कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अब घर कत्रा?

भ्वाइस अफ दि भ्वाइसलेस
अखण्ड भण्डारी

चार रेक्टर स्केलका पराकम्पनमा हामी नेपाली भुइँतलाबाट चौरतिर दौडिइरहेकै बेला शनिबार जापानमा ७.८ रेक्टर स्केलको भूकम्प गयो।

त्यो ठीक त्यत्रै भूकम्प थियो, जत्रो वैशाख १२ गते हाम्रो देशमा महाभूकम्प बनेर आएको थियो। जापानका लागि त्यो केवल कम्पन बन्यो। कुनै घरमा न चिरा पार्यो, न कसैलाई चोटपटक लगायो। यसबेला हामीले खोज्नु र सिक्नुपर्ने कुरै यही हो उही ७.८ रेक्टरले नेपाललाई किन भत्कायो, जापानलाई किन हल्लायो मात्र?
भूकम्पको देश भनेर संसारले पढ्ने जापानको राजधानीमा संसारकै दोस्रो अग्लो टावर छ, टोक्यो स्काइ ट्री। शनिबारको भूकम्पपछि आइतबारसमेत यसलाई बन्द गर्नुपरेन। मिडियाहरूका अनुसार २५ सय यानसम्मका टिकट काटेर त्यसको माथिमाथिबाट अवलोकन गर्नेको भीड साविकभन्दा घटेन। दुई हजार ८० फिट अग्लो यो टावर एनएचकेको नेतृत्वमा ६ वटा टेलिभिजन सञ्चालक र तोबु रेलवेले यसलाई निर्माण गरेका हुन्। टेलिभिजनको टेरेस्टोरियल प्रसारण टाढाटाढा पुर्याउने हेतु त्यसकै मालिकहरूको पहलमा यो ठडिएको हो। तर प्रसारण गुणस्तर घट्दै गएको छ। कारण हो त्यसकै वरिपरि थुप्रै गगनचुम्बी उभिइसके।
अर्थात् जापानमा गगनचुम्बीको लहर बढ्दो छ। तिनलाई भुइँचालोले छुन पनि सक्दैन। हाम्रो देशमा तीन तले घरले पनि धेरैको निद्रा खाएको छ। मानसिक तनावमा पुर्याएको छ। बनेका बहुतले भवनहरू अधिकांश क्षतिग्रस्त छन्। निजी घरहरू ढुक्कले बस्ने हालतमा छैनन्। अग्ला घर देख्यो कि त सातो जाने अवस्था आएको छ। एउटा जोकै बनेको छ सात तले घरको मालिकले एक तलेलाई भनेछ, साट्ने हो? एक तलेको मालिकले जुँगा मुसार्दै सोधेछ, कति थप्छौ?
हो, हाम्रो बुद्धिको बिर्को खोल्ने बेला यही हो। हाम्रा बहुतले घरहरू केवल बेच्न बनाइए। मान्छे बसुन् भनेर होइन। भनिन्छ लोभले लाभ, लाभले विलाप। भएको त्यही हो। तिनलाई भत्काएर फेरि मजबुत ढंगले बनाउन सकिन्छ। निजी घरहरू पनि त्यस्तै हुन्। कमजोर ढंगले तिनका अग्लाइ बढ्नुमा मुख्य दुई कारण छन् १. अग्लो घरको लहर/रहर २. भाडाको समस्या। खासमा जति हजार रुपैयाँ भाडा तिरिन्छ, त्यति नै हजार बैंकलाई किस्ता तिर्दा घर बन्छ। भाडा महँगिएको छ। त्यसमाथि पानी, बिजुली र अन्य सुविधाको किचकिच सहनुपर्नेहरू आफैं घरबेटी बन्न तम्सिन्छन्। त्यही कारण राजधानीमा घर ह्वात्तै बढेका हुन्। काठमाडौंले धेरैका घरसपना पुरा गर्दै लगेको हो। विडम्बना यो छ दु:खमा एक तलाको लस्याङलुसुङ घर बन्छ। विस्तारै कमाइ बढ्छ। तला थप्न मन लाग्छ। एक तलो थपिन्छ। वल्लो, पल्लो, तल्लो सबै घरले पाँच तला ठड्याइसकेका हुन्छन्। आफ्नो घरमा घामै छेकिन्छ। फेरि बल गरेर उचालिन्छ। अघोषित प्रतिस्पर्धामा सामेल होइन्छ।
त्यसपछि मनमा लोभ पलाउँछ झ्याप्प भाडा आए बैंकको ब्याज त सजिलो गरी तिरिन्थ्यो। त्यसका लागि तलका भन्दा माथि ठूला कोठा निकाल्न मन लाग्छ। ताल परे बरन्डासरन्डा मासेर कोठै बेरिन्छ। एकातिर जग कमसल, अर्कातिर उचालेको उचाल्यै। अनि तल सुकेको, माथि फुकेको। त्यस्ता घर नलडे कस्ता लड्छन् त?
त्यसैले जत्रो घर बनाउने हो, पहिल्यै तय गर्नुहोस्। नीति, नियम, मापदण्ड के छ, हेर्नुहोस्। माटो कस्तो छ, जँचाउनुहोस्। पूर्ण योजना र बजेट बनाएर मात्र घर बनाउन थाल्नुहोस्। जग मजबुत बनाउनुहोस्। पिलर गतिला राख्नुहोस्। बिम बलिया पार्नुहोस्। क्षेत्रफल र उचाइको अनुपात मिलाउनुहोस्। डन्डीमा कन्जुस्याइँ नगर्नुहोस्। रिङ बाँध्न लोभ नगर्नुहोस्। नक्सामा मात्र होइन, निर्माणमा पनि इन्जिनियरिङ गर्न दाँतबाट पसिना नचुहाउनुहोस्। सिमेन्ट किन्दा सस्तो होइन, गुणस्तरीय ल्याउनुहोस्। महँगो किन नपरोस्, बालुवागिटी असल छान्नुहोस्। कुन प्रयोजनमा केको कति मात्रा मिश्रण हुनुपर्छ, आफैं सिक्नुहोस्। ठेकदार र मिस्त्री जान्ने राख्नुहोस्। झ्यालढोकामा लिन्टर ढलान गर्नुहोस्। आफूले बनाइरहेको घरमा आफैं बसेर पर्याप्त पानी हाल्नुहोस्। पैसा कमाउन होइन, यसमा बस्ने सबैको ज्यान सुरक्षित राख्न घर बनाएको ठान्नुहोस्। दस रेक्टर स्केलको भूकम्प आए पनि ढाल्दैन।
त्यस अघि सरकारले भौगर्भिक अध्ययन गरेर काठमाडौंको कुन ठाउँमा कस्ता गुणस्तरका कति अग्ला घर धानिन्छन् भन्ने निचोड दिन सक्नुपर्छ। त्यसका आधारमा नीति, नियम, मापदण्ड र संहिता बनाउनुपर्छ। अग्ला घरै नधान्ने अभागी राजधानी होइन काठमाडौं। आफैं ढंग नपुर्याएर सतीले सरापेको देश भन्दै हामी देशलाई सराप्छौं। सहरका विकास बिनायोजना गर्छौं। समस्या योचाहिँ हो। हामीलाई मार्ने हाम्रो लापरबाही हो, हाम्रो कन्जुस्याइँ हो।
यस्तो संक्रमणको बेला अनेक हल्ला चल्छन्। अनेक धन्दा देखिन्छन्। तर घरजस्तो कुरा हचुवाका तालमा बनाएर हुँँदैन। राज्यले पनि खेलाँची नीति बनाएर चल्नु हुँदैन। कमजोर बनाउने बाटोमा होइन, मजबुत बनाउने दिसामा चल्नुपर्छ। होचा घरमात्र हुनु हो भने राजधानीवासीलाई बाससम्म पुग्दैन। त्यसको पनि ख्याल गरिनुपर्छ। तलाको कुरो होइन, मजबुतीको कुरा आउनुपर्छ। एक तले घर धेरै भत्किएका छन्। अग्ला घर पनि चोखै जोगिएका नभएका होइनन्। मात्र बुझौं दह्रा घर जोगिन्छन्, कमजोर ढल्छन्। कस्तालाई दह्रा भन्नेचाहिँ अब राज्य र विज्ञहरूले तोकिदिनुपर्छ। उचाइ नाप्नुभन्दा पहिला गुणस्तर जाँच्नुपर्छ। नपुगेकालाई कुनै हातमा पुर्याउनुपर्छ। नयाँ बन्नेलाई जगैदेखि नियमले कस्नुपर्छ।
अनि लडाएर देखाओस् भूकम्पले।

प्रकाशित : जेष्ठ १८, २०७२ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?