‘पहिले प्रकाशक भेटिएन, अहिले थामिनसक्नु’

काठमाडौं — मोफसल र राजधानीको ‘विभेद’ बारे जतिसुकै सतहमा चर्काचर्की गरे पनि यसको मार व्यवहारमा भोग्नेहरूको कथा अलग्गै हुन सक्छ । यस्तै एक ज्वलन्त भुक्तभोगी हुन्– रामलाल जोशी ।

‘पहिले प्रकाशक भेटिएन, अहिले थामिनसक्नु’

रामलालको कथा संग्रह ‘ऐना’ ले अहिले नसोचेको चर्चा पाइरहेको छ । डोटीमा जन्मे–हुर्केका रामलाल अहिले धनगढीका स्थायी बासिन्दा छन् । उनी धनगढी बजारको पञ्चोदय उच्च माविमा नेपाली विषय शिक्षक छन् । पेसागत कुरोभन्दा बढी नेपाली भाषा–साहित्यमा रुचि भएकै कारण रामलाल जानीनजानी कवि बने, गजलकार बने र, कथाकार बने । ‘तर जता जेजसो बने पनि म बिकाउ बन्न जानिनँ,’ संस्कृति मन्त्रालयले हरेक वर्ष दिने राष्ट्रिय प्रतिभा पुरस्कार पाउने भएपछि त्यो ग्रहण गर्न काठमाडौं आएका रामलाल यो साता कान्तिपुर कार्यालयमा आएका थिए र, एकैसाथ मनको बह पोख्दै थिए ।

‘म सुदूरपश्चिमेली हुँ क्यारे,’ उस्तै सुदूर टोनमा रामलालले सुनाए, ‘त्यहाँ पुग्नै राजधानी काठमाडौंबाट कम्तीमा १२ घण्टा बसयात्रा गर्नुपर्छ, यो दूरी हरेक तह र तप्कामा देखिने गरेको छ– ठूलो विकास, सुधारको कुरा होस् वा सानो मौका, अवसर ।’ सुदूर पश्चिमाञ्चल साहित्य समाज अध्यक्षसमेत रहेका रामलाल मूलथरमा तिमिल्सिना हुन्, तर उनले सबैतिर जोशी थर लेखाएका छन् । १५ वर्षअघि गजल संग्रह ‘हत्केलामा आकाश’ निकालेर सुदूरपश्चिमको सृजनशील दुनियाँमा नाम उभ्याउन थालिसकेका रामलाल अहिले आएर ‘ऐना’ कथासंग्रहपछि मात्रै राजधानी काठमाडौंसम्म चियोचर्चोमा जोडिएका छन् । त्यो पनि मदन पुरस्कारको ‘उत्कृष्ट सात’ को सूचीमा परेपछि रामलाल आफ्नो ‘ऐना’ कृति बोकेर गफिन सक्ने भएका छन् ।

‘ऐना’ को सबैजसो खुराक पाठकका लागि भर्जिन छन्, यसको कथानक र विषयवस्तु पनि भर्जिन छ । रामलालले स्थानीयता र आञ्चकिलताको स्वाद ‘ऐना’ भरि भरेका छन् । त्यही भएर उनी हक्की भएर भन्छन्, ‘त्यही नयाँपनको विश्वास भएर मैले आफ्नै गोजीको पैसा हालेर पुस्तक छापेको थिएँ । अहिले भने स्थिति सहज भैसकेको छ, झन्डै दुई वर्षसम्म पुस्तक छापिदिने प्रकाशक खोजी हेर्दा
कोही नभेटेको कन्तबिजोग–कहानी अहिले के सुनाउनु ?’

‘ऐना’ को पहिलो संस्करण गत वर्ष चैतमा निस्क्यिो १२ सय प्रति । त्यसका लागि रामलालले शिक्षक पेसाबाट कमाएर जोगाएको १ लाख ३० हजार रुपैयाँ खर्चेका थिए । प्रकाशकको नाम ब्रदर बुक्स भए पनि खासमा त्यो वितरक मात्रै थियो, त्यो पनि ४५ प्रतिशत कमिसन लिने सर्तको वितरक । त्यही सर्तनामामा आफ्नै गोजीको पैसा खर्चेर रामलालले दोस्रो संस्करण पनि गत महिना निकाले, २ हजार प्रति । ‘अब अहिले आएर मदन पुरस्कारको छनोट सूचीमा ‘ऐना’ को नाम आएपछि नयाँ संस्करण निकाल्ने भनेर काठमाडौंदेखि कैलालीसम्मका सबैजसो प्रकाशक आफैं सम्पर्कमा आइपुगेका छन्,’ बलेको आगो ताप्ने दुनियाँका भुक्तभोगी रामलालले सुनाए, ‘काठमाडौंमा निकै नाम चलेका चल्तापुर्जा प्रकाशकले पनि ‘तपाईंको पुस्तक विशेष प्राथमिकतामा हामी छाप्छौं’ भनेको सुन्दा मात्रै पनि म पुरस्कृत भएझैं अनुभव भैरहेको छ ।’

रामलालले पूर्वी नेपालको समाज र सन्दर्भ उति बुझेका रहेनछन् । यसकारण पश्चिमी नेपालको दु:ख, हैरानी र बिडम्बनासँग उनले अरूतिरको तुलनै गर्न चाहेका छैनन् । अथवा, पाएकै छैनन् । ‘जता जेहोस्, मलाई जीवनजस्तै कथा लेखौं न भन्ने हुन्छ,’ उनले सुनाए, ‘‘ऐना’ मा त्यही जीवन भोगाइ र अनुभूतिको दृश्यचित्रलाई उतारेको हुँ ।’ उनले आफ्नो पुस्तक आवरण बनाउने क्रममा टाइम्स क्रिएसनका सुन्दर बस्नेतलाई ‘ऐना’ को पृष्ठभूमिमा मान्छेको जिन्दगी चर्किएको छायाचित्र उतारिदिन भनेका रहेछन् । तर, चर्किएको ऐनाको पृठभूमिमा उभिएकी युवतीको आवरण झनै अर्थपूर्ण बनेको प्रतिक्रिया यतिखेर पाइरहेका छन् ।

४२ वर्षे रामलाल कथा/कविता लेखेरै कमाइ गर्न सकिने अथवा जीविकोपार्जन गर्न सकिने कल्पनामा रमाउन चाहँदैनन् । तर, काठमाडौं राजधानीमा बस्न पाएको भए थप सृजनशील बन्न वा व्यावसायिक लेखनको ‘च्यानल’ बनाउन सकिन्थ्यो कि भन्ने लागिरहन्छ । ‘तैपनि सुदूरपश्चिममा बसेर देखेको ‘ऐना’ को प्रतिच्छाया राजधानीसम्म अहिले आइपुगेजस्तो लागेको छ,’ खुसी हँुदै उनले सुनाए, ‘म यो कुरामा दङ्दास छु ।’

प्रकाशित : श्रावण ९, २०७३ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?