जलवायु परिवर्तनमा ७ करोडको पुरस्कार

काठमाडौं — ‘आइडियाज टु इम्प्याक्ट’ ले जलवायु परिवर्तनको अनुकूलनमा नवीनतम समाधानहरूका कार्यक्रमलाई व्यापक ढंगले अघि बढाउनेहरूलाई नगद पुरस्कार ‘एडप्टेसन एट स्केल अवार्ड’ अर्थात् ‘अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार’ घोषणा गरेको छ ।

राजधानीमा समारोह गरी घोषणा गरिएको पुरस्कारका लागि देशव्यापी रूपमा आवेदन खुला भएको आयोजकले जनाएका छन् । अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कार ‘आइडियाज टु इम्प्याक्ट’ ले बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी) को आर्थिक सहयोग र आईएमसी वल्र्डवाइडको व्यवस्थापकीय सहकार्यमा घोषणा गरेको हो ।
जलवायु परिवर्तनको असरबाट प्रभावित र जोखिममा रहेका आमनागरिकलाई अनुकूलन हुन सहयोग गर्ने नवीनतम उपाय वा समाधान ल्याउनेलाई नगदबाट पुरस्कृत गरिने अनुकूलन व्यापकता प्रवद्र्धन पुरस्कारका टिम लिडर पुरुषोत्तममान श्रेष्ठले बताए ।
यस पुरस्कारअन्तर्गत दुई छुट्टाछुट्टै प्रकारका पुरस्कार रहेका छन् । यो पुरस्कारमा छनोट हुन दुई चरणमा संघसंस्थाले दाबी गर्न सक्नेछन् । पहिलो चरणअन्तर्गतको पुरस्कारको राशी १ लाख ५० हजार पाउन्ड स्टर्लिङ (करिब दुई करोड ३१ लाख रुपैयाँ) रहेको छ । यो पुरस्कारका लागि छनोट गरिएका संघसंस्थाले जलवायु परिवर्तनको असरसँग जुझ्न वा अनुकूलित हुनका लागि अति गरिब र अति जोखिममा रहेका नागरिकलाई सहयोग गरेको हुनुपर्नेछ ।
यही कामलाई बृहत् क्षेत्रमा विस्तार गरी बढीभन्दा बढी जोखिममा परेका व्यक्तिलाई अनुकूलित हुन सहयोग पुर्‍याउने नवीनतम उपायहरूलाई यो प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
त्यस्तै, दोस्रो चरणअन्तर्गत कार्यान्वयन नामको अर्को पुरस्कार रहेको छ । यो पुरस्कारको राशी ३ लाख २५ हजार पाउन्ड स्टर्लिङ (करिब ५ करोड ५० हजार रुपैयाँ) रहेको छ । यो पुरस्कार प्राप्त गर्नका लागि पहिलो चरणमा प्रस्तुत गरिएका जलवायु परिवर्तन अनुकूलनका नवीनतम उपायहरूको योजनालाई ठूलो क्षेत्रमा कार्यान्वयन गरिएको हुनुपर्ने श्रेष्ठले बताए । साथै जलवायु परिवर्तनसँग अनुकूलित हुन गरिब र अति जोखिममा रहेका आमनागरिकले आफ्ना क्षमताको विकासमा ती नवीनतम उपायको कार्यान्वयनबाट सकारात्मक परिमाण आएको हुनुपर्नेछ । यो पुरस्कार पहिलो चरणको प्रोत्साहन पुरस्कार प्राप्त गरिसकेपछि डिसेम्बर २०१६ मा सुरु गरिनेछ ।
समुदायलाई नवीनतम समाधानका उपाय निकाल्न अपनाइएका प्रविधिबारे जानकारी दिन र समुदायले त्यसलाई आत्मसात गराउन, उनीहरूकै संलग्नतामा नया प्रविधिलाई स्वीकार गर्ने प्रणालीको विकासका लागि पुरस्कार ल्याइएको बताए । यो पुरस्कारअन्तर्गत विशेषत: जलवायु परिवर्तनमा अनुकूलनका लागि स्थानीय स्तरमा काम गर्दै आएका गैरसरकारी संघसंस्था, समुदायमा आधारित संघसंस्था वा नागरिक समाज, व्यापारिक संस्था वा सामूहिक पहलमा नवीनतम विचार बोकेका वा कार्य थालनी गर्ने संस्थाहरूले आफ्नो आवेदन दिन सक्ने छन् ।

  • पुरस्कार राशि २ करोड ३१ लाख र ५ करोड ५० हजार रुपैयाँ
  • पुरस्कृत हुन गरिब र जोखिममा रहेका नागरिकलाई जलवायु परिवर्तनको असरसँग जुझ्न वा अनुकूलित हुन सहयोगी काम गरेको हुनुपर्ने

प्रकाशित : वैशाख २७, २०७३ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?