कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दृष्टिविहीनलाई पठनपाठन समस्या

विप्लब महर्जन

सल्यान — १८ वर्षीय दृष्टिविहीन सन्तोष पुन दुई वर्षदेखि छात्राबास बसेर शिवजन माविमा कक्षा ९ मा पढ्दै आएका छन् । बामेका सन्तोष दृष्टिविहीन भए पनि सपाङ्ग साथीहरूसँगै बसेर पढ्दा पढाएको बुझ्न कठिन भएको बताउँछन् ।

चाँदेकरेन्जीकी १४ वर्षीया सबिना बुढाथोकीको समस्या पनि उस्तै छ ।

उनीहरूमात्र होइन, छात्राबासमा बसेर शिवजन माविमा पढ्दै आएका २० दृष्टिविहीन छात्रछात्रालाई सपाङ्ग विद्यार्थीसँगै पढ्दा शैक्षिक उपलब्धि हासिल गर्न समस्या भएको बताउँछन् । ‘शिक्षकले बोलेका कुरा त सुन्छु । तर बोर्डमा लेखेका नदेख्दा पढाइमा समस्या भएको छ,’ पुनले भने, ‘अरू साथीलाई केन्द्रित गरेर सरले पढाउनुहुन्छ । हामीले अरू जति बुझ्न सक्दैनौं ।’ शिक्षकले बोलेका कुरा प्रस्ट भए पनि बोर्डमा लेखेका नदेख्दा बारम्बार सोधिरहनुपर्ने बाध्यता रहेको कक्षा ९ का पूर्ण विकले बताए । अन्य विषयभन्दा गणित पढा गाह्रो हुने उनले सुनाए । विकका अनुसार विज्ञान तथा अन्य प्रयोगात्मक विषयमा पनि समस्या छ । ‘पढ्नका लागि ब्रेल पुस्तक भए पनि सामूहिक रूपमा पढाइ हुँदा गाह्रो हुन्छ,’ उनले भने, ‘अरू साथीहरूको होहल्लाले पढाएको स्पष्ट बुझिँदैन ।’ दृष्टिविहीनका लागि छुट्टै शिक्षक भए पनि सँगै राखेर पढाउँदा समस्या हुने भल्चौरका नीमबहादुर केसीले बताए । उनले दृष्टिविहीनका लागि छुट्टै कक्षा सञ्चालन गर्न पटकपटक गाग्रह गरे पनि सुनुवाइ नभएकामा दु:ख व्यक्त गरे । एकपटक नबुझेका कुरा अर्कोपटक सोध्नसमेत गाह्रो हुने उनी सुनाउँछन् । ‘सपांगले शिक्षकले पढाएका सुन्छन् र लेखेको पनि देख्छन् । शिक्षकको हाउभाउबाट पनि बुझ्न सजिलो हुन्छ होला,’ उनले दु:खेसो पोखे, ‘छुट्टै कक्षा भए व्यावहारिक र सैद्धान्तिक दुवै विधिबाट बुझ्न सजिलो हुन्थ्यो ।’
बालबालिकाको संरक्षण गर्दै आएका दृष्टिविहीन शिक्षक राजेश अर्यालले सामूहिक रूपमा पढ्नुपर्दा अन्यको तुलनामा समस्या हुने गरेको बताए । शिक्षकले छिटोछिटो पढाए महत्त्वपूर्ण कुरा टिप्न नभ्याउने उनको अनुभव छ । जिल्लामा दृष्टिविहीनलाई पढाउने छुट्टै विद्यालय नभएकाले सामूहिक रूपमा पढाउन बाध्य भएको उनी बताउँछन् । शिक्षा कार्यालयले दृष्टिविहीनका लागि ०५९ देखि सरस्वती निमावि फारुला रामपुरमा कक्षा सञ्चालन गरेको थियो । सुरुमा रामपुरमा पढाइ सुरु गरे पनि द्वन्द्वका कारण उक्त कक्षा महेन्द्र मावि पिपलनेटामा सारियो । शान्ति सम्झौतापछि पुरानै विद्यालयमा फर्काइएको विद्यालयले जनाएको छ ।

प्रकाशित : माघ २२, २०७३ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?