साँघुरिँदै शान्ति बगैंचा

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्कस्थित शान्ति बगैंचा अतिक्रमणका कारण साँघुरिँदै गएको छ । २००६ मा उक्त बगैंचाको क्षेत्रफल करिब ५० रोपनी थियो ।

साँघुरिँदै शान्ति बगैंचा

त्यतिबेला कुर गाउँका पुनाराम नेपालीले धर्म कमाइने भन्दै सय गाईलाई नुन खुवाएर खेत सार्वजनिक भएको घोषणा गरेका थिए । त्यसपछि आँपका रूख रोपेर शान्ति बगैंचा बनाइयो ।
०३२ सालमा सन्धिखर्कमा जिल्ला सदरमुकाम स्थापना भएपछि बगैंचा अतिक्रमण गर्न सुरु भयो । नेपालीले दान स्वरूप सार्वजनिक गरेको बगैंचा कसैको स्वामित्वमा नभएकाले सरकारी स्तरबाट अतिक्रमण गर्न सहज भएको थियो । अतिक्रमणभित्र सिँचाइ, सन्धिखर्क नगरपालिका, प्रहरी, आयुर्वेद, भूसंरक्षण, शिक्षा, घरेलु, अदालत, सरकारी वकिलको कार्यालय, जिविस गेस्ट हाउस, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघको कार्यालय र केही निजी घर बनिसकेका छन् । ०५० सालमा ६ वटा व्यापारिक सटर निर्माण र सन्धिखर्क गोरुसिंगे सडकको ट्रयाक निर्माणले खुम्चिएर अहिले बगैंचाको क्षेत्रफल १८ रोपनी मात्रै छ । २ वर्षअघि सन्धिखर्क नगरपालिकाले सडकछेउ व्यापारिक सटर निर्माण गर्ने योजना अघि सरेको थियो । सटर बने अझै साँघुरिँने र बगैंचाको सुन्दरता घटने भन्दै नागरिक स्तरबाट विरोध भएको छ ।
‘यसरी दिएको जग्गा सरकारले नै संरक्षण गर्नुपर्ने हो,’ पुनारामका नाति बुद्धिबहादुरले भने, ‘उल्टै अतिक्रमण गर्नु दु:खद हो । कसैको स्वामित्वमा भएन त्यसैले अतिक्रमण गर्न सजिलो भयो ।’ बगैंचामा बसेर आनन्द र मनमा शान्ति मिल्ने ठाउँ साँघुरिँदै गएकोप्रति उनले चिन्ता जनाए । ०५० मा सन्धिखर्क गाविसले व्यापारिक सटर बनाएपछि बगैंचाको नामै मेटिने डरले आफ्नै लगानीमा गेट र तारजालीले घेराबन्दी गरी मासिनबाट जोगाएको उनले बताए । अझै थप सटर बनाएर बगैंचा साँघुरो बनाउन खोज्नु राम्रो नभएको उनले बताए । हरियाली बगैंचाभित्र चराचुरुंगीको चिर्बिर । शिवालय मन्दिर र आँपका बगैंचाभित्र बस्दा जो कोहीलाई पनि आनन्द हुन्छ । यहाँभित्र २०३९ सालमा मारिएका विद्यार्थी नेता टंक भुसालको सालिक छ । कांग्रेस र एमालेले निर्माण गरेका कार्यक्रम गर्ने दुई मञ्च । मन्दिर र सालिकको संरक्षण भए पनि दुईवटै मञ्च जीर्ण भई भत्किन थालेका छन् । अहिले नगरले कार्यक्रम गर्न रोकेको छ । फोहोरले बगैंचा दुर्गन्धित बन्दै गएको छ । बेलाबेलामा सेना र प्रहरीले सफाइ गरे पनि संरक्षणमा कसैले ध्यान दिएको छैन । बगैंचाभित्र चिनजानका साथीभाइ भेटिएर भलाकुसारी गर्ने शीतल छहारी र काठमाडौं, बुटवल जाने यात्रुले गाडी कुर्ने थलो बनेको छ । बगैंचाभित्रको सुन्दरताले केही वर्षअघिसम्म बखान गर्नलायक थियो । तर, लोभलाग्दो बगैंचा कुरूप बनेपछि उजाड बन्दै गएको छ । अहिले बगैंचा संरक्षणको जिम्मा सन्धिखर्क नगरपालिकाले लिएको छ । तर, नगर र स्थानीयबीच कुरा नमिल्दा अलपत्र परेको छ । नगरले व्यापारिक सटर बनाउन खोजेको छ । नागरिकबाट विरोध भएको छ । आव ०७१/७२ मा नगर परिषद्बाट बगैंचा संरक्षण गर्न १० लाख रुपैयाँ छुटाइएको थियो । त्यो बजेट कामै नगरी अनियमितता भएको बगैंचानजिकै घर भएका रामचन्द्र पोखरेलले बताए ।  त्यहाँभित्रको शिवालयमा विवाह, व्रतबन्ध तथा पूजा गर्नेको भीड लाग्ने गर्छ । अहिले ६ वटा व्यापारिक सटरबाट वार्षिक २१ लाख रुपैयाँ नगरपालिकामा जम्मा हुन्छ । सरकारी स्तरबाट अतिक्रमण गरी भवन बनाउँदा बगैंचाको स्वरूप बिग्रेको उनले बताए । अतिक्रमण भएको फिर्ता गराउन नसके पनि बचेको क्षेत्रफललाई संरक्षण नगरे अतिक्रमण नरोकिने उनले बताए । 
सहायक प्रजिअ नारायण खत्रीको पहलमा बगैंचा संरक्षण गर्न बुद्धिबहादुरकै संयोजकत्वमा समिति निर्माण गरिएको छ । बगैंचाको संरक्षण गर्न धेरै कार्यक्रममा कुरा उठ्ने गरे पनि अहिलेसम्म ठोस योजना नबनेको शिवालय व्यवस्थापन समिति अध्यक्ष राधा घिमिरेले बताइन् । अतिक्रण हुनु र संरक्षणमा बेवस्ता गर्नु जिल्लाकै चिनारी मेटिनसक्ने चिन्ता छ । सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले बगैंचालाई राम्रो पार्कका लागि नक्सा तयार गर्न मन्त्रालयमा ५० लाख रुपैयाँ बजेट माग गरेको बताए । 

प्रकाशित : माघ २०, २०७३ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?