बाढीले भत्काएको नहर मर्मत

कान्तिपुर संवाददाता

प्यूठान — वर्षायाममा आएको झिमरुक नदीको बाढीले क्षति पुर्‍याएको प्यूठान नगरपालिका १६, स्थित हरियाली सिंचाइ नहर मर्मतपछि पानी चलेको छ । नहर निर्माण भएर गहुँमा सिंचाइ गर्न पाइएको भन्दै किसान खुसी भएका छन् ।

‘नहर मर्मतपछि निकै खुसी लागेको छ,’ स्थानीय बिन्दु केसीले भनिन्, ‘हाम्रो माग सुनुवाइ भयो ।’ सिंचाइ गर्ने अरू कुनै विकल्प नभएकाले कात्तिकमा लगाएको गहुँमा माघको अन्तिम साता नहर मर्मतपछि सिंचाइ गरेको उनले बताइन् । उनका अनुसार नहर खोलाको भागसम्मै कटान गरेकाले स्थानीयले मर्मत गर्न सक्ने अवस्था थिएन । जिविस र सिंचाइ डिभिजन कार्यालयको सहयोगपछि स्काभेटर प्रयोग गरी नहर मर्मत गरेको उपभोक्ता समिति अध्यक्ष हिमबहादुर केसीले बताए । नहर बगाएपछि अर्थ सचिव शान्तराज सुवेदी, पूर्व गृहमन्त्री तथा प्यूठान क्षेत्र नं. १ का सांसद वामदेव गौतमले समेत क्षति पुर्‍याएको नहरको अवलोकन गरेका थिए ।
‘पुस्तौंदेखि सिंचाइ गर्दै आएको नहरमा यस वर्ष ठूलो क्षति पुर्‍याएको थियो,’ केसीले भने, ‘अब सिंचाइ गर्न पाइँदैन कि भन्ने लागेको थियो । नहर सुचारु भएको छ । निकै खुसी छौं ।’ नहरमा नदीले क्षति गर्दा तोरबाङ, लुङ, मरन्ठाना र धर्मावतीका किसान प्रभावित भएको उनले बताए । झिमरुक नदीले स्थानीय कालीबहादुर केसीको बारीसहित नहर बगाएपछि पानी रोकिएको थियो । उपभोक्ता समितिमार्फत जिविसबाट ५ लाख लगानीमा नहर सुचारु भएको हो ।

प्रकाशित : फाल्गुन ६, २०७३ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?