कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

भिरालोमा ब्रेकफेल

१४ को मृत्यु, २७ घाइते

धनकुटा/धरान — धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा बिहीबार १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माओवादी नेता एवं पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित छन् ।

भिरालोमा ब्रेकफेल

संखुवासभाको मुढेशनिश्चरेबाट तेह्रथुमको वसन्तपुर हँुदै धरान जाँदै गरेको बा२ख ७३६६ नम्बर बस सवा १२ बजे सडकबाट करिब सय मिटर खसेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत रहेका ४५ वर्षीय खेवा, परेवादिन ४ का ४० वर्षीया तारादेवी बस्नेत र उनकी २ वर्षीया छोरी लिरी छन् । यसैगरी, परेवादिन ५ की अतिमाया तामाङ, धरान २ का वेदप्रकाश अग्रवाल, बुढीमोरङ ८ का ३२ वर्षीय बसचालक सनम तामाङ, मारेकटहरे ३ का ५२ वर्षीय वीरबहादुर काफ्ले, परेवादिन ५ की ५० वर्षीया खिनमाया भट्टराई, तेह्रथुम फुलेक ६ की १२ वर्षीया होमा पौडेल, लेगुवा २ का १५ वर्षीय तेजबहादुर थापा र संखुवासभा, मादीका टंक कटवालको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशरीराज घिमिरेले बताए ।

मृतक तीन जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । नाम नखुलेका थप एक जनाको धरानमा उपचार हुँदाहुँदै राति अबेर मृत्यु भएको हो । घटनास्थलमा ७ जनाको मृत्यु भएको थियो । अन्यको उपचार क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २७ जनाको धरान, धनकुटा, विराटनगर लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बाक्लो हुस्सु लागेको तथा वर्षा भइरहेका बेला दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खडकाले बताए । नेता खेवा पार्टीका पूर्व जिल्ला सदस्य मारेककटहरे घर भएका यामकुमार कार्कीको बुवाको निधन भएकाले समवेदना व्यक्त गर्न गएर फर्कने क्रममा थिए । उनी चित्रेबाट १५ मिनेट अगाडि बस चढेका थिए ।

बसमा ४० जनाभन्दा बढी यात्रु रहेको र दुर्घटना स्थलमा आउनुभन्दा १ किलोमिटर माथिबाट ब्रेक फेल भई अनियन्त्रित भएर घुम्तीबाट करिब सय मिटर तल झरेको घाइते भोला थापाले बताए । चालकले यात्रुले सुन्ने गरी ब्रेकफेल भएको जानकारी गराउँदै गर्दा दुर्घटना भएको बताए । जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइते थापाले बसले सडक छाडेपछि उत्तीसको रूखमा ठोकिएको मात्र याद भएको बताए । अचानक बसको ब्रेक फेल भएको थाहा पाएपछि चालक सोनम तामाङले करिब तीन सय मिटरसम्म सम्हाल्दै सामान्य ओरालो बाटोमा कुदाए । तर बसको गति नियन्त्रण गरी थप सम्हाल्न नपाउँदै सिधुवा चर्च नजिकैको घुमाउरो बाटोमा मोडिन नसक्दा दुई सय मिटर तल कान्लामा झर्‍यो ।

सक्दो जोगाउँदा जोगाउँदै पल्टेपछि चालक सोनमको दुर्घटनास्थलमै मृत्यु भयो । उनी झ्यालबाट हाम फाल्न पनि सक्थे तर त्यसो गरेनन् । चालकले भालुखोपमा बसको ब्रेक फेल भएको थाहा पाएपछि जोगाउँदै नियन्त्रण गर्ने प्रयास गरेको चालकका छेउमा बसेका घाइते यात्रुहरूले बताए ।

दुर्घटनामा श्रीमती अतिमायालाई गुमाएका सिधुवाका ४१ वर्षीय घाइते बलबहादुर तामाङले भने, ‘श्रीमती चालक नजिकको सिटमा बसेकी थिइन्, म ढोकाछेउ सिटमा थिएँ, ब्रेक फेल भयो भन्ने सुनेसँगै बसको स्पिड पनि बढ्यो, सबै आत्तिएर रुन, कराउन थाले, यत्तिकैमा पल्टियो ।’

उनीहरू तेह्रथुमको वसन्तपुरबाट घर सिधुवा आइरहेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेकी रेनुका मगरले भनिन्, ‘नन्द सोनिका कार्कीसँग मुढेबाट घर फर्किरहेका बेला एकैचोटि गन्द्राङगुन्द्रुङ गरेर पल्टेको मात्र थाहा छ । अस्पतालमा मात्र होस आयो ।’

दुर्घटनामा परेका तर सामान्य अवस्थामा रहेका मुढेका १९ वर्षीय राजन तामाङले भने, ‘बस करिब दुई सय मिटर तल पल्टिएपछि बसको माथिल्लो भाग हुट अलग्गिएको थियो, यसो आफूलाई हेरें, सग्लै पाएर बाँचिएछ भन्ने लाग्यो ।’ घाइते भएपछि बीपी प्रतिष्ठानमा ल्याउँदाल्याउँदै मृत्यु हुनेहरू ६ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मूलघाटका ३२ वर्षीय चालक सनम तामाङ, लेगुवा २ धनकुटाका १५ वर्षीय तेजबहादुर थापा, मारेकटरे २ का ५३ वर्षीय वीरबहादर काफ्ले, तेह्रथुम फुलेक ६ बस्ने १२ वर्षीया हुमा पौडेलको मात्र सनाखत भएको छ । बाँकी तीन जनाको सनाखत हुन सकेको छैन ।

प्रतिष्ठानमा ३८ जना घाइते ल्याइएको छ । तीमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको आकस्मिक कक्षका प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । उनले भने, ‘अधिकांशको टाउकामा चोट लागेको देखिएको छ । उनीहरू सबैको उपचार जारी छ । आकस्मिक दुर्घटनाका बेला प्रतिष्ठानले मेडिकल, सर्जिकललगायत सबै विभागका एकैपटक ३५ जना चिकित्सक र त्यसभन्दा धेरै नर्सहरू परिचालन गरेको छ ।’

उनका अनुसार घाइतेलाई एमबीबीएसका विद्यार्थीले कुरुवाको काम गरिरहेका छन् । प्रतिष्ठान प्रहरीका अनुसार घाइते हुनेहरूमा फुलेक तेह्रथुमकी अनिता गुरुङ, पुष्पलाल कटवाल, फुलेककै प्रवीण शेर्पा, भोला थापा, आयुष थापा, संखुवासभा तामाफोककी हर्कमाया तामाङ, तेह्रथुमका खगेन्द्र भट्टराई, मारेकटरेका विष्णु मगर, धरानका मनोज पोद्धार, वसन्तपुरका छिरिङ शेर्पा, परेवादिनका विनोद घिमिरे (बस मालिक), धरानका रमेश श्रेष्ठ, छथरका टंक भण्डारी, धनकुटाका कला थापा, तेह्रथुमका अनीता पौडेल, संखुवासभाका सुजन रानामगरलगायत छन् ।

बस दुर्घटनामा एकैपटक ३६ भन्दा बढी घाइते ल्याएकाले अस्पतालमा रगतको अभाव खटकिएको छ । झापा, मोरङ र सुनसरीका विभिन्न रक्तदाता र ब्लड बैंकलाई रगत उपलब्ध गराउन प्रतिष्ठानले आहवान गरेको छ ।

प्रकाशित : श्रावण १४, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?