कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मुस्लिम कालिगढले कुँदे मन्दिर

नवीन पौडेल

नवलपरासी — दुम्कौलीमा चौधरी फाउन्डेसनले १५ वर्ष लगाएर ‘शाश्वत धाम’ बनाएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको ७ बिघा क्षेत्रफलमा गुरुकुल, योगा, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय तथा शाकाहारी भोजनालयसहितको धाम निर्माण गरिएको हो ।

परिसरमा मनमोहक एकम्बरेश्वर शिव मन्दिर छ । नयाँ शैलीका मन्दिर भएकाले पर्यटक लोभिएका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अहिले सबैतिर निराशा बढेकाले सर्वसाधारण आत्मशान्ति खोजिरहेकाले शान्तिपूर्ण वातावरणमा मानसिक र आत्मीय शान्ति अनुभवका लागि धाम निर्माण गरिएको बताए । 
‘धर्मको रक्षा गरे धर्मले सबैको रक्षा गर्छ,’ आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देवचुली र वरचुली पहाडको काखमा निर्माण गरिएको धाम नवलपरासी र नेपालकै गौरव हो ।’ उनका अनुसार मन्दिर निर्माणका लागि खटिएका कालिगड प्राय: सबै मुस्लिम समुदायका थिए । ‘त्यसैले यो धार्मिक सहिष्णुताको प्रतिक पनि हो,’ उनले भने ।’
मन्दिरलाई चारैतर्फबाट सरोवर (ताल) ले घेरिएको छ । तालमा विश्वका प्रशिद्ध हिन्दु धार्मिक स्थल बद्रीनाथ, केदारनाथ, हरिद्वार, मुक्तिनाथ, गोसाइँकुण्ड र पशुपतिनाथको जल मिसाइएको छ । पछिल्लो पुस्ताले आफ्ना मौलिक धर्मग्रन्थ, धार्मिक बाजालगायतका धार्मिक धरोहर विर्सदै गएकामा धाममा नेपाल तथा भारतका हिन्दु मन्दिरका गतिविधि अडियो, भिडियोमार्फत ठूलो पर्दामा हेर्न पाइने शाश्वत धामका सीईओ आशुतोष चावलाले बताए । आगन्तुकले धाममा धार्मीक ग्रन्थ्र तथा सामग्री खरिद गर्न सक्ने छन् । धाम परिसरमा आर्गानिक शाकाहारी भोजनालय निर्माण गरिएको छ । 
धाम परिसरमा आउने भक्तजन तथा धार्मिक पर्यटकका लागि आध्यात्मिक ज्ञानका लागि सुविधा सम्पन्न योग तथा प्रवचन हल निर्माण गरिएको छ । कर्मकाण्ड विद्यार्थीका लागि नि:शुल्क रूपमा अध्ययनको व्यवस्था गरिएको गुरुकुलमा अहिले ४५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । धार्मिक रूपमा विधि सम्पन्न गर्नका लागि वरपर वर, पीपल, अशोकलगायतका १२ राशि २७ नक्षत्रका विभिन्न वृक्ष रोपिएका छन् । देशभर ओझेलमा परेका धार्मिक पीठको प्रचारप्रसारका लागि जानकारी दिने उद्देश्यले सुविधा सम्पन्न ‘अडियो भिडियो’ केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ । 
अत्याधुनिक सुविधा सम्पन्न र मनमोहक धाम निर्माणका लागि कति खर्च लाग्यो भन्ने विषयमा भने फाउन्डेसनले कुनै जानकारी दिएको छैन । धार्मिक र सामाजिक सम्पत्ति भएकाले यसलाई अर्थसँग नजोड्न फाउन्डेसनले आग्रह गरेको छ । खजुरावन शैलीमा निर्माण गरेको धामको फागुन २४ गने राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसमा ‘आर्ट अफ लिभिङ’ फाउन्डेसनका संस्थापक रवि शंकर, काञ्ची कामाकोठी पीठका शंकराचार्य जगदगुरु जयेन्द्र सरस्वतीलगायतको सहभागिता रहने फाउन्डेसनले जनाएको छ । फागुन २४ गतेबाट धाम सर्वसाधारणका लागि खुला गरिने छ ।

प्रकाशित : फाल्गुन २, २०७३ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?