकेका गणेश रसिकले उपर्युक्त गीत दुई दशकअघि नै सिर्जना गरेका थिए । उक्त गीत पछिल्लोपटक शुक्रबार र शनिबार गरी दुई दिन आयोजित रसिकको एकल सांगीतिक प्रस्तुतिमा दर्शकले प्रत्यक्ष सुन्ने अवसर पाए । रसिकको यो तेस्रो एकल कन्सर्ट हो ।
बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा रसिकको दुईदिने ओ शून्यता एकल सांगीतिक प्रस्तुति भएको हो । पुराना र नयाँ गीतको कलेक्सन रहेको एल्बम ओ शून्यता पनि शुक्रबार नै सार्वजनिक गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त र ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले रसिकको एल्बम सार्वजनिक गरेका हुन् । रसिक संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवसमेत हुन् ।
भादगाउँले टोपी र दौरासुरुवालमा ठाँटिएका रसिकले गाइरहँदा चार दशकदेखि गाउँदै आएका उनीमा जोसको कुनै कमी देखिएन । स्वर र लयमा उस्तै ताजपन थियो । संगीत, रचना र गायन तिनै विधामा अब्बल रसिकले बाँचुन्जेल संगीतमै लाग्ने प्रतिबद्धता पनि जनाए । गीत गाउन रोकेर उनले २३ वर्षको उमेरमा काठमाडांै टेक्दाको समय सम्झिए ।
काठमाडौंलाई धेरैले गाली गर्छन्, उनले भने, मलाई काठमाडौंले नै सफल बनाएको हो । उनले काठमाडौंप्रति गुनासो पोख्न चाहेनन् ।
करिअरका दु:ख, सुखका अनुभव साट्दै उनले नयाँ/पुराना गीतहरू गाए । डा. अभि सुवेदीले भरियालाई सम्बोधन गर्दै २०३० मा लेखेको उकालीमा..., वासु शशीको गीत मसँग एउटा... बोलको गीत गाएपछि रसिकले आफ्नै रचना, संगीतका सिर्जना पस्किन थाले । ऐ है..., धेरै सम्झे धेरै हुन्छ..., लाखांै जुनी..., तिम्रो सुन्दर..., घरबेटी नानी..., तिम्रो निम्तो..., निद्रा लागेन... लगायत एक दर्जन गीत सुनाउन भ्याए ।
उनलाई युगल गायनमा चाहिँ गायिका झुमा लिम्बूले साथ दिएकी थिइन् । त्यस्तै, गितार तथा ब्यान्ड संयोजनमा अनुप दास, अकटुप्याडमा रुपेश सिहं, किबोर्डमा दिनेशराज रेग्मी, बेस गितारमा विक्रम कार्की, तबलामा भीपी सिंह, बाँसुरीमा सम्पूर्ण लामाको अर्केस्ट्राले साथ दिएको थियो । नयाँ एल्बमको ओ शून्यता... गाएपछि गणेशले शून्यतामा आफूले पूर्णता महसुस गरेको बताए ।
लेखकसमेत रहेका गणेशको दस गजामा उभिएर कृति बजारमा आइसकेको छ ।

प्रकाशित : चैत्र १५, २०७१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?