कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

बारा — कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य संघको अगुवाइमा नगरवासी र राजनीतिक दलका प्रतिनिधिले रिले अनशन जारी राखेका छन् ।

उपमहानगर माग्दै अनशन

बारा (कास)– बुधबार उनीहरू सातौं दिन रिले अनशन बसे । स्थानीय तह पुन:संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखेर नगरको वडा २१ लाई छुटयाएर सिमरा–जितपुर उपमहानगरमा गाभेकोमा विरोध चर्किएको छ । 
सडक बन्द हुने
लमजुङ (कास)– मनाङ पुग्ने एकमात्र बेंसीसहर–चामे सडक तीन साता बन्द हुने भएको छ । सडक स्तरोन्नति र मर्मतका लागि माघ २५ देखि फागुन १५ गतेसम्म सडक बन्द गरिने भएको हो । डिभिजन सडक कार्यालय, दमौलीले सडक मर्मतको काम हुँदा सवारी साधनलाई रोक लगाउन जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ ।  
ठक्करले मृत्यु
विराटनगर (कास)– सुनसरी बबिया ५ मा स्कुलको जिपले ठक्कर दिँदा एक बालिकाको बुधबार मृत्यु भएको छ । बाटोमा खेल्दै गरेकी स्थानीय डेढ वर्षीया नास्मिन खातुनलाई सुनसरी एकेडेमीको को१ज ८४६ नम्बरको जिपले ठक्कर दिएको थियो । गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
शैक्षिक मेला
मोरङ (कास)– पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा दुईदिने दोस्रो शैक्षिक मेला आयोजना गर्ने भएको छ । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरी आदर्श उच्च माध्यमिक विद्यालयको प्रांगणमा शुक्रबार र शनिबार दुईदिने शैक्षिक मेला गर्न लागेको जनायो । शैक्षिक मेलाका संयोजक गोपी कृष्ण न्यौपानेले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनप्राप्त ४० भन्दा बढी क्याम्पसको स्टल रहने र मेलामा १० हजारभन्दा बढी विद्यार्थी, अभिभावकलगायत शिक्षाप्रति चासो राख्नेहरूको सहभागिताको लक्ष्य रहेको बताए ।  
सवारीबारे छलफल
काँकडभिट्टा (कास)– मेचीनगरमा जारी राष्ट्रिय स्वास्थ्य महोत्सवमा बुधबार ‘सुरक्षित जीवनका लागि सुरक्षित सवारी’ शीर्षकमा यातायात व्यवसायी श्रीप्रसाद मैनाली, ट्राफिक प्रहरीका पूर्वएसपी जगतमान श्रेष्ठ, दुर्घटनाबाट अंगभंग भएकी नीलम ढुंगाना र रेशबहादुर तामाङले छलफल गरे । पूर्वएसपी श्रेष्ठले तीव्र गतिका कारण दैनिक सयांै दुर्घटना हुने र त्यसबाट ५ देखि १० जनाले ज्यान गुमाउने गरेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष मैनालीले सवारी संख्या बढिरहे पनि राजमार्ग खुम्चँदै गएको बताए । 
१५ विरुद्ध हत्या मुद्दा
ताप्लेजुङ (कास)– वन रक्षक गणेश शाही हत्या अभियोगमा प्रहरीले १५ जनाविरुद्ध मुद्दा चलाएको छ । जिल्ला प्रहरीले आवश्यक अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा बुझाएको हो । 
डीएसपी रामबहादुर केसीले शाहीलाई खुकुरी प्रहार गर्ने सविन भनिने टेकबहादुर लिम्बू, खुकुरी बोकेर भेलामा आउने, छलफलमा संलग्न रहेका सामुदायिक वनका पदाधिकारी र मुख्य अभियुक्तलाई तमोर नदी तारेर ताप्लेजुङ नगरपालिकातर्फ भगाउन सहयोग गर्ने समेतलाई मुद्दा दायर गरिएको बताए ।  
चितुवा आक्रमणमा घाइते
स्याङ्जा (कास)– पुतलीबजार नगरपालिका ११ स्थित चारगजा सामुदायिक वनमा घाँस काटेर फर्कने क्रममा चितुवाले आक्रमण गर्दा सोही ठाउँका ६० वर्षीय अर्जुनसिंह थापा र उनका २० वर्षीय छोरा सुनील घाइते भएका छन् । स्थानीयले हँसियाले हान्दा चितुवा पनि मरेको छ । 
परिवारलाई सहयोग
काभ्रे (कास)– बोक्सी आरोपमा कुटपिटपछि हत्या गरिएको भनिएकी सानो वाङथलीकी लक्ष्मी परियारको परिवारलाई कोरियामा रोजगारी गर्दै आएका एक युवकले २० हजार रुपैयाँ सहयोग गरेका छन् । छोराहरूको लालनपालनमा सहयोग पुगोस् भनेर नवलपरासीका सुरज न्यौपानेले सहयोग गरेका हुन् । 

प्रकाशित : माघ १३, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?