कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चिनियाँ चासो ‘विकास र स्थिरता’

चेतनाथ आचार्य

बेइजिङ — चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको शान्ति, विकास र राजनीतिक स्थिरतामा चीनको चासो रहेको बताएका छन् ।

 चिनियाँ चासो ‘विकास र स्थिरता’

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री खछ्याङले यस्तो धारणा राखेका हुन् । भेटमा उनले नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयन गर्न दुवै मुलुक उत्तिकै जिम्मेवार भएर अघि बढ्नुपर्ने पनि बताए ।

बेइजिङस्थित चिनियाँ प्रधानमन्त्रीको कार्यालय चोङ नानहाईमा बुधबार बिहान साढे १० बजे दुई नेताबीच आधा घण्टा कुराकानी भएको परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले कान्तिपुरलाई बताए । महरासँगको भेटमा लीले नेपालमा भएको राजनीतिक परिवर्तन र सरकार परिवर्तनलाई चीनले सदैव सहज रूपमा लिएको बताएको अर्यालले जनाए । ‘छिमेकी मुलुकमा विकास र उन्नतिले आफ्नो देशमा पनि सकारात्मक प्रभाव पर्ने भएकाले नेपालको विकासमा सघाउन चीन सधैं तयार छ,’ प्रधानमन्त्री लीलाई उद्धृत गर्दै अर्यालले भने ।

नेपाल र चीन सुखदु:खका मित्र रभन्दै लीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाल भ्रमणको निमन्त्रणा गरेकोमा आभार प्रकट गरे । उपयुक्त समयमा चिनियाँ नेताले नेपालको भ्रमण गर्ने जानकारी दिएको अर्यालले बताए । दुवै नेताले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा बढिरहेको चिनियाँ लगानी, चिनियाँ सहयोगका परियोजनाहरूबारे पनि छलफल भएको अर्यालले बताए ।

मंगलबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँगको भेटमा भएका विषय नै महराले प्रधानमन्त्री लीसामु राखेका थिए । उनले नेपालमा सरकार परिवर्तन भए पनि चीनसँगको सम्बन्धमा असर नपर्ने बताए । अघिल्लो सरकारका पालामा भएको पारवहन सम्झौता तथा अन्य सहमति कार्यान्वयन गर्नेमा वर्तमान सरकार गम्भीर रहेको उनले जानकारी गराए । उच्चस्तरीय भ्रमणको निम्तो दिंदै महराले नेपाल उच्चस्तरको भ्रमण गराउन सक्षम रहेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराएको अधिकारीहरूले बताए । महराले बुधबार साँझ चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थावोसँग पनि भेट गरे ।

प्रकाशित : भाद्र २, २०७३ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?