२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

४४ वर्षदेखि सामूहिक बेलविवाह

हेटौंडा — हेटौंडा बसपार्कस्थित मण्डप झकिझकाउ बनाइएको थियो । वरिपरिको वातावरण आकर्षक थियो । त्यही मण्डपमा दुलहीको शृंगार गरी ६५ बालिका राखिएको थियो ।

४४ वर्षदेखि सामूहिक बेलविवाह

उनीहरूलाई बेलसित विवाह गराउन विभिन्न स्थानबाट ल्याइएको हो । बुधबार तिनका बाबुआमाले छोरीको कन्यादान गरिरहेका थिए ।

सूवर्णकुमार बेल विवाह गुठीले भडकिलो खर्च घटाएर नेवारी परम्परा बचाउने उद्देश्यले बसपार्कस्थित डबलीमा ती कन्याको सामूहिक बेलविवाह (इही) को गरेको गुठी प्रमुख हरिशचन्द्र श्रेष्ठले जानकारी दिए । बेलविवाहमा सम्मिलित प्रत्येक कन्याका अभिभावकसँग न्यूनतम रकम भने लिइएको थियो ।
सामूहिक बेलविवाहमा काभ्रे, रौतहट, चितवन, बारा, पर्सा, मकवानपुर र ललितपुरका कन्या थिए । घरमा एक्लै गर्दा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च र झन्झट दुवै हुने भएकाले सामूहिक विवाहमा ल्याएको चितवन टाँडीका रामलाल श्रेष्ठले बताए । गुठीले विगत ४४ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेलविवाह आयोजना गर्दै आएको छ । बेलसँग विवाह भइसकेपछि नेवार चेली कहिल्यै विधवा हुँदैनन् भन्ने विश्वास छ ।
बेलविवाह सम्पन्न गर्न यज्ञमा बसेका रमेश राजोपाध्यायका अनुसार रजस्वला नभएकी कन्यालाई एक हातमा स: लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर सूवर्णकुमार (सुनको नारायण) लाई दान दिनु हो । ‘सति प्रथा रोक्न पनि बेलविवाहको प्रथा चलाइएको हो,’ उनले भने । बेललाई शिवको प्रतिरूप मानिन्छ । यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र किराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक मानिन्छ । सुन कहिल्यै नष्ट नहुने धातु भएकाले यसलाई पनि स्थायित्वको प्रतीकका रूपमा लिइन्छ । यो नेवार समुदायमा मल्लकालदेखि चलेको विश्वास गरिन्छ । 

प्रकाशित : माघ २०, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?