२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नयनराजका कथाहरुको मञ्चन

मधु शाही

काठमाडौं — आख्यानकार नयनराज पाण्डेको लेखनका विशेषताहरू केके हुन् ? धेरैले उनका उपन्यास र कथाहरू पढेर अनुमान लगाउन सक्छन् । यति बेला भने उनले लेखेका कथाहरूको नाटकीय मञ्चन हेरेर सहजै र छिटै उनको लेखनीबारेको जिज्ञासा मेटाउन सकिन्छ ।

नयनराजका कथाहरुको मञ्चन

मण्डला थिएटरमा बुधबारदेखि नयनराजको कथा संग्रह ‘चकलेट’ मा रहेका तीन कथाको मञ्चन सुरु भएको छ । 

‘कथा एक्स्प्रेस’ रंगमञ्चीय प्रस्तुतिको निर्देशन आशान्त शर्माले गरेका हुन् । अस्मिता खनालले पनि उनलाई निर्देशनमा सघाएकी छन् । नाटकमा नयनराजका ‘सुकमेल’, ‘खेल’ र ‘महानगर’ कथा समावेश गरिएको छ । समाजका ससाना घटनाक्रमलाई सूक्ष्म दृष्टिकोणसहित केलाउन सक्ने लेखकको खुबीलाई नाटकमा रूपान्तरण गरेर आशान्तले प्रशंसनीय काम गरेका छन् । उनले लेखकको भाव र कथाको मर्म समाएर दृश्यमा न्याय दिने प्रयास गरेका छन् । मञ्च सजावट सामान्य लागे पनि कलाकारको प्रस्तुतिले नाटकलाई दमदार बनाएको छ । 
करिब डेढ घण्टा लामो नाटकमा तीन वटै कथाको संयोग पाइन्छ । कतै पनि दर्शकले दिग्दारी अनुभव गर्नुपर्ने अवस्था आउँदैन । सुरुमा रमाइलो र रसिलो ढंगले दर्शक हँसाईहँसाई नाटकका दृश्यहरू परिचालित भए पनि अन्तिममा भने कथाको मूलसार भेटिन्छ । यस हिसाबले नाटकमा रोमाञ्चकता र मार्मिक सन्देश दुवैको सम्मिश्रण पाइन्छ ।
‘सुकमेल’ कथामा खोक्रो आदर्शभित्र लुकेको यौन मनोविज्ञानलाई पर्दाफास गरिएको छ भने ‘खेल’ कथाले राजनीति वा सत्तामा पुग्न नसक्दा उत्पन्न भएको प्रतिशोध भाव प्रस्तुत गरेको छ । ‘महानगर’ कथाको अधिकांश भाग चाहिँ कमेडी शैलीमा प्रस्तुत गरिएको छ । विभिन्न पात्रले आ–आफ्नो स्वतन्त्र खुबी प्रदर्शन गरेर दर्शक हँसाएका छन् । फिल्म हलमा टिकट काट्न पुग्दा र फिल्म हेरेर निस्कँदासम्म अपरिचित व्यक्तिसँग भएको कुराकानीमै कथा केन्द्रित छ । त्यो मान्छे को होला ? नाटकको रहस्य यसैमा छ ।
नयनराजका तीन वटै कथा रहस्यमय लाग्छन् । दर्जनौं टेलिफिल्म, फिचर फिल्म, कथा, पटकथासमेत लेखिसकेका नयनराजका उपन्यास पनि उत्तिकै लोकप्रिय छन् । ‘उलार’, ‘लु’, ‘घामकिरी’ जस्ता उपन्याससँगै ‘निदाए जगदम्बा’ लगायतका कथा संग्रह प्रकाशनमा ल्याइसकेका उनको सिर्जनामा आञ्चलिकताको प्रचुरता अर्को विशेषता हो, नाटकले पनि यसलाई समाउने कोसिस गरेको छ । 
सुदूरपश्चिमको ग्रामीण समाजदेखि सहरी जनजीवनसम्मको परिवेशमा उनले कथा रचेका छन् । निर्देशक आशान्तले कथाको मर्मलाई निकै नजिकबाट बुझेर नाटक तयार पारेको बताए । उनले कथावाचन शैली र नाटकीयता दुवैको सुन्दर संयोजन गरेका छन् नाटकमा । सूत्रधार र नाटकको दृश्यमा कुनै भिन्नता नदेखाई उनले जीवन्तता ल्याएका छन् । नाटकमा सिर्जना सुब्बा, सुलक्षण भारती, मनीष निरौला, लक्ष्मी बर्देवा, विनीता मगर, वीरेन्द्र मुखिया, सन्देश लामिछाने, आईपी आचार्य, अस्मिता, सुरज मल्लले अभिनय गरेका छन् ।
‘कथा एक्स्प्रेस’ पुस १६ सम्म मञ्चन हुनेछ । 

प्रकाशित : पुस १, २०७२ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?