रंगमञ्चमा यौनका मुद्दा

काठमाडौं — यौन हिंसाका घटनाहरू दिनहुँजसो सञ्चारमाध्यमहरूमा आइरहेकै छन्। सरकारले आफ्नो ढंगले न्यूनीकरणका प्रयासहरू पनि गरिरहेकै छन्, तर यो झन् बढ्दो छ। यौनका आधारमा हुने हिंसालाई समेटेर रंगकर्मीहरूले नाटक तयार पारेका छन्।

रंगमञ्चमा यौनका मुद्दा

सुनधारास्थित थिएटर मलमा यति बेला ‘छिद्र क्यानभास’ मञ्चन भइरहेको छ। नाटकमा यौन हिंसा, देहव्यापारको अवस्थादेखि प्रहरी प्रशासनले गर्ने दोहोरो भूमिकासम्म समेटिएका छन्।

टीकाभक्त जिरेलले नाटक लेखन र निर्देशन गरेका हुन्। यौनिकताका बारे खुलेर बोल्न नसक्ने नेपाली समाज, न्याय दिनुपर्ने राज्यको फिलतो भूमिकाजस्ता सन्दर्भले नाटकलाई गह्रुँगो बनाएको छ। प्रहरी प्रशासनको दोहोरो चरित्र त अहिलेको ताजा सन्दर्भजस्तै लाग्छ। धेरैजसो रेस्टुरेन्ट, गेस्ट हाउसजस्ता थलोमा प्रहरीकै संरक्षणमा देहव्यापार भइरहेको आरोप आइरहेकै बेला नाटकले पनि यो सन्दर्भलाई समातेको छ।
थिम यौन हिंसामा आधारित भए पनि विम्बात्मक रूपमा सिंगो नाटकलाई चाहिँ अहिलेको राजनीतिक दुश्चरित्रसित जोड्न पनि सकिन्छ। यौन हिंसामार्फत् नैतिकताका विषयवस्तु जोड्दै राजनीतिक–आर्थिक लाभ तथा शक्तिमा पुग्नकै लागि अनेकथरी प्रपञ्च गर्नेहरूप्रति पनि नाटकले व्यंग्य कस्छ। साथै, नाटकले राष्ट्र र राष्ट्रियताप्रति चिन्तासमेत व्यक्त गरेको छ। नगरबधुको कथालाई केन्द्रबिन्दुमा राखेको नाटकले सिंगो नेपाली समाजकै अनगिन्ती चरित्रहीन पक्षहरूको पर्दाफास गर्ने प्रयास गरेको छ।
तीन वर्षअघि नै नाटक तयार पारे पनि बल्ल मञ्चनको समय जुरेको निर्देशक तथा लेखक जिरेलले जनाए। करिब डेढ घन्टा लामो नाटकमा राम केसी, महावीर विश्वकर्मा, अंकित खडका, नेहा पोखरेल, राजीवश्री आचार्य, सिमन खडका, प्रिया पाण्डे, सीता राना, विनीता थापा, शंकर पराजुली, प्रभास लिम्बू, केशवप्रसाद रिजाल, अस्मिता तिमल्सिना लगायतले मन छुने अभिनय गरेका छन्।
नाटक असोज ९ सम्म नियमित मञ्चन हुनेछ।

प्रकाशित : भाद्र २२, २०७२ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?