हस्तान्तरण नहुँदै बबई र कर्णालीको पुल जोखिममा

कमल पन्थी

गुलरिया — पुल वरिपरि र कटान क्षेत्रमा तटबन्ध नहुँदा बबईको जब्दीघाट र कर्णाली नदीमा निर्माणाधीन राजापुरको पुल हस्तान्तरण नहुँदै नदी कटानको उच्च जोखिममा परेका छन् ।

असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको हो । निर्माण कम्पनीले पाँच सय मिटर मात्र तटबन्ध गर्ने जिम्मा लिएको जनाएको छ । पुल आसपासको क्षेत्रमा करिब २ किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको डिभिजन सडक कार्यालयले जनाएको छ । डिभिजन प्रमुख राजेश यादवले नदीको दुवैतर्फ तटबन्ध नभएका कारण पुल उच्च जोखिममा भएको बताए । नदीले कटान गर्ने पूर्वी भेगको अधिकांश ठाउ‘मा तटबन्ध हुनुपर्ने भए पनि बजेट अभावका कारण समस्या भएको उनले जनाए । दुई वर्षअघि आएको बाढीले बालुवा थुपारेकाले पुल माथिबाट पानी बग्ने खतरा भएको प्राविधिकहरूको भनाइ छ । प्राविधिकहरूका अनुसार वर्षायाममा ठूलो बाढी आउनासाथ बगेर आउने रूखले ठक्कर दिने र पुल पानीले थुनिने भएकाले जोखिममा परेको हो ।
निर्माण कम्पनीको ढिलासुस्तीले यो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले हस्तान्तरण गर्ने योजना रहेको कार्यालयले जनाएको छ । १६ करोड ६८ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलमा १७ वटा पिलर रहेका छन् । ४ सय २५ मिटर लामो उक्त पुल ६८ असार २२ गते शिलान्यास भएको थियो । बालुवा हटाउन नसक्दा समस्या भएको प्रमुख यादवले बताए ।
यसैगरी निर्माण सम्पन्न भई हस्तान्तरण नभएको कैलाली जोड्ने कर्णाली नदीस्थित राजापुरको पुल नदी कटानको जोखिममा परेको छ । स्थानीय राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी लगायतका अनुगमनका टोलीले नदी कटानको जोखिममा रहेको पुल तटबन्धन गर्न सम्बन्धित निकायमा जानकारी गराए पनि बेवास्ता भएको जनाए । हुलाकी राजमार्गअन्तर्गत उक्त पुल ४६ करोडको लागत निर्माण भएको हो ।
पुलको दक्षिण भेगमा नदीले कटान गर्दे गएको छ । हुलाकी आयोजना प्रमुख तुरन्त मण्डलले नदी नियन्त्रणको बजेट नभएकाले तटबन्धन गर्न नसक्ने बताए ।

प्रकाशित : वैशाख २०, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?