विवादले निर्माणमा ढिलाइ

काठमाडौं — चाबहिल–साँखु सडकखण्ड विस्तार गर्ने क्रममा स्थानीयले घर भत्काउन नदिएपछि अधिकांश स्थानका काम ठप्प छन् ।

११ किमिभन्दा लामो उक्त सडक २०७२ असोजदेखि निर्माण भइरहेको छ । चाबहिलदेखि जोरपाटीसम्म स्थानीयले घर भत्काउन नदिएपछि काम प्रभावित बनेको हो । उपत्यका विकास प्राधिकरणले घरहरू भत्काएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण थाल्नेछ । तर, सडक सीमा विवादका कारण उक्त खण्डको प्रगति शून्य छ ।

पुरानो नापी र नयाँ नापीमा विवादका कारण घर नभत्काइएको र निर्माण कार्य सुरु हुन नसकेको आयोजनाले जनाएको छ । युनाइटेड बिल्डर्स प्रालिले उक्त साढे ३ किमि सडक निर्माणको जिम्मा पाएको हो । ४२ करोड, ४२ लाख, ६६ हजारको लागतमा २०७४ फागुनसम्म उक्त सडक बनाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । चाबहिल–साँखु खण्डको साढे २ किमि निर्माणको जिम्मा पाएको वज्रगुरु, च्याङमिला र खानी जेभीले २५ प्रतिशत काम सकेको जनाएका छन् । २०७४ पुस मध्यसम्ममा निर्माण पूरा हुनुपर्ने सम्झौता भएको छ । त्यसमा पनि दक्षिणढोका र मूलपानीमा विवादका कारण घर भत्काउन नसकेपछि निर्माण थालिएको छैन । यसका साथै विद्युत् र टेलिफोन पोलका साथै वनका रूख काट्नुपर्ने भएकाले निर्माण अघि बढ्न नसकेको ठेकेदारले जनाएको छ । लगभग ३२ करोडमा निर्माण हुने उक्त खण्डमा सीमा विवाद छ ।
यसै सडकको एउटा हिस्सामा ३ किमि निर्माणको जिम्मेवारी पाएको वज्रगुरु, बिरुवा र खानी जेभीले २०७५ वैशाखसम्म काम सम्पन्न गर्नुपर्नेछ । ४५ करोड, ६९ लाख २ हजारको लागतमा बन्ने उक्त खण्डको थली क्षेत्रमा स्थानीय घर भत्काउन नपाइने भन्दै सर्वोच्च गएका थिए । सर्वोच्चले ३८ घरको स्टे अर्डर दिएपछि भत्काउने काम रोकिएको हो । 
उक्त क्षेत्रको डाँछी, ब्रहमखेल क्षेत्रमा पनि सीमा विवाद कायमै छ । बिजुलीका पोल पनि हटाउन सकिएको छैन । बिटी, सुनकोसी र वल्र्डवाइड जेभीले ठेक्का पाएको थलीदेखि साँखुसम्मको क्षेत्रमा पनि विवादले काम रोकिएको छ । २६ करोड ६४ लाख १८ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त सडकको खुलालटा र सलम्बुटारमा सर्वोच्चको स्टे अर्डरका कारण १८ घर भत्काइएका छैनन् भने, इन्द्रायणी तथा सलम्बुटारमा सीमांकन र पोल नहटाइएकाले काम राम्ररी हुन सकिरहेको छैन । ठेकेदारले साढे २ किमि सडकखण्ड २०७४ पुससम्ममा बनाइसक्नु पर्नेछ ।
सर्वसाधारण मारमा
सधैं जाम भइरहने चाबहिलदेखि जोरपाटीसम्मको क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई समेत हम्मे पर्छ । नारायणटारमा खगेन्द्र नवजीवन केन्द्र र नेपाल अर्थोपेडिक अस्पताल पनि रहेकाले अपांगता भएका व्यक्तिको चहलपहल पनि बढी हुने ठाउँ हो । दृष्टिविहीन र हविल चेयर प्रयोगकर्तालाई झनै गाह्रो हुने उनीहरू बताउँछन् । कतिपयले त पढाइ, सिकाइ छाडेर घर फर्किएको अपांग महासंघकी उपाध्यक्ष टीका दाहालले बताइन् । ‘एक त धूलो धुवाँले अत्यास लाग्छ । अहिले हामी अपांगहरू यहाँको प्रदूषण र बाटोको कठिनाइ दुवै सहिरहेका छौं,’ उनले भनिन्, ‘पछि सडक बन्दा अपांगमैत्री, राम्रो सडक बत्ती भएको बनोस् ।’
सडकको अवस्था जीर्ण हुँदा स्थानीय धूलो खान बाध्य छन् । यो क्षेत्रका सवारी चालकलाई पनि उस्तै सास्ती छ । साँखु बस व्यवसायी संघका प्रमुख पदम श्रेष्ठले धूलोका कारण सडकछेउका बासिन्दा, बस चालक र यात्रु सबैलाई कठिन भएको बताए । ‘अहिले साँखुसम्म सयभन्दा बढी बस चल्छन्,’ उनले भने, ‘साना गाडी, माइक्रो र सिन्धुपाल्चोकका यात्रुवाहक बस, गिट्टी, बालुवा बोकेका भारी ट्रक पनि यही सडकमा चल्छन् । सबैलाई उत्तिकै गाह्रो हुन्छ ।’
६ वर्षदेखि रत्नपार्क–साँखु रुटमा गाडी चलाउँदै आएका सन्दीप तामाङले पछिल्लो २ वर्षदेखि उक्त सडकको अवस्था जीर्ण बनेको बताए । उनले भने, ‘पहिले जाम भए पनि यति धूलो थिएन । डाँछी र थलीको ओरालोमा त झनै गाह्रो छ ।’ वर्षामा हिलो र हिउँदमा धूलो उडेर चालकलाई गाडी चलाउनै गाह्रो हुने स्थिति आएको उनले बताए । कागेश्वरी मनोहरा ७ थलीकी गीता बिसुन्केले उक्त क्षेत्रमा भर्खर केही घर भत्काउन सुरु भएको बताइन् । 

 

प्रकाशित : माघ ११, २०७३ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?