१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टीकापुर झडप हिंसात्मक

- एसएसपीसहित ७ प्रहरी र १ बालकको मृत्यु - सेना परिचालन
गणेश चौधरी

टीकापुर/धनगढी — दिउँसोको १ बजेको थियो, त्यतिबेलासम्म प्रहरीले आन्दोलनकारीलाई निषेधाज्ञा तोड्न दिएको थिएन । चार दिनदेखि जारी निषेधाज्ञा जसरी पनि तोड्ने भन्दै आन्दोलनकारीको भीड बढ्दै थियो ।

टीकापुर झडप हिंसात्मक

उनीहरूको हातमा गुलेली, लाठी, भाला, खुकुरी, बन्चरोलगायत घरेलु हतियार थिए ।

स्थानीय प्रशासनले आन्दोलन दबाएको भन्दै आन्दोलनकारीले आक्रोश व्यक्त गरिरहेका थिए । कफ्र्यु र निषेधाज्ञा तोड्न खोज्दा झडप भएको थियो । उक्त क्षेत्रमा प्रशासनले बिहान ११ देखि साँझ ५ बजेसम्मलाई कफ्र्यु लगाएको थियो ।
आन्दोलनकारीको संख्या अत्यधिक थियो । स्थानीयका अनुसार करिब १० हजार थरुहट आन्दोलनकारी निषेधित क्षेत्रमा जम्मा भएका थिए । प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा अनिवार्य सहभागी हुन भनिएकाले प्रौढ र महिलाहरू पनि सहभागी थिए ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकाको मुख्य बजारबाट करिब दुई किमि टाढाको वडा नम्बर २ स्थित मनुवा गाउँ नजिकै भएको भिडन्तमा प्रदर्शनकारीले प्रहरीलाई घेरबन्दीमा पारे । लगत्तै प्रहरीमाथि अन्धाधुन्द आक्रमण थाले । घटनास्थल पशुहाट बजार र दुर्गौली बजारको बीच क्षेत्र हो ।
कफ्र्यु र निषेधित क्षेत्र तोड्ने योजनासहित प्रदर्शनकारी मनुवा, दुगौलीलगायत क्षेत्रहरूबाट आएका थिए । उत्तरतर्फबाट आएका प्रदर्शनकारीलाई प्रहरीले शिव मन्दिर नजिकबाटै लखेटेर सुरुमा तितरवितर पारे पनि त्यसको ‘झोंक फेर्न’ आन्दोलनकारी थप आक्रोशित भएर जाइलागेका थिए । निषेधाज्ञा तोकिएको क्षेत्रमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा प्रहरी फोर्स बसेको थियो । आन्दोलनकारीले घरेलु हतियारसहित हजारौंको संख्यामा टीकापुर प्रवेश गरेर सरकारी कार्यालयमाथि आक्रमण गर्ने योजना बनाएको जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थलमा खटिएको थियो ।
आन्दोलनकारी अघि बढ्न रोक्न खोजे पनि प्रहरी असफल भयो । एक बजेदेखि सुरु झडप करिब चार बजेसम्म भएको स्थानीयले बताए । आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालयमा थरुहटको साइनबोर्ड राख्ने कार्यक्रम तय गरेका थिए ।
कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट/थारूवान प्रदेश माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीचको यो भिडन्तमा एसएसपीसहित नेपाल प्रहरीका ५ तथा सशस्त्रका दुई प्रहरी र एक बालक गरी ८ जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए । प्रदर्शनकारीले प्रहरी टोलीलाई खुकुरी, भाला र बन्चरोलगायत हतियार प्रहार गरेका थिए । नेपाल प्रहरीका सेती अञ्चल प्रमुख एसएसपी न्यौपाने, निरीक्षक बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का तथा जवान लोकेन्द्र चन्दको मृत्यु भएको छ । त्यस्तै सशस्त्रका हवल्दार ललित साउद र जवान रामविहारी चौधरीको ज्यान गएको सरुक्षास्रोतले पुष्टि गरेको छ । सशस्त्र प्रहरी हवल्दारकै छोरा २ वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ ।
आन्दोलनकारीतर्फको हताहतबारे विवरण प्राप्त हुन सकेको छैन । टीकापुर अस्पतालले ३ जना प्रदर्शनकारीको उपचार भइरहेको जनाएको छ । आन्दोलनकारीका तर्फबाट जारी विज्ञप्तिमा पनि घाइते र हताहतीबारे उल्लेख छैन । अन्य पनि मृत्यु र घाइते भएको हुन सक्ने अनुमान छ । सुरक्षाकर्मीसहित दर्जनौं घाइते छन् । सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी रामकुमार खनालका अनुसार प्रहरीतर्फका २१ घाइतेमध्ये २ को अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाइने उनले बताए । ‘तत्कालका लागि टीकापुर अस्पतालमा भर्ना गरिएको छ,’ श्रेष्ठले भने ।
सेना परिचालन
मन्त्रिपरिषद्को निर्णयपछि साँझ ७ बजेदेखि टीकापुर क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ । कफ्र्य‘ पनि लगाइएको छ । स्थिति तनावपूर्ण नै भए पनि प्रदर्शनकारी अपराहन ५ बजेपछि तितरवितर भएका छन् । टीकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्रका समेत थप्रै सुरक्षाकर्मी परिचालित छन् । ‘दंगाग्रस्त क्षेत्र सुरक्षाकर्मीको नियन्त्रणमा छ,’ प्रजिअ श्रेष्ठले भने । नेपाल प्रहरीका एक उच्च अधिकारीले घटनाका क्रममा सशस्त्र प्रहरीले उपयुक्त समन्वय नगरेको आरोप लगाए ।
टीकापुर अस्पतालका डा. नरेन्द्रकुमार खनालले अधिकांश घाइते प्रहरी गुलेली र भाला प्रयोगबाट घाइते भएको बताए । प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल छर्केर आगो लगाएको पनि जनाइएको छ । ‘आन्दोलनकारी हजारौंको संख्यामा ३/४ वटा नाकाबाट टीकापुर प्रवेश गर्ने तयारीमा थिए,’ प्रजिअ श्रेष्ठले भने, ‘घटना भएको मनुवा गाउँ नजिकको नाकामा भने ३/४ हजारको संख्यामा प्रदर्शनकारी टीकापुरतर्फ बढिरहेका थिए ।’
टीकापुर अस्पतालमा ४६ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ७ जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको टीकापुर अस्पतालका डा. खनालले बताए ।
परिस्थिति असहज बन्दै
थरुहट पक्ष र अखण्ड सुदूरपश्चिम पक्षबीच शुक्रबार दुर्गौलीको तोरैयापुरमा झडप भएपछि तनाव झनै बढेको हो । तनावका कारण टीकापुरमा रहेको थारू कल्याणकारिणी सभाको कार्यालयसहित थारू जातिका ससाना पसलमा तोडफोड भएको थियो । धनगढीमा साउन २८ गते थरुहट भेलामा अखण्ड सुदूरपश्चिम पक्षधरले अवरोध गरेको भन्दै शुक्रबार भएको अखण्ड सुदूरपश्चिम पक्षधरको र्‍यालीमा अवरोध गरेका थिए । त्यसैको प्रतिशोधका कारण तोरैयापुरमा झडप भएको थियो ।
टीकापुरमा हालै भएको थरुहटको आमसभाले सोमबारको स्थिति निम्ताएको आरोप यहाँस्थित राजनीतिक दल र सामाजिक तथा अधिकारवादी संघसंस्थाले लगाएका छन् ।
‘मधेसी नेताको उत्तेजित र भड्काउपूर्ण भाषणले अझ बढी सामाजिक सद्भाव भड्काएको हो,’ एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घराज सोडारीले भने, ‘त्यो दिनदेखि टीकापुरमा थरुहट र अखण्ड पक्षबीच दिनहुँ मुडभेडको स्थिति उत्पन्न भएको छ ।’ कांग्रेस नेता अमरेशकुमार सिंह, सद्भावनाका राजेन्द्र महतोलगायत मधेसी नेताले पहाडियालाई तराईबाट भगाउनुपर्छ जस्ता उत्तेजित भाषण गरेका थिए । कांग्रेस कैलालीले सामाजिक सद्भाव खलल पुर्‍याउने गरी भाषण गरेको भन्दै अमरेशकुमारलाई पार्टीमा कारबाही गर्न माग राखेको छ ।
आन्दोलनको सुरुवात
राजनीतिक दलले कैलाली टुक्रयाएर ६ प्रदेशमा सहमति बन्न लागेको खबर साउन २६ गते बुधबार सामजिक सञ्जालमा छायो । त्यही दिन साँझ अखण्ड सुदूरपश्चिम पक्षधर आक्रोशित भयो । धनगढी, अत्तरिया, टीकापुरलगायत बजारमा साँझ राँके जुलुस प्रदर्शन गरे । बिहीबारदेखि अनिश्चितकालीन आमहडताल सुरु भयो । सामाजिक सञ्जालमा जे आए पनि राजनीतिक दलको ६ प्रदेशमा सहमति बन्यो । सुदूरपश्चिम अखण्ड नै भयो, अझ बढी कर्णाली र भेरीका जिल्लासमेत थपिए । यो सहमतिपछि थरुहट पक्ष आन्दोलनमा उत्रेको हो । थरुहटले अनिश्चितकालीन आमहडताल र विरोध जुलुस प्रदर्शन हालसम्म जारी राखेको छ ।
 राजनीतिक दल राज्य पुनर्संरचनाको खाकामा परिमार्जित गर्ने भन्दै छलफलमा जुट्न पुग्यो । ६ प्रदेशको खाकामा अखण्ड बनेको सुदूरपश्चिम कतै गुम्ने त होइन भन्ने शंका अखण्ड पक्षमा पर्‍यो । खबरदारीका लागि अखण्ड पक्षधरले पनि पुन: आन्दोलनको सुरुवात गरे ।
थरुहट पक्षधरले साउन ३२ मा धनगढीमा बृहत् आमसभा गरेको थियो । आमसभालाई सफल पार्न ३२ गते आफ्नो बन्दलाई फिर्ता लिएका थिए तर अखण्ड पक्षधरको चाहिँ बन्द कायमै थियो । बन्दका बाबजुद पनि धनगढीको क्याम्पस रोडमा थरुहट पक्षले विशाल आमसभा गरेका थिए । थरुहट र अखण्ड पक्षधरबीच धनगढीमा झडप भएको थियो । कुनै ठूलो क्षति भने भएको थिएन । ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले धनगढी भिडन्तको अवस्थालाई सुरक्षित अवतरण गरेको थियो ।
शनिबार कैलालीको टीकापुरमा अखण्ड पक्षधरले विजय आमसभा आह्वान गरिएको थियो । त्यसको पूर्वसन्ध्यामा अखण्ड पक्षधरले धनगढी टीकापुरमा सद्भाव मोटरसाइकल र्‍याली निकालेका थिए । उक्त र्‍यालीमाथि थरुहट पक्षधरले दुगौलीको तरियामा आक्रमण गरेका थिए । घटनापछि टीकापुर अशान्त बन्दै गएको हो । उक्त घटनामा दर्जनौं मोटरसाइकल, साइकल जलाइयो । अखण्ड पक्षधर ११ जना घाइते भए । ५ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भए । मोटरसाइकल र्‍यालीमा भाला लगायतका घरेलु हतियार लिएर थरुहट पक्षधर विरोध प्रदर्शनमा उत्रेका थिए ।
प्रहरी दमन : संघर्ष समिति
थरुहट/थारूवान संयुक्त संघर्ष समितिले विज्ञप्ति जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना भएको आरोप लगाइएको छ । ‘अहिंसात्मक एवं शान्तिपूर्ण थरुहट/थारूवान संयुक्त संघर्ष समितिको तेस्रो चरणको आन्दोलनको क्रममा कैलालीे जिल्ला टीकापुर क्षेत्रको दुर्गौली, चिलिम चौराहालगायत थरुहट/थारूवानका विभिन्न जिल्लाहरूमा भइरहेको प्रहरी प्रशासनको निर्मम दमन, हत्या, हिंसा, आगजनी, सामाजिक, साम्प्रदायिक सहिष्णुता बिथोल्ने नियोजित षड्यन्त्रप्रति संयुक्त संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राष्ट्रिय मुक्ति आन्दोलनका क्रममा वर्षौंदेखिको आन्तरिक उपनिवेशीकरण एवं मुक्ति, पहिचान, प्रतिनिधित्वसहित स्वायत्त थरुहट/थारूवानसहितको संघीयता र दासत्वबाट मुक्तिका लागि संघर्षरत निहत्था आन्दोलनकारी पुरुष एवं महिलामाथि अन्धाधुन्द गोली चलाई सयौंको संख्यामा सामूहिक हत्याको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं ।’
हत्या, हिंसा र सशत्र प्रहरी एवं नेपाली सेनाको परिचालन बन्द गर्न माग पनि गरिएको छ । ‘शान्ति सुरक्षा र कानुनी अधिकारको नाममा थप नियोजित हत्या एवं हिंसा गर्ने षड्यन्त्र राज्यले तत्काल बन्द गरिनुपर्छ । अंगभंग, घाइतेलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था राज्यबाट अविलम्ब गरिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’

चित्रबहादुर चौधरी (प्रत्यक्षदर्शी), शिक्षक टीकापुर–९ सदघरुवा
म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिए । घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरी लखेटेको देखें । प्रहरी भाग्दै थिए, आन्दोलनकारी लखेट्दै थिए । मेरो घरभन्दा १५/२० मिनेट टाढा झडप भएको ठाउँ हो । आन्दोलनकारीले त्यहाँबाट प्रहरी लखेट्दै ल्याएका थिए । पर गोली चलेको आवाज सुनिन्थ्यो । अश्रुग्यासको धूवाँ पनि देखिन्थ्यो । केही प्रहरी मकैबारीमा लुकिरहेका थिए । आन्दोलनकारीले प्रहरी लखेटेको देखेपछि बच्चालाई लिएर घरभित्र पसें । अनि खाटमुनि लुकेर बस्यौं ।
प्रहरीले आफूलाई केही नगर्न आग्रह गरिरहेका थिए । केही समयपछि दुईजना प्रहरीको मकैबारीमा हत्या भएको रहेछ । प्रहरी आएर उनीहरूको लास लिएर गए । खेतमा प्रहरीको ड्रेस फालिएको थियो । आन्दोलनकारी ‘गाउँ पसे प्रहरीको खुट्टा भाँच्छौ’ भन्दै थिए । प्रहरीले मृत्यु भएका साथी र खेतमा फालेका युनिफर्म लिएर फर्किए । आन्दोलनकारी आफ्नो बाटो लागे ।

प्रकाशित : भाद्र ८, २०७२ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?