निर्वाचन तयारीमा जुटे दल

बाँके — स्थानीय तह निर्वाचन घोषणाका लागि बहस चल्दै गर्दा प्रमुख दलले जिल्ला तहमा तयारी थालेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले भ्रातृ संगठन पुनर्गठनसँगै गाउँगाउँका कार्यकर्तालाई एकजुट गर्ने अभियान तीव्र पारेका छन् ।

कांग्रेस बाँकेले निर्वाचनलाई मध्यनजर गरी जनपरिचालन अभियान सुरु गरेको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा बसेको बैठकले गाउँगाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।
अभियानका लागि उसले ‘जनजनमा बीपी, मनमनमा बीपी’ नारा तय गरेको छ । ‘पार्टीले एक महिनासम्म जनजागरण अभियान सञ्चालन गर्दै छ, भ्रातृ संगठनको पुनर्गठनदेखि कार्यकर्तालाई जगाउने काम भइरहेको छ,’ कांग्रेस बाँकेका सचिव तप्त पौडेल भन्छन्, ‘यी सबै गतिविधि निर्वाचनकेन्द्रित छन् ।’
एमालेले पनि जनपरिचालन अभियानलाई जोड दिइरहेको छ । उसले २०४९ र ०५४ सालका स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट विजयी प्रतिनिधिलाई सम्मान गरेको छ । नेपालगन्ज नगरका एक उपमेयर, १६ गाविस अध्यक्ष, २१ उपाध्यक्ष, १ सय १६ वडा अध्यक्ष र ३ जिविस सदस्य गरी १ सय ९७ जना सम्मानित भएका हुन् । त्यससँगै गाउँगाउँमा संगठन निर्माण पनि तीव्र पारिएको पार्टीले जनाएको छ । ‘गाउँगाउँमा भेलासँगै कमिटी गठन भइरहेका छन् । प्रशिक्षण कार्यक्रम जारी छ,’ एमाले बाँकेका अध्यक्ष अशोक कोइराला भन्छन्, ‘संविधान कार्यान्वयन, निर्वाचन तयारीको काम एकसाथ गरिरहेका छौं ।’
माओवादी केन्द्रले पनि निर्वाचन लक्षित गरी ५ नम्बर प्रदेशका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ । पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र ५ नम्बर प्रदेशका इन्चार्ज वर्षमान पुनले अगुवा कार्यकर्तालाई प्रशिक्षणसँगै निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका छन् ।
प्रशिक्षणमा स्थानीय तह र प्रदेश निर्वाचन विधि पनि समेटिएको छ । ‘निर्वाचन तयारीमा हामी आफैं पनि जुटिरहेकै छौं, वडास्तरीय बस्तीमा कमिटी गठन तथा भेला भइरहेको छ,’ माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपी खरेलले भने । केन्द्रको भ्रातृ संगठन वाईसीएलले पार्टीको पक्षमा माहोल बनाउन युवा परिचालन गर्ने निर्णय गरेको छ ।
मधेसी दल भने निर्वाचनको पक्षमा अझै खुलेका छैनन् । उनीहरू संविधान संशोधनको पर्खाइमा छन् । पार्टीको निर्देशनपछि मात्रै के गर्नेबारे टुंगो लाग्ने नेता बताउँछन् ।

प्रकाशित : माघ १४, २०७३ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?