१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

केरुङ नाका सुचारु

पहिलो दिनमै १३ वटा ‘वान डे पास’ प्रयोग
राजस्व गस्तीका लागि सशस्त्र प्रहरी परिचालन
व्यापारीहरू कन्टेनर लिएर जाने तयारीमा
मंगलबारबाट पेट्रोलियम पठाउने चीनको तयारी
कृष्ण थापा

रसुवा — ६ महिनापछि चीनले सञ्चालनमा ल्याएको केरुङ नाका आइतबारबाट पूर्णरूपमा सुचारु भएको छ। नाका सञ्चालनमा आएलगतै रसुवागढीमा नेपाली व्यापारीले सामान आयातनिर्यातका लागि नाकामा आउने तयारी थालेको स्थानीय प्रशासनले जनाएको छ।

केरुङ नाका सुचारु

‘अहिले सुचारु भएको छ,’ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने, ‘चिनियाँ पक्षले पनि सुचारु रहेको जानकारी दिएका छन्।’ सम्भवत: सोमबारबाट व्यापारीहरूले कन्टेनर पनि रसुवागढी नाकामा लैजाने तयारी गरेको उनले बताए।
रसुवागढी नाका सञ्चालन हुने भएपछि हालै राजस्व गस्तीका लागि सशस्त्रको टुकडी राखिएको छ। आइतबार ११ बजेबाट पूर्णरूपमा नाका सञ्चालनमा आएको सशस्त्र सीमा सुरक्षा बलका डीएसपी दर्शन
गिरीले बताए। आइतबारबाट चीन प्रवेशका लागि दिइने वान डे पास समेत १३ वटा गएको अध्यागमन कार्यालयका निमित्त प्रमुख मेदनीप्रसाद सापकोटाले बताए।
चीनले दक्षिणको नाकामा अवरोध भएपछि आफ्नो तर्फको नाका केरुङ हुँदै मंगलबारबाट पेट्रोलियम पदार्थ उपलब्ध गराउने तयारी गरेको छ। नेपाली भूभाग पासाङल्हामु मार्गको काठमाडौंदेखि स्याफ्रु र स्याफ्रुदेखि रसुवागढीसम्मको सडक चालु हालतमा छ।
‘हामीपट्टिको सडकमा कुनै अवरोध छैन,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने। भारवहन गाडीहरू निर्बाधरूपमा आवतजावत गर्न सक्ने उनले बताए। रसुवागढी जलविद्युत्, चिलिमे र सान्जेन जस्ता जलविद्युत् आयोजनाको कामका लागि चाहिने इन्धन यही मार्ग हुँदै परियोजनास्थलसम्म पुर्‍याउँदै आएका छन्। त्यसले गर्दा भारवहन गाडी गुड्न सक्ने स्थानीय प्रशासनको दाबी छ।
रसुवागढी नाकामा आएको पहिरो चार महिनाअघि चीनले खोलेर मितेरी पुलमा बेलिब्रिज राखेका थिए। तर चिनियाँ भूभागमा सडक अवरोधपछि गत असोज २८ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला, परराष्ट्र, अर्थ, गृह प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बल, नेपाल प्रहरी, नारायणदल गण, रसुवा भन्सारका प्रमुखलाई चीनले सीमापारि रेसुओ पोर्टमा बोलाएर नाका सञ्चालन भएको सन्देश दिएका हुन्।
उक्त अवसरमा चिनियाँ दूतावासका काउन्सिलर च्याङ्जी, तिब्बत मामिलाका उपमहासचिव छ्यादान, भन्सार (हाइकाङ) प्रमुख, अध्यागमन, क्वारेन्टाइन, सशस्त्र प्रहरीसहितको टोलीलाई रेसुओ पोर्टमा सहभागी थिए।
अवरोध भएका नाका सहजरूपमा सुचारु गरिने दुवै देशका अधिकारीले जानकारी दिएका थिए। सोही अवसरमा चीनले भूकम्पबाट प्रभावितका लागि १ करोड ६० लाख बराबरको नुन, चामल र तेल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कोइरालालाई हस्तान्तरण समेत गरेका थिए।
नाका सुचारु गर्ने कार्यक्रममा तिब्बत मामिलाका उपमहासचिव छ्यादानले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरूलाई छुट्टाछुट्टै भेटेर नाकामा देखिएका समस्या समाधान गर्ने, आयातनिर्यातमा सहजीकरण गर्ने र वान डे पासलाई व्यवस्थित गर्नेबारे छलफल गरेका थिए।
रसुवागढी नाकाबाट १० किलोमिटर पर चिनियाँ भूभाग तातोपानी र ठोङसामा पहिरो पन्छाएर सडक बनाए पनि पुन: समस्या देखिएपछि ठूला सवारी आउन कठिन भएको थियो। सिन्धुपाल्चोकतर्फको तातोपानीमा सडक ट्रयाक निर्माण गरे पनि सामान आयातनिर्यात अझै हुन सकेको छैन। केरुङमा चार गाडी सामान भूकम्पअघि थन्किएर बसे पनि नाका खुल्ने भएपछि चीनको व्यापारिक सहर गोन्जाउबाट सामान आयातका लागि निर्यातकर्ता ट्रान्सपोर्ट कम्पनीहरूलाई जिम्मा दिई ल्याइरहेको व्यापारीहरू बताउँछन्।
चीनबाट फलफूल, तयारी लुगा, कपडा, जुत्ता, खेलौना, जिम्बु, कस्मेटिक समान, ब्ल्याङकेट, थर्मस, इलेक्ट्रोनिक वस्तुहरू आयात हुने गरेका छन्। यहाँबाट मैदा, खुर्सानी, चिउरा, अम्रिसोको कुचो, चाउचाउ, सख्खर, फ्रुटी लगायतका समान निर्यात हुने भन्सार प्रमुख पनेरूले बताए। गत आर्थिक वर्षमा रसुवागढी भन्सार कार्यालयले २७ करोड राजस्व संकलन गरेको थियो।
चीनले गत ०७१ मंसिर १५ गते अर्थात् २०१४ डिसेम्बर १ बाट विधिवत् रूपमा रसुवागढी नाकालाई तातोपानी नाकासरह बेइजिङसम्मको पहुँच पुर्‍याएको हो। त्यसभन्दा अघि बोर्डर ट्रेडको रूपमा तिब्बतसँग मात्रै रसुवागढी नाका सञ्चालनमा थियो। चीनले सन् २०२० सम्ममा रेल ल्याउने तयारी समेत गरेको विभिन्न सञ्चार माध्यमले जनाइसकेका छन्।

प्रकाशित : कार्तिक ९, २०७२ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?