कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाउँबस्ती हिउँले ढपक्कै

जनजीवन कष्टकर भए पनि बाली सप्रने आसले कृषक खुसी

म्याग्दी — जिल्लाको उपल्लो भेग हिउँले ढपक्कै ढाकिएको छ । पर्यटकीय क्षेत्र महरे, घोडेपानी, खोप्रा, गुर्जालगायत स्थानका बस्तीमा बाक्लो हिउँ छ ।

गाउँबस्ती हिउँले ढपक्कै

दुई दिनअघि वर्षासँगै भएको हिमपातकै कारण छन्त्याल जातिको बस्ती गुर्जामा पैदल मार्ग विच्छेद भएको छ । हिउँले वृद्धवृद्धा, बालबालिका र विपन्न प्रभावित भए पनि कृषक भने खुसी छन् । सिँचाइका लागि आकासे पानीको भर रहेका उनीहरू हिउँले खेती सपार्न मद्दत गर्ने आसमा छन् । 
हिमपात भएपछि घोरेपानी–पुनहिल, खोप्रो, मुस्ताङलगायत पदमार्ग पुगेका पर्यटक रमाएको पर्यटन व्यवसायीले जानकारी गराएका छन् । ‘दुई फिटजति हिउँ परेको छ । पुनहिल आएका पर्यटक रोकिएका छन् । पैदलमार्ग पूरै अवरुद्ध छ,’ पर्यटन व्यवसायी तारा पुनले भनिन्, ‘घोडेपानी वरपरका सबै डाँडा हिमालझैं बनेका छन् ।’ 
मुस्ताङमा पनि बाक्लो हिमपात भएको छ । नदीबाहेकका सबै भूभागमा बाक्लो हिउँ जमेको स्थानीयले बताएका छन् । सडक तथा हवाई धावनमार्गमा हिउँ थुप्रिएकाले पोखरा–जोमसोम उडान अवरुद्ध छ । स्थानीयले घर वरिपरि आउजाउ गर्नै कठिन छ । जनजीवन कष्टकर भए पनि बाली सप्रने भएकाले यहाँका कृषक खुसी छन् । स्याउका बिरुवामा पालुवा लाग्ने बेला हुँदासम्म पनि पर्याप्त हिउँ नपर्दा उनीहरू चिन्तामा थिए । 
‘मुस्ताङको सबैभन्दा तलको बस्ती घाँसादेखि नै जिल्लाभरका सबै भूगोलमा बाक्लो हिउँ परेको छ,’ जिविस मुस्ताङका कार्यक्रम अधिकृत केदारसिं थापाले भने, ‘स्थानीयले घरको छतमा थुप्रिएको हिउँमा तातोपानी खन्याउँदै बेल्चाले हटाइरहेका थिए ।’
अनिकाल हट्ने आस 
मुगु– कार्कीबाडास्थित माथितुम गाउँका भीमबहादुर रावलले हिमपातकै कारण खाद्यान्न बाली सप्रिएर अनिकाल हट्ने आस गरेका छन् । तरकारी, कोदो, काउनो, चिसो, फापर, जौ, उवा, गहुँको उत्पादन बढ्ने उनले बताए । सधैं खाद्यान्न अभावमा पर्ने मुगु उच्च भेगका बस्तीमा हिमपातले खुसी ल्याएको हो । हिउँ परेकाले यस वर्ष खाद्यान्न अभाव नहुने उनीहरूको भनाइ छ ।
‘हिउँदे बाली लगाएपछि हिउँ नपर्ला कि भनेर पिरलो भइरहन्छ,’ रावलले भने, ‘यसपालि समयमै हिउँ पर्‍यो, सुबिकाल हुने भयो ।’ हिमपातले अन्नबालीमा किरा र मुसा लाग्न नदिने स्थानीयको विश्वास छ ।

प्रकाशित : माघ १६, २०७३ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?