३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कलिउड

सुशील पौडेल

काठमाडौं — प्रियंका कार्की अहिलेकी चल्तीकी नायिका त हुन् नै, तुलनात्मक रूपले प्रतिष्पर्धीभन्दा सफल पनि छन् । गत वर्ष उनको ‘वडा नम्बर छ’ हिट भएपछि त झन् एकपछि अर्को फिल्ममा दोहोरिन थालेकी छन् । उत्कृष्ट नायिकाको अवार्ड समारोहमा पनि पछिल्लो समय हात खाली हुन छोडेकी छन्, प्रियंका ।

कलिउड

बरु ब्लक गर्नुस् 

मलाई : प्रियंका कार्की


फलेको रूखमै झटारो हानिन्छ भनेझैं सफलताको शिखरमा पुगेका सेलिब्रिटी अझ त्यसमा पनि नायिकालाई पछ्याउने, जिस्काउने र तनाव दिने कति होलान् ? यस्तै तनावको सिकार भएकी छन्, प्रियंका । तनावले कतिसम्म उग्र रूप लियो भने, यसै साता उनले फेसबुक मार्फत स्टाटस नै लेख्नुपर्‍यो, ‘मेरो मनलाई रुवाउनेहरूका लागि’ भन्दै । लामो स्टाटस लेख्ने क्रममा उनले दु:ख दिने ‘फ्यान’ लाई सार्वजनिक रूपमै चुनौती दिंदै नायिकाले भनेकी छन्, ‘यदि तपाईंलाई म मन पर्दैन भने कृपया मेरो पेज हेर्दै नहेर्नुस् वा ब्लक नै गरिदिनुस् । तर जथाभावी अश्लील नलेखिदिनु होला ।’ 
आफ्नो पेजमार्फत् स्टाटस लेखेको 
एक घन्टा पनि नबित्दै प्रियंकाको स्टाटस भाइरल बनेको थियो । उनको समर्थनमा अन्य कलाकारदेखि फ्यानसम्मले ऐक्यबद्धता जनाएका थिए । एक दिनमा झन्डै ५० हजारले लाइक र १६ सयले सेयर 
गरेका थिए ।
स्टाटसमा प्रियंकाले लेखेकी छन्, ‘जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत वा म्युजिक भिडियो सेयर गर्छु, किन यति धेरै गाली गर्नुहुन्छ ? अश्लील शब्दहरू प्रयोग गर्दा बडा आनन्द महसुस हुन्छ हो ? एकदम महान् काम गरेझैं लाग्छ हो ?’ उनले आफूले कलाकारितालाई नै दिलोज्यान लगाएर काम गर्दा आउने यस्ता आलोचनाले चित्त दुख्ने गरेको बताउँदै भन्छिन्, ‘यहाँहरूको घरमा छोरी चेली छैनन् ? एकपटक सोच्नुस् त, तपाईको घरको दिदी–बहिनी, आमा, भाउजू, छोरीहरूमाथि यस्तो शब्द कसैले प्रयोग गर्दा तपाईलाई कस्तो महसुस हुन्थ्यो ? ठीक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरूलाई पनि ।’

 


राज्यले तोक्ने भयो सेलिब्रिटी

 

से लिब्रिटी त्यो हो, जसका फ्यान फलोईंग उल्लेख्य संख्यामा हुन्छन् र सामाजिक सञ्जालका मार्फत पनि आफ्ना मुद्दा, काम वा विचारलाई बहसमा ल्याउन सक्छन् । हलिउड/बलिउडमा गीत/संगीत र फिल्म क्षेत्रका प्रतिनिधिहरूका सबैभन्दा धेरै फ्यान हुने गर्छन् । त्यसैले सेलिब्रिटी हुन फ्यानको अह्म भूमिका रहन्छ । आजको सेलिब्रिटी भोलि सामान्य पनि बन्न सक्छ र आजको सामान्य भोलिको ठूलो सेलिब्रिटी पनि कहलिन्छ ।
तर नेपालमा भने यतिबेला सेलिब्रिटीको परिचय राज्यले नै दिइरहेको छ । सोमबार मात्रै राज्यले १३ वरिष्ठ कलाकर्मी/फिल्मकर्मीलाई सेलिब्रिटी मान्दै परिचयपत्र प्रदान गरेको छ । जसमा अभिनेता हरिप्रसाद रिमाल, निर्देशक यादव खरेल, अभिनेता, निर्देशक नीर शाह, अभिनेत्री भुवन चन्द, अभिनेत्रीहरू बसुन्धरा भुसाल, सुभद्रा अधिकारी, शकुन्तला शर्मा, निर्देशक चेतन कार्की, गीतकार किरण खरेल, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता उद्धव पौडेल, प्राविधिक गेहेन्द्र धिमाल र छायाँकार मञ्जुकुमार श्रेष्ठ रहेका छन् । 
परिचयपत्र प्रदान गर्दै मन्त्री राईले कलाकारको योगदानलाई राज्यले चिनेर राष्ट्रिय स्तरको पहिचान उपलब्ध गराएको बताएका थिए । चलचित्र विकास बोर्डका सदस्य राजेन्द्र सुवेदीको संयोजकत्वमा कलाकार हरिहर शर्मा तथा सरिता लामिछाने सहितको समितिले सिफारिस गरेका कलाकारलाई पहिलो चरणको परिचयपत्र वितरण गरिएको हो । कार्यक्रममा कलाकार शर्माले परिचयपत्र सेलीब्रेटी कार्डभन्दा फरक रहेको बताए । शर्माले भने, ‘यसलाई सेलीब्रेटी कार्डको रूपमा नहेरेर चलचित्रकर्मीको योगदानलाई राज्यले चिनेको अवस्थाको रूपमा बुझ्नुपर्छ ।’ चलचित्र निर्देशक यादव खरेल चलचित्रकर्मी जनताको नजरमा सधैं परिचित सम्मानित रहे पनि राज्यले पहिलोपटक सम्मान गर्न सुरु गर्नु सकारात्मक रहेको बताए । ‘यो परिचयपत्रको गरिमा सरकारले नै कायम गर्नुपर्छ,’ उनले भने, ‘यसको आवश्यकता, अर्थ, उपयोगिता र परिभाषा सरकारले नै निर्धारण गर्नुपर्छ ।’ अभिनेता नीर शाहले परिचय पत्रले चलचित्रकर्मीलाई सामाजिक उत्तरदायित्व बहन गर्न झक्झक्याउने बताए । 
सरकारले चलचित्रकर्मीको योगदानलाई मूल्यांकन गर्दै परिचयपत्र उपलब्ध गराउन ‘चलचित्रकर्मी परिचयपत्र वितरणसम्बन्धी कार्यविधि’ अनुसार तीन किसिमको परिचयपत्रको व्यवस्था गरेको छ । यसअनुसार विशिष्ट, वरिष्ठ र सामान्य गरी तीन किसिमका चलचित्रकर्मीको परिचयपत्र व्यवस्था गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले परिचयपत्र वितरणको कार्यलाई निरन्तरता दिने बताउँदै दोस्रो चरणको परिचयपत्र वितरण यही वैशाखभित्रमा गरिने जानकारी दिए । 

 

‘समग्र नेपाली समाजको यथार्थ’

काँकडभिट्टा– ‘बाटोमुनिको फूल २’ को प्रवद्र्धनका लागि यसका निर्माता तथा नायक यशकुमार र बाबु बोगटी झापामा व्यस्त छन् । वैशाख १० देखि देशभरका सिनेमा हलहरूमा फिल्म रिलिज हुँदै छ । नेपाली समाजमा विद्यमान जातीय विभेदलाई फिल्मको मुख्य विषय बनाइएको यशले पत्रकार सम्मेलनमा जानकारी गराए । 
‘‘बाटोमुनिको फूल’ को सफलतापछि त्यस्तै प्रवृत्तिको फिल्मको माग दर्शकहरूबाट आएकाले सिक्वेल निर्माण गरेका हौं,’ यशले भने, ‘जातीय छुवाछूतको चपेटामा परेका कथित दलित जातिको कथा फिल्मले बोल्छ । समग्र नेपाली समाजको यथार्थ चित्र फिल्ममा देखाउने प्रयत्न गरेका छौँ ।’ 
उनले फिल्मको ९० प्रतिशतभन्दा बढी छायांकन झापामै गरिएको जानकारी दिँदै कतिपय नपत्याउँदा स्थानलाई समेत फिल्ममा खिचिएको जनाए । ‘२०४० साल र अहिलेको झापा दुवै कालखण्डलाई फिल्ममा समेटेका छौं,’ उनले भने, ‘फिल्ममा झापाकै कलाकारहरूको समेत उल्लेख भूमिका छ ।’ 
सिक्वेलको निर्देशन सुवर्ण थापाले गरेका हुन् । युवा वर्गलाई लक्ष्य गरी बनाइएको ‘बाटोमुनकिो फूल २’ बाट पैसा र समयको सदुपयोग हुने अर्का नायक बाबुले दाबी गरे । ‘यो फिल्म हेर्दा बेकारमा पैसा नाश भयो भन्ने दर्शकलाई लाग्नेछैन,’ उनले भने, ‘प्रेम, रोमान्सका साथै सस्पेन्स थ्रिलर छ फिल्ममा ।’ 
उक्त फिल्ममा यश र बाबुका अलवा दिलीप रायमाझी पनि नायकको भूमिकामा देखिनेछन् । ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी नायिका छन् भने अर्पण थापा खलपात्र छन् । । भेट्रान अभिनेताहरू टीका पहाडी, गणेश उप्रेती तथा अभिनेत्री शुभद्रा अधिकारीको अभिनयले फिल्म दमदार बनेको यशले ठोकुवा गरे । 

 

सोनाक्षी र रेनिशा 
बने चाइल्ड आइकन


चा इल्ड आइकनको उपाधि यस वर्ष सोनाक्षी श्रेष्ठ तथा रेनिशा कार्कीले जितेका छन् । गत शनिवार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यो प्रतियोगिताको ग्रान्ड फिनालेमा ओलम्पिया स्कुलकी सोनाक्षीले ‘चाइल्ड आइकन २०१६ जुनियर’ तथा लिटिल एञ्जल्स स्कुलकी रेनिा कार्कीले ‘चाइल्ड आइकन २०१६—सिनियर’ को उपाधि जित्न सफल भएका हुन् । 
प्रतियोगितामा डीएभी स्कुलकी आरुषी जलान तथा सरस्वती बोर्डिङ स्कुलकी काजोल अधिकारी जुनियर तथा सिनियरतर्फका फस्ट रनर्स अप भए भने ओलम्पिया स्कुलकै येरुषा सिटौला तथा सोही विद्यालयकी आयुश्री सिंहले सेकेन्ड रनर्स अपको उपाधिमा चित्त बुझाए । 
प्रतियोगितामा यथार्थ श्रेष्ठ र साम्राज्ञी राउतले मोस्ट चार्मिङ, सिन्जा अधिकारी तथा शिवांगी शाहले बेस्ट क्याटवाक, आसिफ मलिक तथा रुजल राजोपाध्यायले बेस्ट पर्सनालिटी, नूर श्रेष्ठ तथा विभूति घिमिरे बेस्ट परफरमेन्स, लक्ष्य रजक तथा ओन्स गौतमले मोस्ट फोटोजेनिक, सिम्रा साम्पाङ तथा आर्या बज्राचार्यले बेस्ट डिसिप्लिन, सुभल अवाले तथा सोना भेटवालले क्याटेस्ट चाइल्ड, रेशिका तण्डकाुर तथा अमीरचन्द्र विवेकले मोस्ट कन्फिेडेन्ट, रोजा श्रेष्ठ तथा काजोल अधिकारीले बेस्ट हेयर, सिल्फ श्रेष्ठ तथा चुनौती लिम्बुले बेस्ट स्किन, जस्मिन काफ्ले तथा धनञ्जय कर्णले बेस्ट स्माइल, सैफ मलिक तथा मुस्कान वैद्यले बेस्ट फ्रेन्डसिप, एन्भी श्रेष्ठ तथा दीप्शा प्रधानले मोस्ट हेल्दी, सभरजंग खड्का तथा सूर्य विदुषी दाहालले बेस्ट सोसल सर्भिस, आर्यन अमात्य तथा स्वर्णीमा श्रीले स्मार्ट चाइल्ड विधाको अवार्ड जित्न सफल भए । 
मिडिया ल्यान्डद्वारा आयोजित प्रतियोगिताको कोरियोग्राफी गायिका प्रशंसा श्रेष्ठले गरेकी हुन् । प्रतियोगिताको क्रममा निशा देसार, जुना प्रसाईं, प्रशंसा श्रेष्ठ, रूपक डोटेल आदि गायक–गायिकाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए । 

प्रकाशित : वैशाख १९, २०७३ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?