२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जथाभावी गिट्टी, बालुवा निकासी

पिठुवा (चितवन) — जिविसले आफ्नै कर्मचारीको रोहबरमा कालिका नगरपालिकास्थित कयरखोलाबाट जथाभावी गिटी बालुवा निकासी भइरहेको जनाएको छ । जिविसबाट बिहीबार गएको अनुगमन टोलीले गिटी बालुवा ढुवानीमा मनपरी गरेको फेला पारेको थियो ।

जिविसले जिल्लाका विभिन्न निकायको आवश्यकता पूर्तिका लागि राजस्व लिएर निश्चित अवधिका लागि गिटी बालुवा निकासी खुलाएको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्काभेटर सञ्चालन गरिएको छ । यस्तो स्रोत लिन जाने ट्रयाक्टरको निगरानी र राजस्व संकलनका लागि कर्मचारी खटाएको छ । टोलीमा संलग्नका अनुसार त्यहाँ परिचालित ट्रयाक्टरले बिहान एक ट्रिप गिटी बालुवाको राजस्व बुझाएर दिनभर ओसारेको पाइएको थियो । ‘बिहान एक ट्रिपको रसिद काटेको हो,’ एक ट्रयाक्टर चालकले भने, ‘अहिलेसम्म ७ ट्रिप ओसारी सकें ।’
जिविस कर्मचारीका अनुसार एकपटक गिट्टी बालुवा ओसारेको एउटा ट्रयाक्टरले ३ सय १८ रुपैयाँ राजस्व बुझाउनुपर्छ । यस्तो रसिदमा गिटी बालुवा लोड गरेको समय उल्लेख गरिनुपर्छ । तर अधिकांश चालकसित भेटिएका रसिदमा समय उल्लेख थिएन । रसिद नै नलिएका ट्याक्टरले पनि नदीजन्य पदार्थ ओसार–पसारमा संलग्न थिए । कालिका नगरपालिकास्थित पिठुवा सिँचाइको मुहान नजिकै कयरखोलामा गिटी बालुवा निकासीका लागि जिविसले अनुमति दिएको छ । त्यहाँबाट दिनमा दर्जनौं ट्रयाक्टरले नदीजन्य पदार्थ ओर्साछन् । कयरखोलाका दक्षिणी क्षेत्रमा पनि मनपरी उत्खनन भइरहेको छ ।
जिविसको योजना शाखाका अधिकृत प्रकाश पौडेलले रसिद नकाटेर गिटी बालुवा ओसार्दा कार्यालयलाई राजस्व घाटा लागेको बताए । ‘कसले कति निकासी गरे, यसरी पत्तो लाग्दैन,’ उनले भने, ‘प्राविधिक बोलाएर खोला परीक्षण गराउनुपर्छ ।’ उनका अनुसार ट्रयाक्टर चालकसित जिविसको रसिद थिएन । तर स्काभेटर सञ्चालकले सादा कागजमा उल्लेख गरेका धेरै चिट थिए । बिहीबार कयरखोलामा भइरहेको नदी नियन्त्रण योजनाको अनुगमन गर्न गएको कर्मचारीसहित पत्रकार महासंघ र भष्ट्राचार अभियान्ता सहभागी टोलीले नियमविपरीत निकासी भइरहेको फेला पारेको थियो । ‘जताततै उत्खनन भइरहेको पाइयो,’ भ्रष्टाचारविरुद्ध अभियन्ता शर्मिला पण्डितले भनिन्, ‘गिट्टी, बालुवाको लेखाजोखा देखिएन ।’ अमानतका लागि खटेका राजुु त्रिपाठीले चोरी नाकाबाट ट्रयाक्टरले राजस्व छलेर गिटी बालुवा लैजाने गरेको दाबी गरे । ‘८ किमि टाढा सम्मबाट निकासी हुन्छ,’ उनले भने, ‘यति लामो दूरीसम्म दौडधुप गर्न सकिँदैन ।’
टोलीलाई देखेपछि पिठुवाको नयाँ सुकुम्बासी नजिक खोलाबाट जथाभावी उत्खनन गरिरहेको स्काभेटर भागेको थियो । टोलीले अनुगमन गरेको जानकारी आदानप्रदान भएपछि ट्रयाक्टरबीच भागाभाग मच्चिएको थियो । बिहीबार दिउँसो एकैपटक ५० भन्दा बढी ट्रयाक्टर ओहोरदोहोर गरिरहेको फेला परेका थिए ।
जिविसको अनुमतिमा उत्खनन भइरहेको ठाउँमा २ वटा स्काइभेटर सञ्चालन गरिएको छ । स्काभेटरले बालुवा गिटी ट्रयाक्टरमा लोड गरेको एकपटकको ५ सय रुपैयाँभन्दा बढी लिने गरेका छन् ।
लेखा अधिकृत शरदचन्द्र शर्माले जिविसले तोकेको क्षेत्रभन्दा बाहिर गई निकासी गरेकाले खोलामा रहेका ट्रयाक्टरलाई लखेटेको बताए । ट्रयाक्टरले नियम मिचेर जथाभावी गरेको पाइएपछि अधिकृत पौडेलले स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेललाई जानकारी गराएका थिए । ‘मुहान हानि हुने गरी जथाभावी निकासी गरेको पाइए कारबाही हुन्छ,’ प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने ।

प्रकाशित : जेष्ठ २५, २०७३ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?