१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कालो सूचीबाट हटाउन ‘पाटा’ले सघाउने

काठमाडौं — प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पर्यटन बजार उठाउन ५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

बिहीबार लाजिम्पाटमा सम्पन्न ४० औं वार्षिक साधरणसभामा पाटा च्याप्टरले भूकम्प र नाकाबन्दीपश्चात शिथिल बनेको पर्यटन उद्योग पुनरोत्थानका लागि छिमेकी मुलुक भारत र चीनमा बजार प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष सुमन पाण्डेका अनुसार पाटाले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम सुदृढीकरण तथा नागरिक उड्डयनतर्फ कालो सूची हटाउने र विमानस्थलको सेवा सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने विषयलाई प्रतिबद्धतामा समेटेको छ ।
ट्राभल र टुरसँग जोडिएका व्यवसायीहरू पाटाको कार्यक्रममा पुगेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटन रहेको बताउँदै प्रवद्र्धनका लागि ल्याइएको विशेष कार्यक्रमको प्रशंसा गर्दै राजनीतिक स्तरबाट सघाउने बताए ।
उनले आर्थिक विकासबिना देश सफल नहुने भन्दै राजनीति अब आर्थिक क्रान्तिमा मोडिनुपर्ने बताए । ‘पर्यटन मूल आधार मात्र हैन, यो मुलुकको ड्राइभिङ इन्जिन हो,’ उनले भने, ‘कृषिपछि पर्यटनले नै देशलाई उकास्न सक्छ ।’ कार्यक्रममा पर्यटन व्यवसायी मेघ आलेलाई यस वर्षको पाटा पर्सनालिटी अफ दि इयर २०१६ अवार्ड प्रदान गर्दै नेता नेपालले नेपाललाई हिन्दु र बुद्धिस्टको मक्का मदिना बनाएर धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने भनाइ राखेका थिए ।
कार्यक्रममा संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले अहिले बजेट निर्माण चलिरहेकाले पर्यटन पुनरोत्थानका लागि आगामी आर्थिक वर्षको बजेट पर्यटनमैत्री बनाउन सुझाए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनका लागि बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने बताए । कार्यक्रममा अध्यक्ष पाण्डेले पर्यटन पुनरोत्थानका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा पाटाले विशेष प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको जानकारी गराए ।
पाटाका पर्यटनविज्ञ क्यानेडियन ओलिभर मार्टिनले प्यासिफिक एसिया क्षेत्रमा पर्यटन प्रवद्र्धनको आगामी रणनीतिक कार्ययोजना प्रस्तुत गर्दै वार्षिक ९ प्रतिशतका दरले वृद्धि भइरहेको पर्यटन बजारबाट छिमेकमा रहेका चीन र भारतबाट केही हिस्सा नेपालले लिन सक्ने सम्भावना रहेको प्रस्तुति गरेका थिए ।

प्रकाशित : वैशाख ११, २०७३ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?