मन्दिरहरूको भेटीमा पुजारीको रजाइँ

पोखरा ब्युरो

पोखरा — पर्यटकीय सहर पोखरामा विन्ध्यवासिनी, तालबाराही र भद्रकाली तीन मुख्य पुराना मन्दिर छन् ।

गुठी संस्थानले एउटा छुट्टै नियमावली, कार्यविधि नबनाउँदा वर्षौंदेखि मन्दिरको भेटी पुजारीका पोल्टामा जाने गरेको छ । यसै सेरोफेरोमा पोखराबाट लालप्रसाद शर्मा, स्याङजाबाट प्रतीक्षा काफ्ले, पाल्पाबाट माधव अर्याल र बागलुङबाट पूर्ण विकेको रिपोर्ट :

विन्ध्यवासिनी र तालबाराहीमा आन्तरिक मात्र नभई भारतलगायत विदेशी पर्यटक पनि मन्दिरको दर्शनमा पुग्छन् । भेटी चढाउँछन् । तर, अहिलेसम्म यी तीन वटै मन्दिरमा चढाएको भेटी पुजारीले राख्दै आएका छन् ।
मन्दिरको संरक्षण तथा व्यवस्थापनका लागि समिति पनि गठन भएका छन् । भेटी पारदर्शीका लागि समितिले प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । विन्ध्यवासिनीमा विसं १८४४ मा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर लगाएर पुजारीको जिम्मा दिएको बुढापाका बताउँछन् । यसै कथनका आधारमा पाध्याका सन्तानले अहिलेसम्म मन्दिरमा पूजा गर्दै भेटी पनि आफंै लैजाने गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अनुसार मूल मन्दिरमा भक्तजनले चढाएको भेटी मासिक कम्तीमा पनि ४ लाख रुपैयाँ जति हुन्छ तर त्यो रकम अहिलेसम्म पुजारीले नै लगेका छन् ।
विन्ध्यवासिनी क्षेत्रमै रहेको राधाकृष्ण मन्दिरमा १० प्रतिशत भक्तजन जाने र उनीहरूबाट दैनिक हजार रुपैयाँ भेटी संकलन हुन्छ । ‘शिव मन्दिरमा पनि मासिक डेढ लाख रुपैयाँसम्म भेटी संकलन हुन्छ,’ समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने, ‘मूल मन्दिरमा ४ लाख भेटी हुने अनुमान हो । त्यो सबै पुजारीले लैजान्छन् ।’ उनका अनुसार मन्दिर अगाडि राखिएको दानपेटीकामा पनि महिनाको एक लाख रुपैयाँ जम्मा हुने गरेको छ । दानपेटीकामा सबै भक्तजनले पैसा राख्दैनन् । उल्लेख्य मात्रामा आउने भारतीय धार्मिक पर्यटकले रकमसँगै सुनचाँदीसमेत चढाउने गर्छन् ।
मुख्य आम्दानी पुजारीले लगे पनि समितिले मन्दिर, परिसरको मर्मत, पुनर्निर्माण तथा अन्य व्यवस्थापन चन्दाबाट गर्दै आएको छ । समितिका सचिव तीर्थ श्रेष्ठले भने, ‘राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भयो । तर, पुजारीको छोरा पुजारी हुने व्यवस्था अन्त्य भएको छैन ।’ उनका अनुसार उति बेला लागेको लालमोहर भने समितिका कसैले पनि अझै देखेका छैनन् । ‘सरकारले पशुपति विकास कोषको जस्तै ऐन बनाएर देशभरका मन्दिरहरूको भेटी व्यवस्थापन गर्नुपर्छ,’ उनले भने । विन्ध्यवासिनीका मूल पुजारी रुद्रनाथ पौडेलले राज्यले कानुनी प्रावधान ल्याएर पर्याप्त तलबको व्यवस्था गरे भेटी बुझाउन र तलबमा काम गर्न इच्छुक रहेको बताउँछन् । विन्ध्यवासिनीको पोखरामा करिब ५४ रोपनी जग्गा छ । यसमा पनि पुजारी परिवारले भोगचलन गर्दै आएका छन् ।
पोखराकै फेवातलको बीचमा रहेको तालबाराही मन्दिरको पनि अवस्था उस्तै छ । यस मन्दिरमा २ पहारी र १ अधिकारी परिवारलाई पूजाको जिम्मा दिइएको छ । उनीहरू पालैपालो पुजारी बस्छन् । तालको बीचमा भएकाले अन्यभन्दा फरक मन्दिर हो यो । यहाँ देशविदेशका सयौं भक्तजन डुंगा चढेर पुग्छन् । ‘तर भेटी कति उठ्छ भन्ने केही थाहा हुन्न,’ मन्दिरको गुठी व्यवस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले भने, ‘पुजारीको छोरा पुजारी हुने परम्परा नहटेसम्म भेटीमा पहुँच नहुने भयो ।’ दसैंको पूिर्णमाको दिन भने सबै भेटी समितिलाई आउने र गत वर्षको पूर्णिमामा एकै दिन ९३ हजार रुपैयाँ उठेको उनले बताए । त्यसबाहेक दैनिक १ सय रुपैयाँ पुजारीले समितिलाई दिने गरेका छन् ।
तालबाराहीका ३ वटा गुठीको जग्गा छन् । सेदीबगरमा २३ रोपनीभन्दा बढी जग्गा रहेकोमा त्यो पुजारीले भोगचलन गर्दै आएका छन् । मालेपाटनमा १८ रोपनी ९ आना जग्गा बलि छेदनका लागि छुट्टयाइएकामा मन्दिर संरक्षण समितिका संस्थापक अध्यक्ष स्वर्गीय कृष्णबहादुर खत्रीले १० रोपनी जग्गा परिवारको नाममा र ७ रोपनी जग्गा बिक्री गरेको पाइएको कुँवरले बताए । त्यसबाट बचेको सानो जग्गा मात्रै मन्दिरको नाममा छ । यसैगरी मन्दिरमा समिदा (दाउरा) का लागि खहरे पाखामा ७० रोपनी १४ आना जग्गा छ । २०१७ सालअघि खरको झुप्रोमा मन्दिर रहेको र त्यसका लागि आवश्यक काठपात, खरका लागि उक्त जग्गा छुट्टयाइएको थियो । जग्गा भोगचलन गर्ने ढकाल परिवारले वर्षमा एक भारी दाउरा पनि दिन्थे । तर अहिले मन्दिर पक्की बनेको छ । त्यहाँबाट खर, काठपात र दाउरा ल्याउनु पर्दैन । यसैका आधारमा गुठी संस्थानले २०६७ सालमा ‘कामको औचित्य समाप्त भएकाले खान्की खारेज’ गरेको थियो । तर अहिले उक्त जग्गा आफूहरूको हुनुपर्ने भन्दै स्थानीयले सर्वोच्च अदालतमा गुठी संस्थान, कास्की प्रशासन, मालपोत कार्यालय र व्यवस्थापन समितिविरुद्ध उत्प्रेषण मुद्दा दिएका छन् । यसको टुंगो लागेको छैन । उक्त जग्गाको ३५ रोपनीमा वृद्धाश्रम बनाउने योजना रहेको कुँवरले बताए ।
यता भद्रकालीस्थित गणेश, कालीमाता र लक्ष्मीनारायण मन्दिरको भेटी पनि समितिले पाउँदैन । सबै भेटी पुजारीले लैजान्छन् । ‘भेटीलाई कसरी पारदर्शी बनाउने भन्ने सोचेका छौं,’ गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टीकाबहादुर कार्कीले भने, ‘पुजारीसँग छलफल गर्न लागेका छौं ।’ समितिले मन्दिरलाई थप व्यवस्थित र पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले गुरुयोजना बनाएको र मूल आम्दानी ल्याउन सके थप सहयोग पुग्ने उनले बताए । 
भद्रकाली परिसरमा ठूलो वन छ । वन कार्यालयबाट स्वीकृति लिएर समितिले धार्मिक वनको नाममा भोग अघिकार गर्दै आएको छ । योबाहेक ३५ रोपनी जग्गा मन्दिरको नाममा छ । गुठीमा भने कुनै विवाद छैन । 
बिग्रेको सम्बन्ध
स्याङ्जाको पुतलीबजार ८ स्थित सतौं चण्डीकालीका मन्दिरमा पुजारी, कर्मचारी र व्यवस्थापन समितिबीच विवाद रहिआएको छ । शताब्दीअघि स्थापना भएको मानिने यो मन्दिरमा गुठीको जग्गाको विषयमा विवाद भएको हो ।
मन्दिरको ५ सय ८ रोपनी गुठी जग्गा छ । समिति सदस्य टीकाराम पौडेल भन्छन्, ‘मन्दिरको जग्गा भएर के गर्ने । समितिले यहाँ केही गर्न परे बाहिरैबाट चन्दा संकलन गर्नुपर्छ ।’ मन्दिरलाई जिविस, मालपोत र नगरपालिकाले बर्सेनि दिने खर्चबाट व्यवस्थापन धान्नुपरेको उनले बताए । हल्लेखोलाका मनबहादुर राना र इन्द्रबहादुर राना पुजारीका रूपमा कार्यरत छन् ।
‘परम्परादेखि भोगचलन गरिआएकाहरूले छाड्न नमान्ने हुँदा बेलाबेला विवाद हुने गरेको छ,’ सदस्य पौडेलले भने, ‘फेरिएको समयअनुसार मन्दिरको विकासनिर्माणको काम गर्न आम्दानी पनि बढाउनुपर्ने देखिएको छ ।’
निरीह व्यवस्थापन समिति 
पाल्पाको तानसेन ८ भगवतीटोलस्थित श्री ७ रणउजीरेश्वरी मन्दिरमा चार जना पुजारी छन् । १ सय ९८ वर्ष पुरानो मन्दिरमा पुजारी र मन्दिर व्यवस्थापन समितिबीच कुरा नमिल्दा अहिलेसम्म भेटीको व्यवस्थापन गर्न सकेका छैनन् । 
‘हामीले पटकपटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकिएको छैन,’ भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले भने, ‘सधैं हुन्छ गर्ने भन्छन् तर हुन सकेको छैन ।’ मन्दिरमा मूल पुजारी हिक्मत वज्राचार्य, पुजारीहरू जीवन वज्राचार्य, धर्मरत्न वज्राचार्य र कृष्ण वज्राचार्य छन् । उनीहरू र मन्दिर व्यवस्थापन समितिबीच समन्वय नहुँदा अहिलेसम्म भेटीलाई व्यवस्थापन गर्न नसकेका हुन् । मन्दिरको १ हजार ६ सय रोपनीभन्दा बढी जग्गा छ । यहाँ चढाएका सुनको हिसाबकिताब अहिलेसम्म छैन । विगतमा कतिपय पुजारीले नै लिए भने केही गुठी संस्थामा पठाएका छन् । २०३१ सालतिर सुनको हिसाबकिताब गोलमाल भएपछि अहिलेसम्म त्यसको खोजी हुन सकेको छैन । यहाँको केही सुन गुठी संस्थान र समितिसमक्ष छ । ‘केही सुन मन्दिर व्यवस्थापन समितिको निगरानीमा छ,’ समितिका अध्यक्ष उदयले भने, ‘बाँकी केही गुठी संस्थानले लगेको छ । तर, पुरानो के भयो थाहा भएन ।’ पुजारी र समितिबीचको आपसी द्वन्द्वले नै मन्दिरको भेटी व्यवस्थापन गर्नु पनि अहिले निकै चुनौती रहेको उनले बताए । भगवती मन्दिरमा लिखित रूपमै ३ रुपैयाँ आम्दानी भए १ रुपैयाँ पुजारीलाई र दुई रुपैयाँ मन्दिरलाई राख्ने भन्ने छ । तर, अहिलेसम्म पुजारीको जिद्दी र मनोमानीले त्यसो हुन सकेको छैन ।
भगवती मन्दिर उदाहरण मात्र हो । जिल्लाका सयभन्दा बढी मन्दिरमा यस्तै अवस्था छ । नमुनाका रूपमा भैरवस्थानस्थित भैरव मन्दिर र दोभानको सिद्धबाबामा मात्र भेटी व्यवस्थित छ । यहाँ समिति र मन्दिरका पुजारीबीच सम्बन्धसमेत राम्रो छ । जिल्ला मालपोत प्रमुख नवराज बरालले भने, ‘अब बिस्तारै सबै मन्दिरमा भेटी व्यवस्थापनको खाँचो छ । जसले गर्दा मठमन्दिरको व्यवस्थापन र सञ्चालनमै फाइदा पुग्छ ।’ बरालले समिति भए पनि सक्रियता नदेखाएकाले भेटी व्यवस्थापन हुन नसकेको बताए । सिद्धबाबामा पनि भेटी व्यवस्थापनले मन्दिरकै स्तर सुधार्न सहयोग पुगेको छ । 
कालिकामा पुजारीलाई तलब
बागलुङस्थित प्रसिद्व कालिका भगवती मन्दिरमा पुजारीलाई मन्दिर व्यवस्थापन समितिले तलबको व्यवस्था गरेको छ । मन्दिर विवादरहित रूपमा सञ्चालनका लागि यो उत्तम उपाय देखिएको छ । मन्दिरमा संकलन भएको भेटी रकमलाई व्यवस्थित र पारदर्शी गराउन आफूहरूले तीन वर्षअघिदेखि पुजारीलाई मासिक तलबको व्यवस्था गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले बताए । आर्थिक वर्ष ०७१/७२ सम्म ठेकेदारले भेटी उठाउँदै आएकामा आव ०७२/७३ देखि समितिले नै सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको उनले बताए ।
‘हामीले मन्दिरको व्यवस्थापन सम्हालेपछि मन्दिरको मुहार नै फेरिएको छ,’ अध्यक्ष खड्काले भने, ‘अझै मन्दिरलाई कसरी नमुना बनाउने भनेर हामीहरू जुटिरहेका छौं ।’ मन्दिरको मूल पुजारी खड्का थरकै रहने चलन थियो । तर, समितिले तीन वर्षअघि पत्रिकामा विज्ञापन नै गरेर २५ वर्षीय माधव सुवेदीलाई नियुक्त गरेको हो । मन्दिरको विशेष पूजामा भने खड्का थरकै पुजारीले गर्ने परम्परा रहेको उनले जानकारी दिए । पुजारीले व्यक्तिगत भेटी रकमबाहेक मासिक करिब १८ हजार रुपैयाँ बुझ्ने गरेको समितिले जनाएको छ ।
भेटी रकमलाई पारदर्शी गराउन प्रत्येक दिन मध्याह्न करिब ५ बजे प्रहरी, मालपोत प्रतिनिधि, गुठी व्यवस्थापन समितिका प्रतिनिधि, गुठीका कर्मचारी र मन्दिरमा उपस्थित भक्तजनको रोहवरमा भेटी रकमलाई सार्वजनिक गर्ने गरिएको अध्यक्ष खड्काले बताए । मन्दिरलाई व्यवस्थित बनाउन आफूहरूले दर्शनार्थीलाई नुहाउने घर, फराकिलो पैदलमार्ग, बलि दिने छुट्टै स्थान, सफा शौचालयको व्यवस्था गरिरहेको उनले बताए । नाकाबन्दीले गर्दा मन्दिरमा गत वर्ष दर्शनार्थीको चाप घटे पनि भेटी, परेवा बिक्री लगायतबाट गरी गत वर्ष करिब ९० लाख रुपैयाँ संकलन भएको व्यवस्थापन समितिले जनाएको छ । १५९१ सालमा स्थापित मन्दिर क्षेत्रलाई थप विकास गर्न आफूहरू जुटिरहेको समितिले जनाएको छ । मन्दिरमा ठूलो र सानो दसैं, शनिबार र मंगलबारका दिन दर्शनार्थीको भीड धेरै लाग्छ ।

प्रकाशित : आश्विन १०, २०७३ ०८:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खातामा रकम पुगेन

प्रताप विष्ट

हेटौंडा — मकवानपुर, नामटार ९ का भूकम्पपीडित जितबहादुर जिम्बा महिनादिनमै तीनपटक सदरमुकाम धाइसके तर अझै आवास अनुदानबापतको पहिलो किस्ता रकम पाएका छैनन् ।

अनुदान सम्झौता भएको २७ दिन नाघिसक्दा पनि बैंक खातामा रकम नआउँदा उनी निराश छन् । तीनपटक सदरमुकाम धाउँदा झन्डै ८ हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।

जिम्बालाई गाविस सचिवले एनआईसी बैंकको खातामा रकम आएको भन्दै लिन पठाएका थिए । तर, उनी रित्तै हात घर फर्कन बाध्य भए । ‘बैंक धाउँदै १० हजार रुपैयाँ सकिने भो,’ उनले भने, ‘गाविस कार्यालयमै बैकमा रकम जम्मा भएकाको नामावली टाँसिदिए यसरी दु:ख पाउनुपर्ने थिएन ।’ जिविस, गाविस सचिव र बैंकको समन्वय नुहँदा जिल्लाका भूकम्पपीडितले दु:ख पाइरहेका छन् । ‘कोष तथा लेखा नियन्त्रण कार्यालय, हेटौंडाले नामसूचीसहित पीडितको रकम बैंक पठाएपछि उक्त नामावली तत्काल जिविस पठाउने र जिविसले सम्बन्धित गाविसमा पठाउने गरेको भए पीडितको पैसा र समय बर्बाद हुने थिएन,’ एक गाविस सचिवले भने, ‘गाविस कार्यालयमा ककसको रकम बैंकमा जम्मा भो, थाहा नै हुँदैन ।’ 
बैंकले पनि भूकम्पपीडितलाई प्राथमिकतामा राखेका छैनन् । बैंकबाट रकम झिक्न उनीहरूलाई सहज छैन । जिविस, बैंक र गाविसको समन्वय अभावमा पीडितले थप सकस भोग्नुपरेको जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले बताए । ‘समन्वय गर्ने संयन्त्रकै अभाव छ,’ उनले भने ।
भूकम्पबाट आवासीय भवन पूर्ण क्षति भएका परिवारलाई पहिलो चरणको ५० हजार रुपैयाँ बैंकमार्फत उपलब्ध गराउन थालिएको छ । रकम वितरणका लागि हेटौंडाका विभिन्न २९ वटा बैंक तोकिएका छन् । बैंकमा दसैंअगाडि यसै पनि सर्वसाधारणको भीड हुन्छ, त्यसमाथि पीडितको लाइन लम्बिँदा बैंकलाई व्यवस्थापन गर्नै सकस छ । रकमका लागि पीडित घन्टौं लाइन बस्नुपर्ने अवस्था छ । एनआईसी एसिया बैंकको हेटौंडा शाखामा रकम लिन मनहरीबाट आएकी सरस्वती काफ्लेले चार घण्टा लाइन बस्नुपरेको बताइन् । 
भूकम्पले चर्केको घरमा बस्दै आएका चन्द्रबहादुर सापकोटाले पहिलो किस्ताको अनुदान रकम बैंकबाट झिकेपछि गन्दै भने, ‘यो ५० हजार रुपैयाँले घर बनाउन पुग्ने होइन, चर्केको घरमा बसेर दसंै मान्नसम्म पुग्ने भो ।’
अधिकांश भूकम्पपीडितको योजना सापकोटाकै जस्तो छ । ‘पहिलो किस्ताको रकमले घरको जग पुर्न पनि पुग्दैन ।’ नामटारका रामु रिजालले भने, ‘यो अधकल्चो रकमले पीडितहरूले दसंैमा मासुभात खान्छन् ।’ 
ऐलानी जग्गामा बसोबास गर्दै आएका भूकम्पपीडितसँग अनुदान सम्झौता गर्न समस्या रहेको गाविस सचिव बताउँछन् । मकवानपुरका ४ हजार ४ सय ७० जना पीडित ऐलानी जग्गामा बसेका छन् । उनीहसँग अनुदान सम्झौता हुन सकेको छैन । जिल्लाका धियाल, फापरबारी र राईगाउँ गाविसका अधिकांश पीडित ऐलानी जग्गामा छन् । 
‘पीडितहरूसँग जग्गाधनी पुर्जा नभएकाले अनुदान सम्झौता गर्न समस्या छ,’ योजना अधिकृत न्यौपानेले भने, ‘यो समस्या माथिबाट मात्र समाधान गर्न सकिन्छ ।’ धियाल गाविसका ९५ प्रतिशत बासिन्दा लालपुर्जाविहीन छन् । राक्सिराङका पीडितले गुनासो सम्बोधन नभएसम्म अनुदान सम्झौता नगर्ने अडान लिएका छन् । 
योजना अधिकृत न्यौपानेका अनुसार आइतबारसम्म १३ हजार २ सय २८ लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । तर, हालसम्म ३० हजार २ सय ३८ लाभग्राहीमध्ये १८ हजार ६६ सँग मात्र सम्झौता भएको छ ।

प्रकाशित : आश्विन १०, २०७३ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT