‘स्ववियु चुनावमा होमिन्छौं’

काठमाडौं — सत्तारूढ माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन चुनाव हुने घोषणा गरेकोमा स्वागत गर्दै निर्वाचनमा होमिने जनाएको छ ।

क्रान्तिकारीको बिहीबार सम्पन्न बैठकले स्ववियु निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । ‘डेढ महिने क्रान्तिकारी जागरण अभियान सम्पन्न भइसकेको छ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले भने, ‘त्रिविको निर्णयलाई पूर्णरूपमा स्वागत गर्दै बिनासर्त स्ववियु चुनावमा होमिने निर्णय गरेका छौं ।’

‘सरकारले स्थानीय तहको निर्वाचन चैतपछि गराउने भएकाले स्ववियु चुनाव फागुनमै सम्पन्न गराउन प्रधानमन्त्रीज्यूले अगाडि बढ्न बाटो खुलाउनु भएको जानकारी गराउन चाहन्छु,’ न्यौपानेले भने, ‘हामी परिवर्तित स्ववियु निर्वाचनमा जाँदैछौं ।’
स्ववियु निर्वाचनलाई देशव्यापी रूपमा सशक्त ढंगले परिचालन गर्न अध्यक्ष न्यौपानेको संयोजकत्वमा ५ हजार ३ सय ५३ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको पनि संगठनले जनाएको छ । स्ववियु निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अगाडि बढाउन उम्मेदवार छनोट, आर्थिक, स्वयंसेवक परिचालन, घोषणापत्र तयारी, वार्ता तथा तालमेल, सम्पर्क तथा समन्वय, अनुगमन, मतदाता अभिलेख संकलन, प्रचार–प्रसारलगायत उपसमिति गठन गरेको जारी विज्ञप्तिमा जनाइएको छ । 
क्याम्पसहरूमा विद्यार्थी संगठनहरूले चुनाव प्रचारप्रसार थालेका छन् । भित्तेलेखनका क्रममा केही क्याम्पसमा विवाद हुँदा झडपसमेत भएका छन् । ‘त्रिविले स्ववियु तालिका घोषणा गरेलगत्तै आचारसंहिता लागू हुने र त्यसको पूर्णरूपमा पालना गर्ने पक्षमा छौं,’ अध्यक्ष न्यौपानेले भने, ‘अब कुनै पनि क्याम्पसमा झडप हुने स्थिति आउन दिँदैनौं ।’ उनले विद्यार्थी संगठनहरूबीच केन्द्रदेखि इकाई तहसम्म समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने पनि बताए । 
त्रिविमा अन्तिम पटक २०६५ सालमा स्ववियु चुनाव भएको थियो । त्रिविले २०७० मा स्ववियु चुनाव हुने निश्चित भएका बेला दोस्रो संविधानसभाको निर्वाचनको कारण देखाएर स्थगित गरेको थियो ।

प्रकाशित : माघ १, २०७३ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?