कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पुस्तकालयलाई पाठक अभाव

चन्द्र कार्की

म्याङलुङ (तेह्रथुम) — दुर्गम र ग्रामीण क्षेत्रका बासिन्दाले पाठयपुस्तक अभावमा अध्ययन गर्न नपाइरहेको अवस्थामा सदरमुकाम म्याङलुङमा महँगो लागतमा सञ्चालन गरिएको पुस्तकालय भने पाठक अभावमा सुनसान बनेको छ ।

पुस्तकालयलाई पाठक अभाव

जिल्लाकै ठूलो र सुविधायुक्त सिंहवाहिनी सिरिजंगा सामुदायिक पुस्तकालयमा पर्याप्त पुस्तक भएर पनि पाठक नआउँदा प्रयोगविहीनजस्तै बनेको हो । जिल्लाभरका पाठकलाई लक्षित गरी सञ्चालन गरिएको पुस्तकालयमा खासै पाठक आउँदैनन् । ग्रामीण क्षेत्रका बासिन्दाको शिक्षामा प्रत्यक्ष पहुँच र शैक्षिक चेतना जगाउने उद्देश्यले पुस्तकालय सञ्चालन गरिए पनि अध्ययनका लागि आउनेहरू ग्रामीण क्षेत्रबाट एकदमै न्यून मात्र रहेको स्थानीयले जनाए । 
सिंहबाहिनी माविको पहलमा पुस्तकालय स्थापन भएको हो । पाठकको संख्या बढाउन सबैलाई नि:शुल्क प्रवेश गरिए पनि खासै नआएको पुस्तकालय सञ्चालक समिति सदस्य पर्शुराम ओझाले बताए । ग्रामीण शिक्षा तथा विकास कार्यक्रम (रिड) को आर्थिक सहयोगमा १२ वर्षअघि पुस्तकालय स्थापना गरिएको थियो । सुविधायुक्त पुस्तकालय प्रत्येक दिन पाठकले भरिभराउ हुनुपर्ने हो । तर लामो समयदेखि आफ्नै विद्यालयका विद्यार्थी र शिक्षक मात्र नियमित प्रयोगकर्ता बनेका छन् । ३८ लाख रुपैयाँ लागतमा स्थापना भएको पुस्तकालयमा श्रव्यदृश्य सामग्रीसमेत व्यवस्था गरिएको छ । तर यसको उपयोग गर्न कोही नआएको पुस्तकालयले जनायो । पढेर ज्ञान हासिल गरौं भन्ने चेतनाको अभाव हुँदा अध्ययन गर्नेहरू निकै कम भएको प्रधानाध्यापक एवं पुस्तकालय सञ्चालक समिति महासचिव तेजबहादुर कार्कीले बताए । ‘यति सुविधायुक्त पुस्ताकालयमा पढ्ने मान्छे नआउनु दु:खको कुरा हो,’ उनले भने ।
पुस्तकालयमा विभिन्न विषय र क्षेत्रका २ हजार ४ सय ४० थान पुस्तक संकलन गरेर राखिएका छन् । सामाजिक विज्ञान, धर्म, दर्शन, सामान्य ज्ञान, शुद्ध विज्ञान, भाषा, प्रविधि, साहित्य, कला, इतिहास तथा भूगोलका पुस्तकले दराजहरू भरिभराउ छन् । तर पुस्तक अध्ययन गर्न आउनेको संख्या अत्यन्त न्यून छ ।
‘आँगनमै पुस्तकालय छ,’ प्रअ कार्कीले भने ‘अध्ययन गर्ने चासो भने कसैको छैन ।’ सदरमुकाममा रहेका बौद्धिक व्यक्ति तथा कर्मचारीसमेत पुस्तकालय प्रयोगमा कमै रहेको दुखेसो उनले पोखे । गत वर्षको तुलनामा यो वर्ष पाठक संख्या अझ घटेको पुस्तकालय स्रोतले जनाएको छ । पाठक संख्या बढाउन पुस्तकालयले ५ सय रुपैयाँ लिएर आजीवन सदस्य बनाउने नीति अघि सारेको छ । पाठक सदस्य मात्र हुन चाहनेका लागि भने जोकोहीलाई नि:शुल्क प्रवेश दिइएको सदस्य ओझाले बताए । पुस्तकालयले प्रत्येक वर्ष नयाँ पुस्तक संकलन गरेर ल्याइरहेको छ । सञ्चालनका लागि पुस्तकालय भवनका केही सटर भाडामा दिएर आर्थिक स्रोतसमेत जुटाउने काम भइरहेको छ । यसले नै सबैलाई सूचना प्रविधिमा पहुँच पुर्‍याउने उद्देश्यले सूचना केन्द्रसमेत राखेको छ । 

प्रकाशित : फाल्गुन ३, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?