छोटकरी

काठमाडौं — थाइल्यान्डका राजा मह वजिरालङक्रोनले धुलिखेल अस्पतालका प्रमुख डा. रामकण्ठ माकाजुलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् ।

डा. माकाजुलाई मानार्थ विद्यावारिधि

काठमाडौं (कास)– थाइल्यान्डको चियाङ राय राजभाट युनिभर्सिटीको दीक्षान्त समारोहमा उनलाई नेपालको शैक्षिक क्षेत्रको उन्नतिमा विशेष योगदान पुर्‍याएबापत उपाधि दिइएको हो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. माकाजुले ‘गरिबका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ र ‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’ मार्फत नयाँ पुस्ताका नेतृत्व विकास गरी देशका पिछडिएका वर्गलाई लाभ दिलाएर नमुना कार्य गरेको उक्त विश्वविद्यालयले उल्लेख गरेको छ ।                    
विद्यालय पुनर्निर्माणका लागि ८० लाख
काठमाडौं (कास)– हेल्प नेपाल नेटवर्क नामक संस्थाले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि ८० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त संस्थाले बुधबार राजधानीमा सिन्धुपाल्चोकको ठोकर्पा मावि र दोलखाको राजकुलेश्वर निमाविका प्रतिनिधिलाई रकम हस्तान्तरण गरेको हो । संस्थाले ‘नेपालका लागि एक महिनामा एक डलर कोष’ नामक विश्वव्यापी स्वयंसेवी अभियानबाट रकम उठाइएको जनाएको छ । परम्परागत वास्तुकला र भूकम्प प्रतिरोधात्मक प्रविधिमा दुई विद्यालय निर्माण गरिने संस्थाका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए । उनले पुनर्निर्माणका लागि अब विदेशी दातामा भर नपरी राज्यले नै पहल गर्नुपर्ने बताए । 
सार्वजनिक बिदा पुनरावलोकन हुने
काठमाडौं (कास)– सरकारले राष्ट्रिय पर्व र सार्वजनिक बिदाको पुनरावलोकन गर्ने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयलाई एक महिनाभित्र बिदा पुनरावलोकन गरी प्रस्ताव गर्न निर्देशन दिएको छ । ‘कतिपय राष्ट्रिय पर्व र बिदा विवादमा परेका, कतिपय थपघट गर्नुपर्ने भएकाले पुनरावलोकनका लागि गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो’, बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले भने ।

प्रकाशित : पुस २८, २०७३ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?