१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डाक्टरलाई ओभरटाइम

काठमाडौं — डाक्टर, चिकित्साकर्मी, कर्मचारी, नर्सलगायतले स्वास्थ्य संस्थामा अतिरिक्त काम गरेबापत ओभरटाइम भत्ता पाउने भएका छन् ।

मन्त्रिपरिषद्ले बिहीबार कार्यविधि बनाई सरकारी स्वास्थ्यकर्मीलाई अतिरिक्त समय काम गरेबापत ओभरटाइम दिने व्यवस्था गरेको हो । कार्यविधिअनुसार अब स्वास्थ्य संस्थालाई बिहान ९ देखि कम्तीमा बेलुका ५ बजेसम्म खुला राखेर सेवासमेत दिनैपर्छ । 

नियमित सेवा बिहान ९ देखि अपराह्न ३ बजेसम्म हुन्छ । अपराह्न ३ बजेदेखि न्यूनतम ५ बजेसम्म काम गर्ने स्वास्थ्यकर्मीले अतिरिक्त सुविधा पाउनेछन् । ‘अब सरकारी स्वास्थ्य निकायमा स्वास्थ्यकर्मी अपराह्न तीन बजेदेखि पाँच बजेसम्म समेत बस्नैपर्छ,’ स्वास्थ्यमन्त्री गगन थापाले भने, ‘थप काम गरेबापत स्वास्थ्यकर्मीले ५० प्रतिशत प्रोत्साहन भत्ता पाउँछन् ।’
अतिरिक्त सुविधाबापत दिइने अधिकतम भत्ता निजले प्राप्त गर्ने तलबको पचास प्रतिशतभन्दा बढी नहुने समेत व्यवस्था गरिएको छ । कार्यविधिअनुसार कल ड्युटी, अन ड्युटीमा रहेर काम गर्ने डाक्टर र नर्सलगायतका स्वास्थ्यकर्मीलाई प्रत्येक अन कल ड्युटी भएको दिनलाई आधा दिन बराबरको अतिरिक्त समय सुविधा प्रदान गर्न सकिन्छ । अन कल ड्युटीमा कल एटेन्ड गरेको घण्टाअनुसार अतिरिक्त सुविधा प्रदान गर्ने प्रावधान छ । यस्तै जालसाजी गरी नक्कली विवरण पेस गरी अतिरिक्त सुविधा लिए कर्मचारीलाई भुक्तान भएको रकमको दोब्बर जरिवाना गरी कानुनबमोजिम कारबाही समेत गर्न सकिने प्रावधान कार्यविधिमा छ । 

प्रकाशित : माघ ७, २०७३ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?