१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खातामा रकम पुगेन

प्रताप विष्ट

हेटौंडा — मकवानपुर, नामटार ९ का भूकम्पपीडित जितबहादुर जिम्बा महिनादिनमै तीनपटक सदरमुकाम धाइसके तर अझै आवास अनुदानबापतको पहिलो किस्ता रकम पाएका छैनन् ।

अनुदान सम्झौता भएको २७ दिन नाघिसक्दा पनि बैंक खातामा रकम नआउँदा उनी निराश छन् । तीनपटक सदरमुकाम धाउँदा झन्डै ८ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।

जिम्बालाई गाविस सचिवले एनआईसी बैंकको खातामा रकम आएको भन्दै लिन पठाएका थिए । तर, उनी रित्तै हात घर फर्कन बाध्य भए । ‘बैंक धाउँदै १० हजार रुपैयाँ सकिने भो,’ उनले भने, ‘गाविस कार्यालयमै बैकमा रकम जम्मा भएकाको नामावली टाँसिदिए यसरी दु:ख पाउनुपर्ने थिएन ।’ जिविस, गाविस सचिव र बैंकको समन्वय नुहँदा जिल्लाका भूकम्पपीडितले दु:ख पाइरहेका छन् । ‘कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौंडाले नामसूचीसहित पीडितको रकम बैंक पठाएपछि उक्त नामावली तत्काल जिविस पठाउने र जिविसले सम्बन्धित गाविसमा पठाउने गरेको भए पीडितको पैसा र समय बर्बाद हुने थिएन,’ एक गाविस सचिवले भने, ‘गाविस कार्यालयमा ककसको रकम बैंकमा जम्मा भो, थाहा नै हुँदैन ।’ 
बैंकले पनि भूकम्पपीडितलाई प्राथमिकतामा राखेका छैनन् । बैंकबाट रकम झिक्न उनीहरूलाई सहज छैन । जिविस, बैंक र गाविसको समन्वय अभावमा पीडितले थप सकस भोग्नुपरेको जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले बताए । ‘समन्वय गर्ने संयन्त्रकै अभाव छ,’ उनले भने ।
भूकम्पबाट आवासीय भवन पूर्ण क्षति भएका परिवारलाई पहिलो चरणको ५० हजार रुपैयाँ बैंकमार्फत उपलब्ध गराउन थालिएको छ । रकम वितरणका लागि हेटौंडाका विभिन्न २९ वटा बैंक तोकिएका छन् । बैंकमा दसैंअगाडि यसै पनि सर्वसाधारणको भीड हुन्छ, त्यसमाथि पीडितको लाइन लम्बिँदा बैंकलाई व्यवस्थापन गर्नै सकस छ । रकमका लागि पीडित घन्टौं लाइन बस्नुपर्ने अवस्था छ । एनआईसी एसिया बैंकको हेटौंडा शाखामा रकम लिन मनहरीबाट आएकी सरस्वती काफ्लेले चार घण्टा लाइन बस्नुपरेको बताइन् । 
भूकम्पले चर्केको घरमा बस्दै आएका चन्द्रबहादुर सापकोटाले पहिलो किस्ताको अनुदान रकम बैंकबाट झिकेपछि गन्दै भने, ‘यो ५० हजार रुपैयाँले घर बनाउन पुग्ने होइन, चर्केको घरमा बसेर दसंै मान्नसम्म पुग्ने भो ।’
अधिकांश भूकम्पपीडितको योजना सापकोटाकै जस्तो छ । ‘पहिलो किस्ताको रकमले घरको जग पुर्न पनि पुग्दैन ।’ नामटारका रामु रिजालले भने, ‘यो अधकल्चो रकमले पीडितहरूले दसंैमा मासुभात खान्छन् ।’ 
ऐलानी जग्गामा बसोबास गर्दै आएका भूकम्पपीडितसँग अनुदान सम्झौता गर्न समस्या रहेको गाविस सचिव बताउँछन् । मकवानपुरका ४ हजार ४ सय ७० जना पीडित ऐलानी जग्गामा बसेका छन् । उनीहसँग अनुदान सम्झौता हुन सकेको छैन । जिल्लाका धियाल, फापरबारी र राईगाउँ गाविसका अधिकांश पीडित ऐलानी जग्गामा छन् । 
‘पीडितहरूसँग जग्गाधनी पुर्जा नभएकाले अनुदान सम्झौता गर्न समस्या छ,’ योजना अधिकृत न्यौपानेले भने, ‘यो समस्या माथिबाट मात्र समाधान गर्न सकिन्छ ।’ धियाल गाविसका ९५ प्रतिशत बासिन्दा लालपुर्जाविहीन छन् । राक्सिराङका पीडितले गुनासो सम्बोधन नभएसम्म अनुदान सम्झौता नगर्ने अडान लिएका छन् । 
योजना अधिकृत न्यौपानेका अनुसार आइतबारसम्म १३ हजार २ सय २८ लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । तर, हालसम्म ३० हजार २ सय ३८ लाभग्राहीमध्ये १८ हजार ६६ सँग मात्र सम्झौता भएको छ ।

प्रकाशित : आश्विन १०, २०७३ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?