कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खानेपानी समस्या बढ्दै

‘मुहानबाटै कम आउने भएपछि सोही अनुपातमा वितरण गर्न बाध्यता’
विद्या राई

भोजपुर — सदरमुकाममा खानेपानी समस्या बर्सेनि बढदो छ । भूकम्प, सुक्खा खडेरी, जलवायु परिवर्तनले मुहान सुक्दै जाँदा आपूर्ति क्षमता घटदै गएको हो । बढदो जनघनत्वलाई पानी धान्नै मुस्किल छ । खानेपानी अभावले सहरीकरण, पूर्वाधार निर्माणमा प्रभाव पारेको छ ।

४ वर्षदेखि खानेपानी अभाव झेल्दै आएका उपभोक्ता पछिल्लो समय निकै समस्यामा परेका छन् । 

सदरमुकाम र आसपास क्षेत्रमा सिलिचुङ खानेपानी तथा मूल उपभोक्ता समितिले बिहान र बेलुका दुईपटक खानेपानी वितरण गरे पनि अहिल्यै पर्याप्त हुन छाडेको छ । चैत र वैशाखमा हाहाकार मच्चिने गर्छ । सिलिचुङमा भोजपुर, टक्सार, बोखिम र भैसीपंखाका १ हजार ३ सय ८५ घर उपभोक्ता छन् । भुल्के, डढुवा, तीनधारे र जोरसागु मुहानबाट ल्याएको खानेपानी क्षमता घटेपछि उपभोक्ताको दिनचर्या पानी जोहोमै बित्ने गरेको छ । यसले विद्यार्थी, गृहिणी सबैभन्दा बढी मर्कामा परेका छन् ।
भोजपुर बहुमुखी क्याम्पसको छात्रावासमा दुई दिनदेखि खानेपानी हाहाकार छ । क्याम्पसको धारामा आक्कलझुक्कल झर्ने पानीका लागि हारालुछ नै हुने छात्रावासकी प्रिपेड तुलसा बस्नेतले बताइन् । ‘एउटा धारा छ, ३०/३५ विद्यार्थी छौं, एकाबिहानै खानेपानी थाप्न पालो कुर्दै कहिलेकाहीं त पढाइ छुट्छ,’ उनले भनिन् । खानेपानी नहुँदा शौचालय र बाथरुममा दुर्गन्ध फैलिएको छ ।
आलोपालो खानेपानी वितरण गरे पनि सबै धारामा सधैं आउँदैन । एकपटक थापेको एक बाल्टिन पानीले भरथेग गर्नुपरेको उपभोक्ताले बताए । जिल्ला अस्पताल, कारागार, शिक्षा कार्यालय, जिल्ला विकास, सशस्त्र, प्रहरी र सेना गरी ७ वटा संवेदनशील स्थानमा चौबिसै घण्टा पानी आवश्यक पर्छ । मुहानबाटै खानेपानी कम आउने भएपछि सोही अनुपातमा वितरण गर्न बाध्यता रहेको उपभोक्ता समिति अध्यक्ष नवीन प्रधानले बताए । स्रोत क्षमता प्रतिसेकेन्ड १४ लिटर भए पनि ८ लिटरमा घटिसकेको छ । दैनिक २५ हजार जनसंख्यालाई सीमित खानेपानीले धान्नुपर्ने अवस्था छ । ‘उपलब्ध खानेपानीले सबै उपभोक्तालाई जतिसक्दो समेट्ने कोसिस गरिरहेका छौं, स्थानीय स्रोत, साधन र मुहान जुटाउने क्रममा छौं,’ उनले बताए । हटियामाथिको सातधारे र टक्सारको तीनधारे मुहानलाई पनि यसै वर्षदेखि लागू हुने गरी परिचालन गर्न सर्वपक्षीय सहमति गर्न लागेका छन् ।
अर्को मुहान थप गर्न प्रक्रिया सुरु गरेका छन् । भैसीपंखाको नरपायामा खानेपानी मुहानका लागि ४ रोपनी जग्गा खरिद गर्ने टुंगो लगाएका छन् । राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारीका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता समिति र सरोकारवालाले स्थानीय उमेश राईको कित्ता नं. १६७ र १६८ सिम जग्गा, अलैंची, रूखपात र सिञ्चित जमिनको क्षतिपूर्तिसहित ३५ लाखमा खरिद गर्ने बिहीबार निर्णय गरेको छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?