कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई क्रिकेटको स्वर्ण

विराटनगर — भुवन कार्कीको अलराउन्ड प्रदर्शनमा नेपाल एपीएफले सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा स्वर्णपदक जितेको छ । भुवनले नटआउट २४ रन बनाउनुका साथै ४ विकेट लिएपछि विभागीय डर्बीमा एपीएफले शुक्रबार नेपाल आर्मीलाई ४९ रनले पराजित गर्‍यो ।

एपीएफलाई क्रिकेटको स्वर्ण

बैजनाथपुरको मैदानमा तल्लोक्रमका भुवनको ब्याटिङपछि उक्सिएको एपीएफले टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रन बनायो । एपीएफ जस्तै राष्ट्रिय खेलाडीले भरिएको आर्मी १७.४ ओभरमा ७२ रनमै अलआउट भयो । एपीएफले लेगस्पिनर सन्दीप लामिछानेलाई खेलाएन ।
२०६८ सालमा धनगढीमा सम्पन्न छैटौं राष्ट्रियमा पनि एपीएफले स्वर्ण जितेको थियो । अर्को दुई विभागीय टिम आर्मी र नेपाल प्रहरीले यसै पटकदेखि बृहत् खेलकुदमा सहभागिता जनाएका हुन् । प्रहरीले मध्यमाञ्चललाई ३३ रनले पराजित गरी कांस्य जित्यो ।
‘दुवै टिमका लागि ब्याटिङ सजिलो थिएन । १ सय ३० रनभन्दा माथि बनायौं भने जित्न सकिन्छ भनेर हामीलाई थाहा थियो, त्यस हिसाबमा हामीले १५–२० रन कम बनाएका हौं,’ एपीएफ कप्तान पारस खड्काले भने, ‘हाम्रो बलिङ उत्कृष्ट थियो र सुरुमा यज्ञमान कुमालदेखि भुवन कार्कीसम्म सबैले राम्रो बलिङ गरे ।’
उनले स्वर्णपदकको अर्थ आफ्ना लागि धेरै भएको बताए । ‘एपीएफले उपाधि नजितेको धेरै भइसकेको थियो । त्यसमा राष्ट्रिय खेलकुदमा पहिलो हुनुको महत्त्व नै फरक हुन्छ,’ पारसले भने, ‘राष्ट्रिय खेलकुद ५ वर्षअघि भएको थियो, अब २ वर्ष, ४ वर्ष कहिले हुन्छ थाहा छैन, त्यसमा म खेल्छु कि खेल्दिनँ थाहा छैन । त्यही भएर यस पटक जसरी पनि उपाधि जित्न दृढ थियौं । विभागमा पनि यसको महत्त्व फरक हुन्छ ।’
एपीएफको सुरुआत राम्रो रहेन । चार ओभर खेल्दा टिमले दुवै ओपनर आसिफ शेख (५) र सुवास खकुरेल (९) लाई गुमाइसकेको थियो । ६ ओभरको पावर प्लेमा एपीएफ २८–२ को स्थितिमा थियो । आफ्नो पहिलो ओभर लिएर आएका विक्रम सोबले दुवैलाई पेभेलियन फर्काए । त्यसपछि एपीएफको जिम्मा पारसको काँधमा आयो । पहिलो बलमै खाता खोलेका पारसलाई जम्न केही समय लाग्यो । आफ्नो अर्को ओभरमा विक्रमले पारसलाई लगातार बलमा कुनै रन बनाउन नदिएर एपीएफलाई दबाबमा राखे । चौथो बल पनि थर्डम्यानमा उडाउँदै पारसले १ रन बटुलेका थिए । अझ १० रनमा पारसको क्याच आर्मीका कप्तान विनोद भण्डारीले नछाडेको भए खेल अर्कै हुन सक्थ्यो । त्यसको अर्को ओभरमा पारसले अविनाश कर्णलाई छक्का प्रहार गरी आक्रामक हुन खोजे ।
यस दौरान एपीएफले प्रदीप ऐरीलाई ६, पृथु बाँस्कोटालाई १२, ज्ञानेन्द्र मल्ललाई ४, वसन्त रेग्मीलाई १ रनमा गुमाइसकेको थियो । पारस आफैं १७ औं ओभरमा आउट भए, जतिखेर एपीएफको स्कोर ९२ रन थियो । ३८ बल खेली १ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाएका पारसलाई सोमपाल कामीले आउट गरे । करण केसी पनि १ रनमा आउट भए । तर भुवनले दसौं नम्बरमा ब्याटिङ गर्दै परिपक्व इनिङ्स खेले । उनले १८ औं ओभरमा चन्द्र साउदलाई मिडविकेटमा छक्का प्रहार गरी एपीएफको स्कोर १ सय रनमा पुर्‍याए र अर्को ओभरमा सोमपाललाई लगातार दुई चौका प्रहार गरी एपीएफको स्कोर हेर्नलायक बनाए । पहिलो १० ओभरमा ४९ रन मात्र बनाउन सकेको एपीएफले अर्को १० ओभरमा ७२ रन थप्यो । भुवनले १२ बल खेलेका थिए ।
आर्मीको सुरुआत पनि कमजोर रह्यो । यज्ञमानले राइज बलमा सागर पुनलाई ५ रनमा विकेट पछाडि क्याच गराए । त्यसपछि आएका नरेश बुढाऐरले १७ रन बनाए । आर्मीबाट अन्यले दोहोरो स्कोर बनाएनन् । अर्का ओपनर अनिल मण्डल १३ औं ओभरमा १८ बलमा ९ रन बनाई छैटौं खेलाडीका रूपमा बाहिरिए । यसबीच राजु रिजाल ७ र राजेश पुलामी ९ रनमा आउट भइसकेका थिए । राहुल विक दुई बलमात्र टिक्न सके र खाता खोल्न सकेनन् । १२ औं ओभरमा भुवनले सानदार रिटर्न क्याच लिएर राजेशलाई आउट गरे । त्यसको दुई बलपछि उनले भुवनलाई पनि आउट गरे । अर्को ओभरमा उनले आर्मीका कप्तान विनोदको विकेट लिएपछि एपीएफको जित निश्चित जस्तै बनेको थियो । आठौं नम्बरमा आएका विनोद लामो शट खेल्दा २ रनमा लङअफमा आसिफलाई क्याच दिन पुगे ।
त्यसपछि एपीएफको जित औपचारिकतामात्र बन्यो । भुवनले सोमपाललाई पनि ५ रनमा बोल्ड गरे । भुवनको चामत्कारिक प्रदर्शन त्यतिमै सीमित भएन । उनले शक्ति गौचनको बलमा लङअफमा उत्कृष्ट रनिङ क्याच लिएर विक्रमलाई पनि पेभेलियन फर्काए । त्यसपछि एपीएफका फिल्डरले दुई क्याच छाडे पनि करणले अविनाश कर्णलाई १ रनमा बोल्ड गरी औपचारिकता टुंग्याए ।

प्रकाशित : पुस १६, २०७३ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?