कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निर्माण सुरु भएको ३१ वर्षपछि परीक्षण उडान

- सशस्त्र द्वन्द्वमा ३५ जना कामदारले ज्यान गुमाएका थिए
- स्थानीयले गरे नियमित उडान र सडक माग
- दलीय उपभोक्ताले ज्याला नदिएको गुनासो
तुलाराम पाण्डे

कोटवाडा (कालिकोट) — निर्माण सुरु भएको ३१ वर्षपछि कोटवाडास्थित सुनथराली विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ । धावनमार्गको काम सकिएपछि तारा एयरको नाइन एन एबीएम नं.को ट्विनटर विमान बिहान ११ बजे अवतरण गरेको हो ।

निर्माण सुरु भएको ३१ वर्षपछि परीक्षण उडान

वरिष्ठ चालक सन्तोष शाहले परीक्षण उडान गरेका थिए । विमानस्थलको लोकेशन हेर्न क्याप्टेन शाहसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीसहितको टोली साताअघि हेलिकप्टरमा कोटवाडा पुगेर फर्किएको थियो ।
विमान हेर्न यहाँका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, कोटवाडा, रकुसहितका आसपासका गाविसबाट ५ हजारभन्दा बढी स्थानीय कोटवाडा पुगे । स्थानीयले वर्षौंदेखिको जहाज सपना पूरा भएपछि पाइटलसहितको टिमलाई बाजागाजाले स्वागत गरे । कोटवाडामा विमान अवरण भएपछि स्थानीय हर्षित छन् । ‘चिलगाडी (जहाज) आउँछ भनेर सुनथरालीको पाखो खन्न थालेको ३१ वर्ष भयो,’ कोटवाडा ३ का ४४ वर्षीय मानबहादुर विष्टले खुसी हुँदै भने, ‘बल्ल आज आफ्नै ठाउँमा बसेको देख्न पाइयो ।’
उनका अनुसार ०४२ मा तत्कालीन जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीको पालामा विमानस्थल खन्न ७५ हजार दिएर काम सुरु गरिएको थियो । काम सुरु हुँदा प्रतिदिन ५ रुपैयाँ ज्यालामा काम गरेका मजदुरले ०७३ मा प्रतिदिन ४ सय रुपैयाँसम्म पाए । सशस्त्र द्वन्द्वमा मजदुर मारिएपछि अवरुद्ध भएको निर्माण काम लोकतन्त्र आएपछि दलीय भागबन्डामा गठन भएका उपभोक्ता समितिले यहाँका मजदुरलाई ज्याला नदिएको गुनासो छ ।
कहिले बजेट अभाव, कहिले सशस्त्र द्वन्द्व त कहिले उपभोक्ता समितिको ठगीले कामले गति लिन नसकेको कोटवाडा विमानस्थल निर्माणको ढिलाइले कालिकोटबासी दु:खी भए पनि जहाज आएपछि हवाई सपना पूरा भएको स्थानीय समाजसेवी पदमबहादुर बुढाले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नियमित उडानका लागि पहल भइरहेको बताए । उनले केही सातामै उद्घाटन गरेर यात्रु चढ्न पाउने जनाए ।
कोटवाडा विमानस्थल निर्माण आयोजना प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले कोटवाडा विमानस्थल निर्माणमा समय लागे पनि कर्णालीका अन्य जिल्लाको भन्दा लामो र फराकिलो रहेको दाबी गरे । उनका अनुसार विमानस्थलको लम्बाइ ६ सय ९० मिटर र चौडाइ ४० देखि ६० मिटर छ । दलीय भागबन्डामा बनेका उपभोक्ता समितिले ६० लाखका दरले ५ वटा उपभोक्ता समिति बनाएर काम गरे पनि कामदारको ज्याला अझै नदिएको बताए । ज्याला विवादमा काम बन्द भएको विमानस्थलमा कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटन मन्त्री भएपछि कोटवाडा विमानस्थल सञ्चालनमा ल्याउने बाचा गरेअनुसार दुईपटक कोटवाडा विमानस्थलको अनुगमन गरेर कामलाई तीव्रता दिन पहल गरेका थिए ।
मन्त्री बनेको केही सातामै मुगु हुँदै हेलिकप्टरमा कोटवाडा विमानस्थल अनुगमन गर्न पुगेका मन्त्री शाहीले स्थानीयलाई माघभित्रै विमानस्थल परीक्षण उडान गर्ने बाचा गरेका थिए । विमानस्थल नहुँदा कालिकोटको लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, कोटवाडा, रकु, मेहेलमुडीलगायतका गाविसका बासिन्दाले आवतजावत र सामान ढुवानीमा सास्ती खेप्दै आएका थिए । ०६८/०६९ भित्रै सम्पन्न गर्ने घोषणाकासाथ तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०६७/०६८ मा ७ करोड रकम विनियोजन गरे पनि काम हुन सकेन ।
कोटवाडा विमानस्थल सञ्चालनमा आए पनि विमानस्थल पुग्ने सडक, सदरमुकाम मान्मबाट कोटवाडासम्म केबलकार र नियमित उडानका लागि बजेट माग गर्दै कालिकोटबासीका तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले टेलिफोनमा बताए । सशस्त्र द्वन्द्वका बेला यहीको विमानस्थलमा काम गर्ने क्रममा स्थानीय ४ जनासहित ३५ जनाको तत्कालीन नेपाली सेनाले हत्या गरेको थियो । ०५८ को फागुनमा माओवादीले अछामको सदरमुकाम मंगलसेन आक्रमण गरेपछि दोषी खोज्दै आएको सेनाको हेलिकप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी, साबेल ठड्याउन लगाएपछि सेनाले कामदारलाई माओवादी भन्दै लाम लगाएर गोली ठोकेको स्थानीय बताउँछन् ।
बहुदलीय व्यवस्थापछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ०४८ मा कोटवाडा विमानस्थलको काम सुरु गरे पनि ०५२ देखिको जनयुद्धले काम प्रभावित बन्न पुगेको थियो ।

प्रकाशित : फाल्गुन १, २०७३ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?