१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँमा कविता

साहित्य

विराटनगर — मोरङ सदरमुकामको मुख्य बजार क्षेत्रभन्दा अलि पर ग्रामीण क्षेत्रमा स्थापित झोराहाट नाट्य केन्द्रमा महिनैपिच्छे कविता वाचन कार्यक्रम गरिने भएको छ। कहिले सामूहिक अनि कहिले एकल कविता वाचन हुने आयोजकले जनाएका छन्।

गाउँमा कविता

‘गाउँमा कविता’ नाम दिएर सुरु गरिएको कार्यक्रमअन्तर्गत शनिबार पहिलोपटक चार जना महिला स्रष्टाले आफ्ना रचना सुनाए। सीमा आभास, ज्योति जंगल, शुभलक्ष्मी लम्साल र खगेन्द्रा खुसीले वाचन गरेका सबै चार–चार कवितामा गत वर्ष गएको विनाशकारी भूकम्प, नारी मुक्तिका अभियन्ताको साहस, अधिकार प्राप्तिका संघर्षका कथा, प्रेम, विद्रोहजस्ता विषयवस्तु समेटिएका थिए।
झापाबाट ‘पाहुना स्रष्टा’ का रूपमा आएकी खुसीले विभिन्न छन्दमा आबद्ध रचना सुनाएर मन्त्रमुग्ध बनाइन्। आभासले धार्मिक ग्रन्थ चण्डीलाई आधार मानेर रचना गरेको कविता अनि बेपत्ता पारिएकाहरूलाई प्रतीक बनाएर सिर्जना गरिएको कविता सुनाइन्।
यसैगरी ज्योतिले विनाशकारी भूकम्पको सम्झना गर्दै नाश गर्ने गरी होइन अवगुण र खराब प्रवृत्तिहरू ढाल्ने गरी मात्र हल्लन पृथ्वीलाई आग्रह गरिएको कविता सुनाइन्। लम्सालले नचाहेको युद्ध शीर्षक कवितामार्फत अधिकार प्राप्तिको संघर्षबारे बोलिन्।
‘गाउँमा कविता’ मा अर्को महिना चारै स्रष्टालाई प्रस्तुत गरिने कार्यक्रमको संयोजक कवि गण्डकीपुत्रले जानकारी दिए। 

पराजितका कविता
ललितपुर (कास)– पराजित पोमुको पहिलो कविताकृति ‘लेप्मुहाङको डुङ्गा’ पाठकमाझ आएको छ। अलग आर्ट हबारा आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक, प्राज्ञ श्रवण मुकारुङ, साहित्यकारहरू आहुति र उपेन्द्र सुब्बाले उक्त संग्रह सार्वजनिक गरेका हुन्।
रसिकले पोमुले पहिलो कृतिबाटै एक सशक्त कवि हुने सम्भावनालाई उजागर गरेको ठोकुवा गरे। मुकारुङले आफ्नो समय चिनेर लेख्न सक्ने कवि नै सफल बन्ने धारणा राख्दै आफूले पोमुमा त्यस्तो छनक टड्कारो रूपमा पाएको दाबी गरे अनि थपे, ‘आफ्नो जाति, संस्कृति, थातथलो र राजनीतिक चेतनालाई कवितामा ल्याउनु नै पोमुको शक्ति र सौन्दर्य हो।’
आहुतिले स्वाभाविक रूपमा पोमुका कवितामा साधनाको कमी मात्र औंल्याएनन् वैचारिक रूपमा पनि उनका कविता पचासतिर फर्केको टिप्पणी गरे। निश्चित उमेरहद पार गरेको कविले आफ्नो विचारलाई पनि एक न एक दिशातिर निर्दिष्ट गर्नैपर्ने उनको सुझाव थियो।
पोमु वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेकाले कार्यक्रममा उनको उपस्थिति थिएन। कविहरू प्रकाश थाम्सुहाङ, चन्द्र रानोहोछा, छम गुरुङ, साङेन बान्तवा र सुनीता खनालले संग्रहभित्रका कविताहरू वाचनसमेत गरेका थिए।
उक्त संग्रह सिङ्पो बुक्सले प्रकाशन गरेको हो। 

प्रकाशित : वैशाख १३, २०७३ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?