सानैमा बिहे, उमेर ढल्केपछि विच्छेद

प्रताप विष्ट

काठमाडौं — सरस्वती चेपाङ १८ वर्षमा टेकिन् ।

सानैमा बिहे, उमेर ढल्केपछि विच्छेद


पतिले ३ छोराछोरी र उनलाई छाडेर दोस्रो विवाह गरिसके । सन्तान हुर्काउन समस्या छ । पति सन्चलाल चेपाङ काँकडा ९ स्थित धिराङमा खोरिया फाडेर छाप्रो बनाएर बसेका छन् । त्यहाँ उनीसित कान्छी पत्नी छिन । सरस्वती १३ वर्ष पुग्न १ महिना बाँकी हुँदै उनका बाबुआमाले विवाह गरिदिए । उनीहरूका अहिले ९ महिनादेखि ४ वर्षसम्मका १ छोरा र २ छोरी छन् । उत्पादनले ३ महिना खान नपुग्ने सरस्वतीलाई छोराछोरी हुर्काउन कठिनाइ छ । 

काँकडा ८ की रमिला चेपाङले पति आइतरामको दबाबमा अदालतबाट सम्बन्ध विच्छेद गराइन् । ५ सन्तानकी आमा रमिलासँग आइतरामले १ वर्षदेखि नाता तोड्न चाहेका थिए । तर उनले मानेकी थिइनन् । रमिलालाई दबाब दिएर उनले अदालतबाट सम्बन्धविच्छेद गराउन सफल भए । सम्बन्धविच्छेद नगर्दा सधंै कुटाइ खानुपर्ने भएकाले बाध्य भएर अदालतमा निवेदन दिएको उनले वताइन् । नाममा १ धुर जमिन नभएकी उनलाई ५ सन्तान हुर्काउने जिम्मेवारी थपिएको छ । १४ वर्षको उमेरमा रमिला र आइतरामबीच मागी विवाह भएको थियो । बालविवाह, बर्सेनि बच्चा जन्माउने र पोषण तथा तागतिलो खानेकुरा खान नपाएकाले रमिला विभिन्न रोगबाट ग्रसित छिन् । 
काँकडाकी सरस्वती र रमिलाको मात्र होइन, भार्ता १ की १७ वर्षीया सम्झना चेपाङको नियती पनि उस्तै छ । विवाह गर्ने कानुनी उमेर नपुग्दै पति सुमन चेपाङसँग सम्बन्धविच्छेद भएको छ । १२ वर्षको उमेरमा सम्झना र सुमनबीच विवाह भएको थियो । एउटै स्कुलमा तीन कक्षा अध्ययन गरिरहेका उनीहरूको अभिभावकले नै विवाह गरिदिएका हुन् । सम्झनाको साथमा अहिले २ छोरा र एक छोरी छन् । सुमन र सम्झनाबीच कानुनी रूपमा सम्बन्धविच्छेद नभए पनि व्यावहारिक रूपमा भइसकेको छ । त्यसो त उनीहरूको विवाह दर्ता पनि गरिएको छैन । सुमनले गत वैशाखमा भार्ता १ कै १८ वर्षीया एक युवतीलाई विवाह गरेर चितवन बस्न थालेका छन् । सम्झनालाई उनले मोवबाइलबाट ‘तिमीलाई मैले छोडिदिएँ,’ भनेका छन् । भार्ताकै १८ वर्षीया सोनिका चेपाङ र १९ वर्षीय अमर चेपाङबीच अदालतबाट पुस १० मा सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद भएपछि सोनिकाले आफ्नो नागरिकताबाट पतिको नाम हटाउन जिल्ला प्रशासन पुगेकी थिइन् । विवाह गर्ने उमेर नपुगेकी किशोरीको सम्बन्धविच्छेद भन्दै सहायक प्रजिअ चन्द्रबहादुर कार्कीले आश्चर्य प्रकट गरे । सोनिकाले त्यसैमा थपिन्, ‘५ वर्षअघि नै विवाह भएको हो ।’ ‘कानुनी प्रावधानअनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । तर, १८ वर्षकी किशोरीको सम्बन्धविच्छेद,’ सहायक प्रजिअ कार्कीले भने, ‘अदालतद्वारा सम्बन्धविच्छेद भएपछि जति वर्षको भए पनि नागरिकताबाट पतिका नाम हटाउनै पर्‍यो ।’

प्रकाशित : वैशाख १२, २०७३ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?