चिकित्सक थपिएपछि बिरामी बढे

भवानी भट्ट

कञ्चनपुर — केही महिना अघिसम्म सामान्य प्रसूति सेवाका लागि पनि धनगढी तथा सीमावर्ती भारतीय बजार धाउनुपथ्र्याे । महाकाली अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी जोखिम मोल्न चाहँदैनथे । तर, अहिले विशेषज्ञ चिकित्सक आएपछि प्रसूतिसँगै उपचार सेवामा सुधार आउन थालेको छ । बिरामीको चाप दिनहुँ बढ्न थालेको हो ।

चिकित्सक थपिएपछि बिरामी बढे

जटिल खालका प्रसुति सेवा र अन्य उपचारसमेत यहींबाट प्रदान भइरहेको छ । ‘दैनिक २ जनाको शल्यक्रियाबाट प्रसूति गराइन्छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने, ‘सामान्य खालका अन्य शल्यक्रिया सेवा पनि प्रदान भइरहेको छ ।’ अहिले दैनिक २ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।
फागुन अन्तिम साता स्त्रीरोग विशेषज्ञ डा. सलिना खड्का, बालरोग विशेषज्ञ डा. सुशन भट्टराई र हाडजोर्नीका डा. अर्जुन डुम्रे अस्पतालमा हाजिर भएका हुन् । दुई साताअघि सर्जन डा. घनश्याम थापा पनि थपिए । उनी आएपछि जटिल खालका प्रसूति सेवा र अन्य शल्यक्रिया गर्न सहज भएको डा. तिवारीले बताए । हाडजोर्नी तथा बालरोगसम्बन्धी बिरामीसमेत बढेको अस्पतालले जनाएको छ । सामान्य शल्यक्रियाबाट निको हुने हाडजोर्नी समस्या पनि अञ्चल अस्पतालबाटै समाधान भइरहेको डा. तिवारीले बताए । ‘जटिल खालको शल्यक्रियाका लागि आईसीयू नहुँदा समस्या छ,’ उनले भने, ‘अन्य उपकरण पनि पर्याप्त छैनन् ।’ 
जनशक्तिसँगै उपकरण बढाउनुपर्ने आवश्यकता छ । इमरजेन्सी वार्डमा पनि बिरामीको चाप बढेको छ । दैनिक ४० देखि ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ । केही दिनअघि मात्रै काजमा रेडियोलोजिस्ट रितेश थापा र एनेस्थेसियन सुनिलकुमार पनि थपिएका छन् । एक जना मात्र दरबन्दीका चिकित्सक रहेको अस्पतालमा ३ जना मात्रै भए पनि विशेषज्ञ र सर्जन थपिँदा सर्वसाधारण पनि आशावादी भएका छन् । अझै पनि मेडिकल अधिकृत र विशेषज्ञ पर्याप्त नभएको स्थानीयवासी बताउँछन् । ‘यतिले मात्रै पुग्दैन्,’ नागरिक समाजका सचिव कोमल भाटले भने, ‘कम्तीमा सामान्य उपचारका लागि बाहिर जानु नपर्ने गरी सेवा प्रदान गर्न सक्ने जनशक्ति र उपकरण उपलब्ध हुनुपर्छ ।’ विशेषज्ञसहित १८ चिकित्सक दरबन्दी रहेको अस्पतालमा गत साउनमा ९ जनाको दरबन्दी थपिएपछि उक्त संख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभागले दरबन्दी थपे पनि चिकित्सक नथपिने गरेकाले बिरामी समस्या झेलिरहेका छन् । ‘अहिले पनि फिजिसियन र एनेस्थिेसियन अति आवश्यक छ,’ अस्पताल विकास समितिका अध्यक्ष खिमलाल घिमिरेले भने, ‘कम्तीमा ५ जना मेडिकल अधिकृत र ५ जना स्टाफ नर्स आवश्यक छ ।’
स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयबाट गतवर्ष आईसीयू सञ्चालनका लागि आएका उपकरण गोदाममा थन्क्याइएको छ । अझै पर्याप्त जनशक्ति नहुँदासम्म आईसीयू सञ्चालन गर्न नसकिने डा. तिवारी बताउँछन् । ‘एक/दुई जना डाक्टरको भरमा आईसीयू सञ्चालन गर्न सकिँदैन,’ उनले भने, ‘भोलि डाक्टरहरू अन्यत्र गए काम ठप्प हुन सक्छ ।’ 
हुम्लामा पनि थपिए चार चिकित्सक
हुम्ला– सधैं चिकित्सक अभाव हुने हुम्लामा पहिलोपटक चार जना आएका छन् । दुई चिकित्सक दरबन्दी भएको अस्पतालमा चार जनाले सेवा दिन थालेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले स्मृति महत, अनिलकुमार गुप्ता, छविलाल बास्तोला र केशव भट्टराईले बिरामीको उपचार गरिरहेको बताए । दुईजना चिकित्सक करारमा नियुक्त भएका हुन् ।
सरकारले यो वर्ष जिल्लामा आकस्मिक प्रसूति र नवजात शिशु स्वास्थ्य सेवा लागु गरेपछि डा. केशव भट्टराईले सेवा दिइरहेका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डब्बल रावलले चारजना चिकित्सकको सेवापछि शल्यक्रियामार्फत प्रसूति हुने महिलादेखि सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहज भएको जानकारी दिए । सेवाको स्तर बढेपछि रेफर दर पनि घटदै गएको श्रेष्ठको भनाइ छ । यसअघि एक जना चिकित्सक मात्र कार्यरत हुने र उनी काज तथा सेमिनारमा जाँदा सहायकको भरमा अस्पताल छाड्नुपर्ने बाध्यता थियो । जिल्ला अस्पतालमा अहिले चिकित्सक सेवा प्रर्याप्त भए पनि गाउँमा भने जनशक्ति अभाव छ । सूचना अधिकारी श्रेष्ठले एक सय ९२ दरबन्दी रहेकोमा एक सय तीन पद मात्र पूर्ति भएको बताए । दरबन्दी अनुसार ५४ प्रतिशत पद पूर्ति भएको र ४६ प्रतिशत रिक्त छ । अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन बिग्रेपछि बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।

 

  • प्रसूति सेवामा सुधार
  • शल्यक्रिया पनि गरिँदै
  • भारतीय अस्पताल धाउनुपर्ने बाध्यता हट्यो

 

प्रकाशित : जेष्ठ ४, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?