म्यानपावरको भूमिका यस्तो

उपत्यका
जनकराज सापकोटा

काठमाडौं — महानगरीय प्रहरी अपराध महाशाखाले २७ वैशाखमा गौशाला क्षेत्रबाट तीन ट्राभल्स एन्ड टुर्समा छापा मार्‍यो ।

म्यानपावरको भूमिका यस्तो

अवैध रूपमा श्रमिक विदेश पठाउने काममा संग्लन रहेको भन्दै प्रहरीले ती ट्राभल्स कम्पनीका सञ्चालकहरूलाई पक्राउ गर्‍यो । यही आरोपमा ट्राभल्स एन्ड टुर्सका सञ्चालकहरू पक्राउ परेको यो न पहिलो घटना हो न अन्तिम । ठयाक्कै यही अभियोगमा प्रहरीले कन्सल्टेन्सीहरूमा पनि लगातार छापा मारिरहेको छ । तर, कन्सल्टेन्सी र ट्राभल्स कम्पनीबाट अवैध रूपमा कामदार पठाउने क्रम रोकिएको छैन । 

२७ वैशाखमा प्रहरीले गौशाला नजिकबाट राज एन्ड रोज ट्राभल्स एन्ड टुर्स, किंग अकबर ट्राभल्स ग्रुप प्राइभेट लिमिटेड, सिटी ट्राभल्स एन्ड टुर्स प्रालि, हिमालयन रेड पान्डा ट्राभल्स एन्ड टुर्स प्रालि, रेज मेडिकेयर सेन्टर र इन्टरनेसनल ट्रेड लिंक्स नेपालमा छापा मारेको थियो । छापा मारिएकामध्ये अधिकांश ट्राभल्स कम्पनीको वैदेशिक रोजगार व्यवसायीसँग सोझो र निकट सम्बन्ध देखिन्छ । यस्तै सम्बन्धका आडमा उनीहरूले आफैं छाया स्वरूपमा म्यानपावर कम्पनीको काम गरिरहेका देखिन्छन् । यसो गर्दा कामदार पठाएबापत आउने मोटो रकम हात पर्ने र कामदार पठाउँदा विमान सेवा कम्पनीबाट पनि धेरै मुनाफा पाइने हुन्छ ।
महानगरीय अपराध महाशाखको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ का १० महिनामा मात्रै कन्सल्टेन्सीबाट हुने ठगीका ४४ मुद्दा दर्ता भएका थिए । जसमा ४६ जना पक्राउ परेका थिए । त्यस्तै विदेश पठाइदिने भन्दै एजेन्टमार्फत हुने ठगीका २२ मुद्दामा २४ जना पक्राउ परेका थिए । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन ट्राभल एजेन्सीका ७ जना योबीचमा पक्राउ परे । वैदेशिक रोजगारीकै नाममा हुने ठगीमा संग्लन भएकोमा १२ मुद्दा म्यानपावर व्यवसायीको नाममा चल्यो । जसमा १३ जना पक्राउ परेका थिए । महाशाखाका अनुसार १० महिनाको अवधिमा वैदेशिक रोजगारीसँग प्रत्यक्ष/परोक्ष ठगी र किर्तेका कुल ७९ मुद्दा चलेका थिए भने जसमा ९० जना पक्राउ परेका थिए । यो तथ्यांकले प्रत्येक महिना विदेश पठाइदिन्छु भन्दै औसतमा ८ मुद्दा चलेका देखिन्छन् ।
वैदेशिक र स्वदेश यात्रामा हवाई र स्थल टिकटको काम गर्ने ट्राभल एजेन्सीको काम यतिमै सीमित छैन । अपराध शाखाका अनुसार कैयन ट्राभल एजेन्सीहरू हुन्डीको करोबारमा पनि संग्लन भेटिएका छन् । पछिल्ला १० महिनामा ७ मुद्दा हुन्डीका कारोबारसँग सम्बन्धित छन् । जसमा ट्राभल एन्ड टुर्सका अलवा मनी एक्सेन्चरहरू पनि मुछिएका छन् । कन्सल्टेन्सीहरूको बदामासी पनि योभन्दा कम छैन । कतिसम्म भने प्रहरीले छापा मार्दा एक कन्सल्टेन्सीबाट १२ सम्म सरकारी कार्यालयका किर्ते स्ट्याम्प भेटिएको थियो । 
केही ट्राभल एजेन्सीले भने वैदेशिक रोजगारीमा जान आवश्यक नक्कली पुलिस रिपोर्ट र 
नक्कली मेडिकल रिपोर्टसमेत बनाउने गरेको भेटिएको थियो ।
कारबाहीका क्रम लगातार चलेपछि दर्ता नभई सञ्चालनमा आएका कन्सल्टेन्सीहरू सरकारी दायरामा आउन थालेका छन् । अपराध महाशाखाका अनुसार १५६ को संख्यामा मात्रै दर्ता भएका कन्सल्टेन्सीहरू कारबाहीलगत्तै दर्ता हुने क्रम बढेर ५ सयको हाराहारीमा पुगेको छ । महाशाखाका प्रमुख एवं एसएसपी सर्वेन्द्र खनाल कन्सल्टेन्सी र ट्राभल एजेन्सीको एउटा कामको बोर्ड टाँगेर अरू नै अवैध काममा सक्रिय हुँदा व्यापक समस्या देखिएको बताउँछन् । भन्छन्, ‘टिकट काट्ने ट्राभल एजेन्सी र विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरू वैदेशिक रोजगारीमा मान्छे पठाउने म्यानपावरजस्ता देखिएको पाइयो ।’ 

प्रकाशित : वैशाख ३१, २०७३ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?